त्यो स्तनपान, यो अश्रुपान
- कविता निरौला
अस्पतालको कुरुवाघरमा बसिरहेकी थिइन्, नवआमा । खस्याकखुसुक आवाज आइरहेको थियो । पछ्यौराको घुम्टो थियो, के गरिरहेको लख काट्न नसकिने । केही तानिरहेको आवाजचाहिँ अनुमान गर्न सकिन्थ्यो । सानो पम्प चलाइरहेजस्तो । केही छिनमा हातमा रबरको पम्प र दूध भएको मिनरल वाटरको बोतल । तपार्इंलाई लाग्दो हो, सुत्केरीलाई खुवाउन बोतलमा दूध ल्याएको हो । शिशुलाई खुवाउने परिमाणभन्दा बढी भएकाले मातृले खान होला भन्ने अनुमान लगाउन सकिन्थ्यो तर त्यसो हैन । दूध खाने बालक अन्नपानी बन्द भएर अचेत अवस्थामा पिआईसियूमा लडेको थियो, दुई दिनदेखि ।
अस्पतालका नर्सले अघिल्लो दिन नै भनेका रहेछन् बच्चाले दूध खान सक्दैन, खुवाउन मिल्दैन । दूध गान्निन नदिनु । दिनभर स्तनपान गराउन नपाउँदा कति पीडा हुन्छ, त्यो आमालाई मात्रै थाहा हुन्छ । बच्चाको बाबुले हदै थाहा पायो भने आमाको लुगा भिजेको देख्छ । अरूलाई त त्यति पनि पत्तो हँुदैन ।
भर्खर भर्खर आमा भएकाहरूलाई अनलाइनमा चार वटा प्रश्न पठाइएको थियो । भलै त्यसको जवाफचाहिँ पाइएन । सायद दिन जरुरी ठानेनन् होला आमाले । कतिपयले त शब्दमा व्यक्त गर्नै नसकिने बताए । धेरैको जवाफ थियो, ती सबै अनुभूति हुन् । शब्दमा कैद गर्न सकिन्न÷सक्दिनँ ।
प्रश्न थिए
१. सन्तान गर्भमा आएको पहिलो पटक सुन्दा (थाहा पाउँदा)
२. १० महिनासम्मको गर्भावस्था,
३. सन्तानको पहिलो स्पर्श
र ४. पहिलो स्तनपान गराउँदाको क्षण । यी अनूभूति पुरुषले गर्नै सक्दैन । यसो त सबै महिलाले पनि गर्न सक्दैनन्÷पाउँदैनन् । महिलाको अनुभूति सुनेर वा देखेर थाहा पाउने हो । देखे÷सुनेको भोगेको बराबर हुनै सक्दैन । हुन त कहिलेकाहीँ पुरुषले पनि आफ्ना बच्चालाई स्तन चुसाउलान्, रोइरहेको बच्चा एकैछिन चुप लाग्दा, त्यसको केहीबेरमै बच्चा झन् ठूलो डाँको छाडेर रुन्छ । बच्चा होस् या युवा वा वृद्ध कसैलाई पनि चिटिङ मन पर्दैन ।
नवजात शिशुले दूध खान नपाउने÷नमिल्ने– आमाले चाहिँ पम्प गरेर दुहेर फाल्नुपर्ने ? त्यो क्षण कस्तो होला । पहिलो स्तनपान गराउँदाको खुशीले आकाश छोएको हुन्छ, फाल्दाको दुःखले सागरको गहिराइ भेटेको हुन्छ । यी दुवै कुरा सहन सक्छिन् आमाले । र त आमा पृथ्वी हुन् । आफ्नो सन्तान हुँदा एक पटक मात्रै हाँसेकी हुन्छिन् । जब शिशु जन्मिएर च्याँ गर्छ, आमा खुशीले हाँस्छिन् । त्यसबाहेक रुवाइमा आमा पनि आफ्नो बच्चासँगै रोएकी हुन्छिन् । सन्तानले स्तनपान गर्दा प्रत्येक सिर्काे खुशी मनमा पुग्दो हो । दोएर फाल्दाको दुःखको सिर्को÷धारो कहाँ पुग्छ ? जति सिर्को दूध आउँछ, त्यति नै आँखाबाट आँसु पनि । आँसुको मोल कति होला ? दूधको मोल नि ? अर्थविद्को अंकगणितले यसको हिसाब निकाल्न सक्ला ? सक्छ, यदि अर्थविद्ले आफूलाई मानव होइन भन्ठान्छ भने ।
पंक्तिकारले माथि उल्लेख गरेका प्रश्नको अनूभूति नगरी आमा हुनेहरू पनि छन् । तर, ती सबै प्राविधिक रूपमा मात्रै । कतिपय स्त्री भन्ने गर्छन्, यी सारा दुःख कसले बेहोरोस् । बच्चा एडप्ट ग¥यो, सबै खेल खत्तम । एकथरी महिला विवाह नगर्ने तर आमा बन्ने सोच्छन् । अर्काथरी विवाह गर्ने तर आमा नबन्ने भन्छन् ।
कोहीलाई विवाह बोझ लाग्छ, कोहीलाई सन्तान । यी सबै सोचका उपज हुन् । बुझाइका नतिजा हुन् । यथार्थ भोगाइ हुन्, अनुभव एउटा, अनूभूति अर्को । यसमा अर्काथरी मानिस पनि छन्, जो जगत्लाई मिथ्या भन्छन् । सबै कुरालाई भ्रम ठान्छन् । पृथ्वीमा भएका सबैथोक भ्रम, पृथ्वीबाहिर हुनेचाहिँ यथार्थ । यस्ता धारणा राख्नेहरू पनि छन् दुनियाँमा ।
टिप्पणीहरू