अत्याचारको उपज र फुलनको विद्रोह
चम्बल घाटी भारतको मध्यप्रदेश, उत्तरप्रदेश र राजस्थान तीन राज्यमा फैलिएको विशाल भूमि हो । यो घाटी (दुई पहाडबीचको आवतजावत गर्ने जमिन वा बाटो) ५ लाख हेक्टर जमिनमा फैलिएको छ । यहाँ मान्छे हरायो भने भेट्टाउन मुस्किलै हुन्छ किनभने यो क्षेत्र बिहड (अग्लो होचो, खाल्डाखाल्डोले भरिएको स्थान) ले भरिएको मात्र होइन सबै भूमि हेर्दा उस्तै देखिन्छ । यो क्षेत्रभित्र सानातिना जंगल पनि छन् । अत्यन्त विकट ठाउँ भएकाले प्रहरी जान डराउँछन् । त्यसैले यो डाँकाहरूका लागि सुरक्षित स्थान हो ।
यो क्षेत्रमा अधिकांश बासिन्दा दलित छन् । अल्पसंख्यामा आफूलाई उपल्लो जाति मान्ने, यादव र ठाकुरहरू बस्दछन् । उनीहरू आफूलाई सर्वेसर्वा ठान्छन् । दलितहरूलाई किराफट्यांग्रा सम्झन्छन् । मनलागी गर्छन्, बलात्कार र अत्याचारको त सीमा नै हुन्न, विद्रोह गर्न खोज्नेहरू त मारिन्छन् नै आफ्नो ‘आनन्द’को लागि पनि किराफट्यांग्रा सम्झेर दलितहरूको नरसंहार हुने गर्छ ।
यही चम्बल क्षेत्रअन्तर्गत पर्ने सानो गाउँ घुराका पुर्वामा फुलनको जन्म भयो । उनको परिवार गरिब थियो, डुंगा चलाएर, माछा मारेर जीविका चलाउने अर्थात् माझी । बाजेको निधनपश्चात् काकाले सानो जमिन हडप्यो । फुलन मात्र १० वर्षकी थिइन् त्यो बेला । तर, उनी चुप लागेर बसिनन् काकाको परिवारसित जुझ्न पुगिन् । काकाको छोरा मायादिन मल्लाहले बेहोसै हुने गरी टाउकोमा इँटाले हानिदिए । काकासँग भिड्न गएको बाबुआमाले पनि मन पराएनन् । सजायँस्वरूप १० वर्षकी उनको बिहे अर्को गाउँको ३० वर्षीय पुट्टीलाल मल्लाहसित जबर्जस्ती गराइदिए । पुट्टीलालले उनीमाथि यौनशोषण र मारपिट पनि गरे ।
उनी जसोतसो भागेर माइतीघर फर्किइन् । तर, उनै काकाको छोरा मायादिनले चोरीको आरोपमा पक्रन लगाए । जेलमा पनि फुलनले बलात्कार सहिन् । शारीरिक यातना भोगिन् । रिहा भएपछि सबै मिलेर पुनः लोग्नेको घर पठाइदिए । त्यतिञ्जेल पुट्टीलालले अर्की युवतीलाई घर भित्र्याइसकेको रहेछ । त्यसमाथि उनले फुलन अब कुमारी नरहेको भनी स्वीकार्न तयार भएनन् । केही समय लोग्नेको अत्याचार सहेर पुनः माइती फर्किइन् । यो सन् १९७९ को कुरा हो, जतिबेला उनी १६ वर्षको भइसकेकी थिइन् ।
उनी गाउँमा मजदुर भई घर निर्माणमा खटिइन् । तर, जब ज्याला दिन ठेकेदारले आनाकानी गरे तब राति निजलाई फोहोर फाल्ने कन्टेनरमा खसालिदिइन् । सायद यो घटनाको बदला लिने हेतुले होला, २–३ दिनपछि केही गुण्डा जबर्जस्ती उनको घरमा पसे र आमाबुबाकैसामु उनीमाथि अप्राकृतिक मैथुन गरे ।
यसबीच डाँकु बाबु गुजरको नजर प¥यो । उनी अपहरणमा परिन् । ३ दिनसम्म गुजरले क्रूर व्यवहार गरे । गुजरपछिका मुखिया विक्रम मलाह पनि फुलनलाई मन पराउँथे । एकरात सुतिराखेको मौका पारेर विक्रमले गुजरको हत्या गरिदिए र भोलिपल्टे बिहान आफूलाई ग्याङको सरदार घोषित गरे । फुलनलाई आफ्नी बनाए । विक्रम विवाहित थिए त्यसैले बिहे गर्न सक्दैनथे । उनीहरू ‘लिभिङ टुगेदर’ सरह बसे ।
केही सातापछि विक्रमसित मिलेर उनले पुट्टीलालको गाउँमा आक्रमण गरिन् । बदलाको भावनाले ओतपोत उनी आफैँले पुट्टीलाललाई घरभित्रबाट घिसारेर ल्याइन् र गाउँलेकै अगाडि छुराले घोपेर मरणासन्न बनाई सडकको बीचमा छाडिन् । फर्किने बेला गाउँका सबै पाको उमेरका पुरुषप्रति औंला ठड्याउँदै भनिन्, ‘आइन्दा कम उमेरका युवतीसित बिहे गर्ने चेष्टा कसैले नगरुन् । ’
उनले एउटा अन्तर्वार्तामा भनेकी छन् ‘गाउँका उच्च जातिकाले हामीलाई किराफट्यांग्रासरह मार्छन्, मन लागेका बेला महिलामाथि बलात्कार गर्छन् । गर्नुसम्म अत्याचार गर्छन् । दलितहरू सहेर बस्छन् । म त्यसरी चुपचाप सहेर बस्नेमा परिनँ । म आइलाग्नेमाथि जाइलाग्ने र हत्याको बदला हत्या भन्ने स्वभावकी । त्यसैले बदलाको भावनाले डाँकु बनेकी हुँ । ’
र, डाँकु बन्ने अभिप्रायले विक्रमबाट बन्दुक चलाउन सिकिन् । उत्तरप्रदेश र मध्यप्रदेशको सीमाक्षेत्र बुन्देलखण्डमा डाँका डाल्न शुरु गरिन् । उनले विशेषगरी त्यस क्षेत्रका उच्च जातिको घर लुट्थिइन् । अपहरण गरी रकम असुल्थिन् । बाटोमा गाडी छेक्थिन् र धनसम्पत्ति लुट्थिन् । विक्रमको ग्याङमा फुलन एक्लै महिला सदस्य थिइन् । प्रत्येक लुटपाटपछि दुर्गाको मन्दिर पुग्थिन् र ज्यान बचाइदिएकोमा धन्यवाद दिन्थिन् । एकदिन विक्रमले भने, ‘तिमीले २० जनालाई मार्न सक्यौ भने बल्ल तिम्रो आतंक सबैतिर छाउनेछ । आखिर एक जना मारे पनि पाइने मृत्युदण्ड हो, २० जना मारे पनि मृत्युदण्ड नै हो ।’
यसबीच दुई जना डाँकु श्रीराम र लल्लाराम जेलबाट रिहा भए । उनीहरू पुनः ग्याङमा सामेल भए । जेलमा बस्दै उनीहरूले सरदार बाबु गुजरको हत्या भएको खबर सुनेका थिए । उनीहरूले सरदारको हत्याको कारण फुलन भएको निश्कर्ष निकाले । उनीहरू दुबै जना उच्च जातिका थिए । अर्को कुरा विक्रम र फुलन तल्लो जातिको भएकाले उनीहरू मातहत बस्न मन पराइराखेका थिएनन् ।
ग्याङमा पुनप्र्रवेशपछि उनीहरूले धमाधम उच्च जातिकालाई भर्ना गरी मल्लाहहरूको गाउँमा आक्रमण गर्न थाले । विक्रम र फुलनले धेरै रोक्न खोजे । विक्रमले आफ्नो ग्याङ दुई समूहमा विभक्त गर्न एउटा उच्च जातिको र अर्को दलितको बनाउने सुझाए तर श्रीरामहरू यो कुरो मान्न पनि तयार भएनन् । ग्याङमा मल्लाहहरू धेरै थिए, उनीहरू विक्रमलाई मन पराउँथे साथै विक्रमकी पहिलो पत्नीलाई । फुलनलाई मन पराउँदैनथे । विक्रमको ग्याङलाई दुई समूह बनाउने प्रस्तावलाई लिएर एकदिन उनीहरूको झगडा भयो । गोली नै हानाहान भयो । विक्रम र फुलन ज्यान जोगाएर अन्धकारमै भागे ।
उनीहरू लुक्दै भाग्दै सुरक्षित स्थानतिर लागे । राति सँगै सुतिरहेका बेला श्रीरामहरू खोज्दै त्यहाँ पुगे । श्रीरामहरूलाई कुसुम नामक एउटी महिलाले सघाएकी थिइन् । विक्रमले फुलनलाई जे–जति गहना उपहार दिए त्यो सबै कुसुमको थियो । कुसुमले लगाइराखेकै गहना जबर्जस्ती फुकाल्न लगाएर सो गहना विक्रमले फुलनलाई लगाउन दिएका थिए । उनीहरूले विक्रमलाई गोली हानेर त्यहीँ ढाले अनि बेहोस् हुने औषधि सुँघाई फुलनलाई उठाएर लगे ।
फुलनलाई उच्च जातिको बाहुल्य रहेको गाउँ बेहमेई लगी एउटा घरमा बन्दी बनाएर राखियो । कुटपिट गरियो । कपाल लुछियो । अपमानित गरियो । शुरूमा श्रीराम त्यसपछि लल्लारामले बलात्कार गरे अनि पालैपालो गाउँका ठाकुरहरूले बलात्कार गरे । यो क्रम ३ हप्तासम्म चल्यो । पछि सर्वांग नांगो पारेर गाउँको परिक्रमा गर्न लगाइयो । जसोतसो एकदिन ग्याङका एक सदस्य मानसिंह मल्लाह र तल्लो जातिका गाउँलेको सहयोगमा फुलन त्यहाँबाट भाग्न सफल भइन् । अब मानसिंह र फुलन प्रेमी–प्रेमिका बने । दुबै जना मिलेर मल्लाहहरूको मात्र छुट्टै ग्याङ बनाए । यो नयाँ समूहले उच्च जातिको घर लुट्न शुरु ग¥यो । बुन्देलखण्डमा आतंक नै मच्चायो ।
सन् १९८१ फेब्रुअरी १४ को दिन फुलन आफ्ना साथीसहित बेहमेई पुगिन् । त्यो साँझ गाउँमा बिहेको समारोह चल्दै थियो । उनले त्यहाँ पुगेर श्रीराम र लल्लाराम कहाँ छ भनी सोधिन् । आफूमाथि बलात्कार गर्ने २ जनालाई तत्काल चिनिहालिन्, अरूबारे सोद्धा कसैले बताएनन् । बदला लिने आशयसहित पुगेकी उनले ठाकुर युवकहरूलाई लहरै घुँडा टेक्न लगाइन् र गोली हानेर ढालिन् ।
२२ जनाको मृत्यु र ६ जना घाइते भए । यो घटनाले भारतभरि आतंक छायो । राज्य सरकारको आलोचना भयो । हत्याकाण्डको कारण उत्तरप्रदेशका तत्कालीन मुख्यमन्त्री विश्वनाथप्रताप सिंहले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुप¥यो । राज्य र केन्द्रीय सरकारले उक्त बेहमेई हत्याकाण्डपछि ‘डाँकू रानी’ को नाउँले चर्चित बनिसकेकी फुलनलाई समात्न ठूलो मात्रामा प्रहरी परिचालन ग¥यो । तर, गरिब गाउँलेको साथ पाएका फुलनलाई समात्न असफल बन्यो ।
बेहमेई काण्डको ठीक २ वर्षपछि इन्दिरा गान्धीको सरकारले फुलनसित सम्झौता गरेर आत्मसमर्पण गराउने निर्णय लियो । त्यो बेलासम्ममा फुलन पनि बिरामी भइसकेकी थिइन् भने उनको ग्याङका अधिकांश सदस्य या त प्रहरीसितको मुठभेडमा वा विरोधी ग्याङसित झडपमा मारिइसकेका थिए । त्यसैले सन् १९८३ को फेब्रुअरीमा फुलनले सरकारसमक्ष आत्मसमर्पण गर्ने निर्णय लिइन् । उनले आफ्ना ग्याङ सदस्य कसैलाई पनि मृत्युदण्ड र ८ वर्षभन्दा बढी कैद सजाय दिन नपाउने शर्त राखिन् । शर्त मञ्जुर गरेपछि महात्मा गान्धीको सालिकनिर हतियार बुझाइन् । सरकारले उनीमाथि डाँका र अपहरणका ४८ वटा अपराध गरेको आरोप लगाई मुद्दा दायर ग¥यो । मुद्दा ११ वर्ष लम्बियो ।
पछि उत्तरप्रदेशका मुख्यमन्त्री मुलायमसिंह यादवले सबै आरोप फिर्ता लिएर फुलन देवीलाई जेलबाट रिहा गरे । उनले उम्मेद सिंहसँग बिहे गरिन् । धर्म परिवर्तन गरी दुबै बौद्धमार्गी बने । समाजवादी पार्टीको तर्फबाट चुनाव लडेर लोकसभाको सदस्य बनिन् । सन् २००१ जुलाई २५ को दिन दिल्लीस्थित घरको ढोकामै उनको हत्या भयो । टाउको, छाती, गर्धन र दायाँ पखुरामा गरेर ९ वटा गोली लागेको थियो । शेरसिंह रानाले पछि उच्च जातिका मान्छेको हत्या गरेको बदला लिएको बयान दिए । हत्या हुँदा फुलनको उमेर ३८ थियो । फुलनलाई टाइम पत्रिकाले विश्वका १६ विद्रोही महिलामा समेत राखेको थियो ।
टिप्पणीहरू