दुई शरीर र एक ज्यान, हजुरआमाको अन्तै ध्यान
किनारे–किनारे चले जायेंगे
जीवनकी नैयाको खेते हुये
चले जायेंगे चले जायेंगे ।
मजबूत हैं दिल के अरमान जो
परवाह नहीं आये तूफान जो
थपेडों से उठके बचे जायेंगे
जीवनकी नैयाको खेते हुये
किनारे–किनारे चले जायेंगे ।
माना के किस्मत के तकरार है
खेवटके हाथों में पतवार है
मंजिल पे अपनी बढे जायेंगे
जीवनकी नैयाको खेते हुये
किनारे–किनारे चले जायेंगे ।
मंजिल पे पहुँचे तो किस्मत हँसी
ले दुनियाकी खुशियाँ मोहब्बत हँसी
हँसायेंगे सबको हँसे जायेंगे
चले जायेंगे चले जायेंगे
किनारे–किनारे चले जायेंगे ।
हिन्दी चलचित्र ‘विद्या’ को गीत हो यो । सन् १९४८ मा प्रदर्शित । कलाकार थिए – देव आनन्द, सुरैया अनि मदनपुरी । देवानन्द उर्फ देव आनन्द चन्दूको भूमिकामा थिए भने सुरैया विद्या । चन्दू सार्कीका छोरा । एकदिन किशोर उमेरमै घरबाट भाग्छन् । धनी बाबुकी छोरी विद्याले पढ्न सिकाउँछिन् । र, यसै क्रममा उनीहरूको प्रेम हुन्छ । एक दिन दुवै जना नदीमा जान्छन् र डुंगामा सफर गर्छन् । सुरैया अर्थात् विद्याले ‘किनारे किनारे चले जायेंगे’ गीत गाउँछिन् र दुबै प्रेमालापमा डुब्न थाल्छन् ।
यो दृश्यका लागि छायांकन हुँदै थियो । अचानक डुंगाको सन्तुलन बिग्रन्छ र सुरैया पानीमा खस्न पुग्छिन् । उनी ‘बचाउ बचाउ’ भनेर चिच्याउन थाल्छिन् । सुटिङमा संलग्न अरू सबै मान्छे नदी किनारमा थिए, नजिक थिए त डुंगामा सवार उनै देवानन्द । उनले चलचित्रको नायकसरह नै बहादुरी देखाए र पानीमा हाम्फाली सुरैयाको ज्यान बचाए । देवानन्दको हिम्मत देखेर सुरैया दंग पर्छिन् । उनले एउटा अन्तर्वार्तामा भनेकी पनि छिन् ‘उनी फिल्मको हिरो मात्र हैन पर्दा बाहिरको जिन्दगीमा पनि बहादुर हिरो थिए, प्रेमिल थिए ।’
डुब्नबाट बचाएपछि सुरैयाले भावुक भएर देवलाई भनिन्, ‘ आज तिमीले नबचाएको भए मेरो जीवनको अन्त्य हुने थियो ।’ देव पहिल्यैदेखि सुरैयालाई चाहन्थे । देवको ‘विद्या’ पाँचाँै चलचित्र होे, जबकि ती सबै सुरैयाको यो २९ औं फिल्म थियो अर्थात् देव बलिउडमा नयाँ–नयाँ थिए भने सुरैया नाम–दाम सबै कमाइसकेकी लोकप्रिय अभिनेत्री थिइन् । सुरिलो स्वरकी धनी । पाश्र्वगायनमार्फत पनि चलचित्र जगतमा पकड कायम गरिसकेकी । भारतका प्रसिद्ध राजनीतिज्ञ जवाहरलाल नेहरू, लालबहादुर शास्त्रीजस्ता हस्तीसमेत उनको प्रशंसक । सुरैयाद्वारा अभिनीत चलचित्र हेर्न र उनले गाएका गीत सुन्न मन पराउँथे ।
त्यसो त देव सुरैयाभन्दा ६ वर्षले जेठो थिए । अर्थात् विद्याको सुटिङको समय सुरैया १९ र देव २५ का थिए । देव लोकप्रियताको शिखरमा पुगिसकेकी सुरैयाप्रति प्रेम दर्शाउन हिच्किचाइरहेका थिए । अर्को कुरा, देवले यसअघि कुनै युवतीलाई यतिबिघ्न मन पराएका थिएनन् । पहिल्यै मन परेको केटी, त्यसमाथि सँगै काम गर्दाको समय कुनै किसिमको घमण्ड नदेखाउन र आफूभन्दा जुनियर कलाकारको सम्मान गर्ने सुरैयाको बानी ब्यवहारबाट देव निकै प्रभावित थिए । उनी सुरैयाको रूप, यौवनप्रति पागल त थिए नै, पछिल्लो समय मनैबाट प्रेम गर्न थालिसकेका थिए । त्यसैले जब सुरैयाले आफ्नो ज्यान बचाइदिएकोमा जसरी धन्यवाद दिइन् त्यसबाट उनी निकै भावुक बन्न पुगे । र, अनायास उनको मुखबाट निस्कियो, ‘यदि आज तिम्रो जीवन अन्त्य भएको भए मेरो यो जीवनको पनि अन्तिम दिन हुन्थ्यो ।’
देवको यो कुरोले सुरैयाको भित्रीमनसम्म छोयो । अब उनी पनि देवलाई मन पराउन थालिन् । मित्रता प्रेममा बदल्यो । अब दुवै सुटिङको समय र सुटिङ नभएको बेला बाहिरबाहिर भेट्न थाले । सुरैयाकी आमा मुमताज शेख देवलाई मन पराउँथिन् । देवसित राम्रो व्यवहार गर्थिन् । तर, घरमा उनको केही चल्दैनथ्यो । घरको कमाण्ड सुरैयाकी बज्यै बाद्शा बेगमको हातमा थियो । र, उनी देवलाई फुटेको आँखाले पनि हेर्न चाहँदैनथ् ि। उनी आफ्नी नातिनी सुरैयाली हिन्दू केटोसित कदापि बिहे नगरुन् भन्ने चाहन्थिइन् ।
बाद्शा कडा मिजासकी थिइन् । उनी सुरैयालाई कसैले प्रेमजालमा फसाउँछ कि भनेर सधैं चनखो रहन्थिन् । सुटिङको बेलासमेत आफ्नी नातिनीलाई एक्लै छाड्दैनथिन् । र, जब देव र सुरैया नजिकिएजस्तो उनलाई लाग्यो उनी झन् होशियार बन्न थालिन् । अर्को कुरा, सुरैया उनका लागि अण्डा दिने कुखुरी थिइन् । अभिनय र गायनबाट सुरैयाले ठूलो धनराशि घरमा भिœयाइरहेकी थिइन् ।
बादशा बेगम यो आर्थिक आर्जन गुमाउन चाहँदैनथिन् । त्यसैले अब उनी देव र सुरैयाको प्रेमबीचमा पर्खाल बन्न थालिन् । तैपनि, सुरैया आफ्नी बज्यै वादशा बेगमको आँखा छलेर देवसित गहिरो प्रेममा डुब्न थालिन् । अर्को वर्ष सन् १९४९ मा ‘जित’ बन्यो । यो चलचित्रमा पनि नायक–नायिका उनीहरू नै थिए । सुटिङको दौरान दुबै अझ नजिकिए । फुर्सद मिल्दैमा दुबै जिस्किन थाल्थे । एउटा गीतको दृश्य थियो । गीत बज्न शुरु हुनेबित्तिकै सुरैयाले देवलाई पछाडिबाट अँगालो मारिन् । देवले सुरैयाको श्वासबाट गर्मी महसुस गरे । उनले सुरैयाको हात तानेर हत्केलामा म्वाइँ खाइदिए । अनि फ्लाइङ किस उछाले । उत्तरमा सुरैयाले पनि देवको हत्केलाको पछाडिको भागमा म्वाइँ खाइदिइन् । निर्देशक मोहन सिन्हा कराए ‘वल्लाहा ! क्या बात है ! बढिया दृश्य !!’
सुटिङस्थलमै उपस्थित बादशा बेगमले यो दृश्यप्रति आपत्ति जनाइन् तर निर्देशक दृश्य काट्न मानेनन् । अब बादशा देव र सुरैयाबीच
हुने हरेक प्रेम दृश्यमाथि नै आपत्ति जनाउन थालिन् । उनले सुटिङमा बाहेक अरुबेला दुबैको भेटघाटमा रोक लगाइदिइन् । सुरैयालाई घरबाटै निस्कन दिइनन् । देव फोन गर्थे तर हरेकपटक बादशाले नै उठाउँथिन् । देव सुरैयाको घरमुनि पुग्थे र घण्टौं उभिन्थे तर बादशाले सुरैयाले झ्यालबाट बाहिर हेर्नै मनाही गरेकी हुन्थिन् । देवले लेखेको प्रेमपत्र पनि मुश्किलले कहिलेकाहीँ मात्र सुरैयाको हातमा पुग्थ्यो । बादशाले देवलाई भेटेरै आफ्नी नातिनीको नजिक नआउन चेतावनी दिइन् । कुरा नमाने प्रहरीमा उजुरी गर्ने धम्कीसम्म दिइन् ।
देवलाई सुरैयासित भेट्न गाह्रो थियो । एकातिर उनकी बज्यै, अर्कोतर्फ सुरैयालाई सधैँ प्रशंसकहरू घेरेर बसेका हुन्थे । एकदिन मौका पारेर सुरैयाले देवलाई पानी टैंकीको पछाडि लगिन् र हत्तपत्त ‘आई लभ यू’ भनेर भागिन् । देवले ठाने अब औंठी किनेर दिनैप¥यो । उनले ३ हजारमा हीराको औंठी किने र बाद्शाको आँखा छलेर सुरैयालाई दिए । पछि उक्त औंठी देवसित अल्लगिने निर्णय गरेपछि सुरैयाले समुद्रमा फ्याँकिदिइन्, सन् १९५१ मा ।
सन् १०५० मा प्रदर्शित फिल्म ‘अफसर’ को सुटिङमा बादशाको पनि उपस्थिति थियो । तर, अचानक काम आइपरेको कारण उनी घरतिर लागिन् । देव र सुरैयाले यो मौका गुमाउन चाहेनन् । दुबैजना मेकअप कक्षमा पसे । ४५ मिनेटसम्म गफिए । बिहे गर्ने निधो गरे । उनीहरूले सुटिङकै दौरान बिहेको दृश्य छायांकन गर्दा सकल्ली पण्डित उपस्थित गराएर वास्तविक बिहे गर्ने योजनासमेत बनाए । तर, सबै कोसिस बेकार सावित भयो । बज्यै बाद्शाको चर्को विरोधको बाबजुद सुरैयाले देवसँग ‘विद्या’ ‘जित’ ‘अफसर’ बाहेक पनि ‘सनम’ ‘सायर’ ’दो सितारे’ र ’निली’मा काम गरिन् । ‘दो सितारे’ पछि भने बाद्शाले सँगै काम गर्न दिनै मानिनन् । त्यसपछि उनीहरूको भेटमा पनि बिराम लाग्यो ।
दिनमा भेट्न नपाएपछि राति भए पनि भेट्ने कोसिस गरे देवले । सुरैयाको घरपछाडि पर्खिन थाले । एकदिन फोन गर्दा धन्न सुरैयाकी आमा मुमताजले उठाइन् । उनले छोरीसँग कुरा गर्न दिइन् । फोनमा दुबै रोएर बसे । फोनमै उनीहरूले भेट्ने योजना बुने । देव राति साढे ११ बजे एक जना साथी र पुलिस निरीक्षकलाई लिएर सुरैयाको घर पुगे । मुमताजले देवलाई छोरीसँग भेट्न अनुमति दिइन् । सुरैया पहिल्यै छतमा पुगिसकेकी थिइन् । देख्नेबित्तिकै दौडेर देवसित अँगालो मारिन् । प्रतक्ष्यदर्शी ताराचन्दका अनुसार दुबै जना आधा घण्टा रोएरै बसे । देव र सुरैयाको यो नै अन्तिम भेटघाट भयो । दुबैजनाले यही भेटमै अलग्गिने निर्णय गरे ।
पछि सन् १९५४ मा फिल्म ‘ट्याक्सी ड्राइभर’ को सुटिङको दौरान उक्त फिल्मकी नायिका कल्पना कार्तिकसँग प्रेम भयो । र, बिहे भयो। उता सुरैया देवसितको बिछोडले निकै दुःखी बनिन् । र, आजीवन अविवाहित रहिन् । उनले सन् १९७२ मा पत्रिका स्टारडस्टलाई अन्तर्वार्ता दिने क्रममा पनि स्विकारिन् कि देव र उनी दुई शरीर, एक ज्यान थिए । उनी सन् १९६३ सम्म अभिनय र गायनमा सक्रिय रहिन् । उनको सन् २००४ मा र देवको सन् २०११ मा निधन भइसकेको छ ।
टिप्पणीहरू