पैसा क–कसले कति–कति पाउने ? – २
गतांकबाट क्रमशः
बाँके– नेपालगञ्ज नगरपालिका–१६, मुक्तिपुर बस्ने चुमानसिंह केसीलाई प्रहरीद्वारा कुटपिट गरिएको बुझियो । निजले हालसम्म राहत तथा क्षतिपूर्ति नपाएको भए नेपाल सरकारको नीतिअनुसार उपलब्ध गराउन ०६६ माघ ४ गतेको निर्णयअनुसार सिफारिस गर्ने ।
काठमाडौं– जोरपाटी गाविस, नारायणटार बस्ने १९ वर्षीय अरुण सुनुवारलाई तत्कालीन माओवादीले ०६३ असोज १७ गते अन्य तीन जना व्यक्तिसँगै कब्जामा लिएर अन्यलाई मुक्त गरिए पनि उनलाई छाडेको देखिएन । सुनुवारको अवस्था यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित पक्षलाई लेखी पठाउने, पीडितका हकवालालाई अन्तिम राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गर्न सरकारलाई सिफारिस गर्ने र प्रस्तुत उजुरीउपरको अनुसन्धान जारी राख्ने भनी ०६७ कात्तिक १५ गते निर्णय भई सिफारिस भइसकेकोमा पीडित परिवारले हालसम्म पनि राहत रकम नपाएको भन्ने जानकारी हुन आएको छ ।
बर्दिया– धधवार गाविस–८ बस्ने कन्हैयालाल चौधरी, सुरेश चौधरी र कर्णबहादुर थापालाई ०५८ चैत १ गते दिउँसो सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानी मारेको र लास सुरक्षाकर्मीले गाडीमा हाली बेपत्ता पारेकाले पीडित परिवारलाई अन्तिम राहतस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराउने ।
बारा– गडहल गाविस– ६ बस्ने उपेन्द्र साह तेली, जवाहरप्रसाद साह तेली र राजेन्द्रप्रसाद तेलीको अन्नबाली तथा जग्गा ०६३ साउन १८ मा माओवादी कार्यकर्ताले कब्जामा लिएको तर उनीहरुले हालसम्म कुनै राहत तथा क्षतिपूर्ति रकम प्राप्त नगरेकाले लुटिएको अन्नबाली तथा कब्जा गरिएको जग्गाको हालको प्रचलित मूल्यमा मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
बर्दिया– बगनाह गाविस– ३ बस्ने बुद्धिसागर न्यौपानेको घरमा माओवादीले ०६२ जेठ २७ मा बम बिष्फोट गराई क्षति पु¥याएको तर हालसम्म पनि कहीं, कतैबाट नपाएकाले सम्पूर्ण क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन ०७४ मंसिर ८ को निर्णयअनुसार सरकारलाई सिफारिस गर्ने ।
रुकुम– बिजेश्वरी गाविसअन्तर्गत उद्योग वाणिज्य संघ, शाखा कार्यालय चौरजहारीमा आबद्ध भई विभिन्न पसल सञ्चालन गर्दै आएका व्यापारीहरुलाई नेकपा माओवादीले गाउँ जनसरकार समितिमा व्यवसाय दर्ता गर्न दबाब दिँदै आएको तर सोबमोजिम नगरेको भनी ०६० कात्तिक १७ गते हिमप्रसाद शर्माको सम्पूर्ण सामान लुटिएको, पसल तोडफोड गरिएको र अन्य १९ वटा पसललाई बन्द गर्ने सूचना टाँस गरेकोमा प्रहरीले ८ लाख पचास हजार बराबरको क्षति भएको मूल्यांकन गरेकाले हालको प्रचलित मूल्यबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
कैलाली– टीकापुर–१ का १५ वर्षीय श्यामसुन्दर चौधरी आफ्नो मावली बर्दिया जाँदै गर्दा कर्णाली नदीको पुल पुगेको समयमा सेनाले माओवादीलाई लक्ष्यित गरी हानेको गोली दाहिने खुट्टामा लागी घाइते भएकाले एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र निजको निरन्तर
निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस गर्ने ।
कञ्चनपुर– कसुवामा ०६१ असार १२ गते माओवादी छापामारले बोकेको ग्रिनेट बिष्फोट हुँदा सोही ठाउँ बस्ने वर्ष ७ का लौहोराम रानाको घटनास्थलमै मृत्यु भएको र १० वर्षीय रामसमाज राना, ११ वर्षीय रामसिंह राना तथा ३० वर्षीय मायाराम राना घाइते भएकोमा, मृतकका परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउन र घाइतेको उपचार व्यवस्था मिलाउन सिफारिस गर्ने ।
बाग्लुङ– निसी गाविस–३ बस्ने तुलासिंह घर्तीमगरको घरमा ०६२ साउन ८ गते माओवादीले ताला लगाई सम्पूर्ण जग्गा कब्जा गरेकाले क्षतिको मूल्यांकनबमोजिम ३ लाख ८१ हजार ५ सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन सिफारिस गर्ने ।
सुर्खेत– होराइजन एकेडेमी विद्यालय कक्षा ९ मा अध्ययनरत १४ वर्षीया समीक्षा आचार्य ०७३ मंसिर २३ गते आयोजित व्यापार मेला उद्घाटन सिलसिलामा ¥यालीमा हिँडिरहेको अवस्थामा बेहोस भई मृत्यु भएकोमा ‘प्रधानमन्त्रीको स्वागत ¥यालीमा धपेडीले छात्राको मृत्यु’ शीर्षकको समाचारलाई आयोगले स्वविवेकमा उजुरी ग्रहण गरी अनुसन्धान गर्दा कानुनको उदासीनता तथा लापरवाही भएको देखिँदा उद्योग वाणिज्य संघ सुर्खेत, प्याब्सन सुर्खेत र होराइजन एकेडेमीलाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सचेत गराउन लेखी पठाउने र मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने । राजनीतिक स्वार्थपूर्तिका लागि कोही कसैले बालबालिका प्रयोग गर्न नहुनेमा नेपाल सरकार, राजनीतिक दलका भातृसंगठन, विद्यालय र स्वयं अभिभावकलाई सचेत गराउने ।
बर्दिया– नेउलापुर– ५, भुरीगाउँ बस्ने विष्णु वन संन्यासीलाई माओवादीले काठमाडांै, कीर्तिपुरबाट कुटपिट गरी यातना दिएका कारण मानसिक सन्तुलन ठीक नभएको, उनी हाल दिल्लीमा कार्यरत रहेको र उपचारसमेत गराइरहनुपरेको देखिएकाले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
तनहुँ– अरुणोदय गाविस–६ बस्ने १४ वर्षीय झंकबहादुर कुमाल र १२ वर्षीय नेत्रबहादुर कुमाललाई ०६२ मंसिर २७ गते सेना र माओवादी दुवै पक्षले यातना दिएका कारण हालसम्म पनि निजहरुको अवस्था राम्रो नदेखिएकाले जनही एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन, निःशुल्क उपचारको व्यवस्था गर्न र दोषी पहिचान गरी कानुनबमोजिम कारवाही गर्न सिफारिस गर्ने ।
कैलाली– फूलबारी–६ बस्ने ४१ वर्षीय तीर्थराज पौडेललाई ०५८ वैशाख २८ गते सेना र सशस्त्र प्रहरीले पक्राउ गरी यातना दिएर १५ दिनपछि रिहा गर्दा देब्रे कान नसुन्ने र खुट्टा राम्ररी नचल्ने भएकाले क्षतिपूर्तिबापत १ लाख रुपैयाँ, निःशुल्क उपचार र पठनपाठनको व्यवस्था गर्नुका साथै दोषीलाई कानुनबमोजिम कारवाही गर्न सरकारलाई सिफारिस गर्ने ।
कास्की– ल्वाङघलेल घर भई लेखनाथ बस्ने खड्गबहादुर तामाङलाई ०६२ पुस ९ गते चेक पोस्टमा खटिएका सुरक्षाकर्मीले गोली हानी घाइते बनाएकाले मानवअधिकार उल्लंघनमा संलग्न सेनाको पहिचान गरी विभागीय कारवाही गर्न र पीडितको निःशुल्क उपचार गराई क्षतिपूर्तिबापत १ लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
कैलाली– भजनी गाविस–४, पडरिया बस्ने ३६ वर्षीय बृजेन्द्रलाल कर्णलाई ०५९ वैशाख २० गते साँझ ७.३० बजे पसलबाट घर फर्कने क्रममा भजनी सुरक्षा बेस क्याम्पबाट खटिएका सैनिकले पक्राउ गरी बेपत्ता पारेकाले आयोगको ०७४ साउन ३ को निर्णयअनुसार पीडितका परिवारलाई राज्यबाट राहत, क्षतिपूर्तिबापत ३ लाख उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
बाँके– कम्दी–९ बस्ने हुकुमबहादुर केसीलाई २०६० कात्तिक २२ गते माओवादीले धनमाल लुटी लगेकाले क्षतिपूर्तिबापत एक लाख दुई हजार चालिस रुपैयाँ उपलब्ध गराउने ।
कैलाली– उर्मा गाविस– ५ बस्ने रमदैया चौधरी, प्रदेशु चौधरी, प्रदेशनी चौधरी, अमिशा चौधरी, माधुरी चौधरी, अलिशा चौधरी र रुपादेवी चौधरी गरी एकै घरका सात जना ०६२ फागुन ४ मा माओवादीले राखेको बम बिष्फोटमा पर्दा रामदैयाको खुट्टा काम नलाग्ने गरी क्षति भएको, प्रदेशनीको अवस्था गम्भीर रहेको, प्रदेशुको दायाँ कानको सुन्ने क्षमता गुमेको, दायाँतिरको शरीर नचल्ने भएको, अमिशा र अलिशाको श्रवणशक्ति गुमेको, माधुरीको बायाँ कानको सुन्ने क्षमता गुमेको, रुपादेवी र प्रदेशनीको शरीरमा छर्रा लागेकोले रमदैया, माधुरी र अमिशालाई जनही ३ लाखका दरले तथा अन्य घाइतेलाई जनही २ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउनुका साथै जेनेभा महासन्धि साझा धारा ३ को उल्लंघन गर्ने दोषी माओवादी कार्यकर्ता पहिचान गरी कानुनबमोजिम कारवाही गर्न सिफारिस गर्ने ।
कैलाली– रतनपुर गाविस– ६ बस्ने धरमपाल चौधरी, बृजलाल चौधरी र हनुमान चौधरीलाई हतियारधारी सुरक्षाकर्मीको टोलीले ०५८ भदौ १५ गते राति घरबाटै पक्राउ गरी बेपत्ता बनाएको र दुई–तीन दिनपछि रेडियोमा उनीहरु मारिएको समाचार प्रसारित भएकाले जनही ३ लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
बर्दिया– ठाकुरद्वारा गाविस– ५ बस्ने डिलराज पौडेलको ०५८ चैत २२ गते तत्कालीन बरखदल गुल्म ठाकुरद्वाराका सुरक्षाकर्मीले हनुमान ट्रेडर्स हार्डवेयर पसलबाट प्रेसर कुकर, जीआई पाइप, सकेट आदि गरी १० लाखबराबरको सामान शान्ति–सुरक्षाका नाममा लुटी लगेको र पटक–पटक फिर्ता माग्दा नदिएकाले वास्तविक क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिन र बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न सरकारलाई सिफारिस गर्ने ।
कैलाली– उर्मा गाविस– ५ बस्ने २२ वर्षीया जानकीकुमारी चौधरी ०६० असोज ११ गते धनढीस्थित डेराबाट चामल लिन साइकल चढेर घर उर्मा गइरहेको अवस्थामा कतरी नदीकिनारमा पुग्दा माओवादी आरोपमा सुरक्षाकर्मीले गोली हानी हत्या गरेकाले मृतकका हकवालालाई ३ लाख क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
कैलाली– मालाखेती गाविस– ३ बस्ने तेजबहादुर साउद ०६९ कात्तिक १० गते भाइटीकाको दिन स्थानीय व्यक्तिसहित पसलको आँगनमा तास खेलिरहेको बेला तीन जना माओवादी कार्यकर्ता आएर सकेट बम प्रहार गर्दा तेजबहादुरको टाउको, घाँटी, हात, छाती र खुट्टामा समेत छर्रा लागी नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराई तीनवटा अपरेशन गरिए पनि शारीरिक अवस्था अशक्त भएकाले उपचारमा लागेको एक लाखको शोधभर्नासहित २ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
कैलाली– फूलबारी– ७ बस्ने २७ वर्षीय प्रेम विक र २२ वर्षीय तुलाराम सार्कीलाई सुरक्षाफौजको गस्ती टोलीले ०५९ वैशाख १५ गते भागेर स्थानीयको घरमा लुक्न गएको अवस्थामा बाहिर निकाली रुखमा बाँधेर निर्घात कुटपिट गर्नुुका साथै आँखा फुटाइदिएपछि गाडीमा राखेर धनगढीतर्फ लगेकोमा भोलिपल्ट रेडियो नेपालबाट दुई आतंककारीको सुरक्षा कारवाहीमा मृत्यु भएको समाचार प्रसारण भएकाले पीडित परिवारलाई परिपुरणको व्यवस्था गर्न र जनही ३ लाखका दरले क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गर्ने ।
कैलाली– हसुलिया गाविस– १ का भीमबहादुर कोलीलाई माओवादी आशंकामा सुरक्षाकर्मीले ०५९ कात्तिक ७ गते बानिया प्रहरी चौकीमा लगी कुटपिट गरेको, जुगेडाको पसलमा बसिरहेको बेला सेनाको टोलीले माओवादी भनी कुटपिट गरेको र केही दिनपछि माओवादी कार्यकर्ताले पनि पिटेका कारण निजको मानसिक अवस्था बिग्रेकाले आश्रित श्रीमती, छोरा, छोरी तथा आमाको बिचल्ली भएकाले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ, उपचार खर्चबापत ७५ हजार रुपैयाँ उपलब्ध गराउन, नियमित उपचारको व्यवस्था गर्न र दोषी पहिचान गरी कारवाही गर्न सरकारलाई सिफारिस गर्ने ।
कैलाली– दरख गाविस– २ का बल्चीराम चौधरी, तेजबहादुर डगौरा, वडा ९ का क्याप्टेन डगौरा, खुशीराम चौधरी र पुन्सीराम चौधरीलाई ०५९ कात्तिक २९ गते, वडा ७ का विशाल चौधरी र कमल चौधरीलाई ०५९ भदौ १ गते संयुक्त सुरक्षा बेस क्याम्प सुख्खडका सुरक्षाकर्मीले घरबाटै पक्राउ गरी हालसम्म बेपत्ता पारेकाले सुख्खडका तत्कालीन सुरक्षा प्रमुख र संलग्न अन्य सुरक्षाकर्मीलाई कारवाही गर्न, मृतकका परिवारलाई जनही ३ लाख क्षतिपूर्ति उपलब्ध गराउन, बेपत्ता भएका चार जनाको अवस्था सार्वजनिक गर्न र निजका परिवारलाई राज्यबाट जनही ३ लाख उपलब्ध गराउन सिफारिस गर्ने ।
जुम्ला– महत गाविस– ६ घर भई तातोपानी– २ बस्ने क्षेत्रबहादुर महतलाई ०६० मंसिर १५ गते नागरिकताको प्रतिलिपि लिन सदरमुकाम गएको बेला माओवादीको आरोपमा प्रहरीले पक्राउ गरी केबलजंग गुल्ममा पु¥याएकोमा विभिन्न यातना दिई ४८ दिनपछि मुक्त गरेको र यातनाबाट मिर्गौलामा असर परी शरीर काम नलाग्ने भएकाले उपचार खर्चसमेत गरी १ लाख चार हजार चार सय क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
कैलाली– भजनी गाविस– ३ बस्ने ४२ वर्षीय भुवनराज न्यौपाने ०६४ साउन २ गते आफ्नै खेतमा काम गर्न जाँदा आलीमा रहेको बेवारिस बम विष्फोट भएर बायाँ हातको हत्केला छिनेकाले औषधि उपचार र क्षतिपूर्तिका लागि ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने । वडा ९, कन्हैयापुर बस्ने जगन्नाथ डगौरा र रामशंकर डगौरालाई भजनीस्थित तत्कालीन सेनाको क्याम्पबाट लप्टन रामसिंह बोहराको नेतृत्वमा आएको संयुक्त सुरक्षा टोलीले ०५९ पुस ५ गते घरबाटै पक्राउ गरी लगेर बेपत्ता बनाएकाले जनही ३ लाख क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सिफारिस गर्ने ।
कैलाली– लालबोझी गाविस– ५ का रामचरण चौधरी र वडा १ बस्ने रामेश्वर कठरियालाई ०५८ फागुन १ गते क्रमशः गाईवस्तु चराइरहेको र कुटानी पिसानी मिलमा गइरहेको बेला भजनीस्थित सुरक्षा बेस क्याम्पका लप्टन रामसिंह बोहराको नेतृत्वमा आएको टोलीले पक्राउ गरी लगेकोमा हालसम्म अवस्था सार्वजनिक नभएकाले जनही ३ लाख राहत तथा क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
कञ्चनपुर– देखतभुली गाविस–८ का भीमबहादुर विष्टलाई ०६० फागुन ९ गते शाही शुक्लाफाँट वन्यजन्तु आरक्षले काठ चोरी तस्करी अभियोगमा पक्राउ गरी थुनामा राखेको अवस्थामा जिपमा राखी मजगाउँ चेकपोस्टबाट शिवपुरी भएर बेलडाडी जाने बाटो बनाउन लैजाँदै गर्दा माओवादीले थापेको एम्बुसमा परी गाडीमा सवार १५ जनामध्ये ११ को घटनास्थलमै मृत्यु भएको, चार जना गम्भीर घाइते भएकोमा भीमबहादुरको दायाँ खुट्टा काम नलाग्ने भएकाले उनको परिवारको परिपूरणको व्यवस्था गर्न, क्षतिपूर्तिबापत घाइतेलाई तीन लाख रुपैयाँ उपलब्ध गराउन र जेनेभा महासन्धिको साझा धारा ३ उल्लंघन गर्ने दोषी माओवादी कार्यकर्तालाई कारवाही गर्न सिफारिस गर्ने ।
खोटाङ– दुर्छिम गाविस– ९ घर भई काठमाडौं महानगर– ६, बौद्ध चुच्चेपाटी बस्ने ४० वर्षीय टिकबहादुर राईलाई ०७३ वैशाख २७ गते चुच्चेपाटीस्थित हेलम्बु ग्यास डिपोमा लाइन बसेका बेला होटल व्यवसायी डोल्मा शेर्पासँग सामान्य विवाद हुँदा महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरी हिरासतमा राखेको र वैशाख २८ गते राहुल मगरको जिम्मा लगाई छाडेकोमा बेहोस अवस्थामा ओम अस्पताल पु¥याइएको, आर्थिक अवस्थाका कारण उपचार गर्न असमर्थ भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज लगी उपचार गर्दा भोलिपल्टै मृत्यु भएको । मानवअधिकारकर्मी तुलसी थापाले गरेका क्रियाकलापहरु निज कार्यरत संस्थाको विधानविपरीत, कार्यक्षेत्रबाहिर रहेको र प्रहरीलाई असल नियतले टिकबहादुरको बारेमा खबर गरेको नदेखिएको, साथै निजको भनाइको प्रभावमा परी प्रहरीले यथेष्ट आधार र कारणबिनै पक्राउ गरेको, हिरासतमा बिरामी परिसकेपछि मात्रै स्वास्थ्य परीक्षण गराएको र परीक्षणमा उल्लेख गर्नुपर्ने महत्वपूर्ण तथ्यहरु नै उल्लेख गरेको पाइएन । निर्दोष व्यक्तिको हिरासत कक्षभित्र गरिएको कुटपिटका कारण मृत्यु भएकाले सम्बन्धित प्रहरी कर्मचारीलाई के–कस्तो कारवाही गरिएको छ, सोको अनुगमन गर्ने । मानवअधिकारकर्मी निज तुलसी थापालाई सचेत गराउने, मेडिकल लिगल परीक्षणका लागि मेडिकल एक्जामिनेसन प्रोटोकल सबै अस्पतालमा अनिवार्य रुपमा लागू गर्न र केशको प्रकृति हेरेर थुनुवाको शारीरिक, मानसिक र अन्य व्यवस्थाको स्वास्थ्य परीक्षण गर्न, एकै प्रकारको ढाँचा तोक्न र मृतकका कानुनबमोजिमका हकवालालाई ३ लाख क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
कञ्चनपुर– श्रीपुर गाविस– २ का छोटेलाल चौधरी, २२ वर्षीय नाथुराम चौधरी र २८ वर्षीय जंगबहादुर चौधरीलाई सुरक्षाकर्मीले ०५९ असोज २ गते पक्राउ गरी बेपत्ता बनाएकाले ३ लाख रुपैयाँ जनही क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
बझाङ– चैनपुर गाविस– ८ का ८ वर्षीय राजन रजक र ७ वर्षीय लोकेश हमाल माओवादीले राखेको बम ०६२ चैत ३ गते विष्फोट हुँदा गम्भीर घाइते भएको र राजन अपांगताको अवस्थामा रहेकाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन एवं लोकेशको शरीरमा बमका छर्रा रहेकाले निःशुल्क उपचार गर्नुका साथै दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
बर्दिया– मगरागढी गाविस– ४, मानपुरका ४५ वर्षीय सीताराम चौधरीलाई ०५८ पुस १ गते चिसापानीबाट आएका सैनिकले पक्राउ गरी हालसम्म बेपत्ता पारेकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
अछाम– वीरपथ– ९ का भीमबहादुर शाही र छत्रबहादुर शाहीलाई ०६० असोज ७ गते संयुक्त सुरक्षा फौजले पक्राउ गरी बेपत्ता पारेकाले जनही ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
ललितपुर– माल्टा गाविस– २ का भीमबहादुर बम्जनलाई ०६८ मंसिर २४ गते गस्तीमा आएको राजदल गण र देवीदल गणका सेनाको टोलीले घरबाटै गिरफ्तार गरी वडा ३ स्थित पांग्रे भन्ने ठाउँमा लगी गोली हानेर मारेकोले दोषी सैनिकलाई कारवाही तथा पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने ।
नुवाकोट– शिखरबेसी गाविस–६ का चतुरनारायण योगी (चतुरनाथ कमर योगी) लाई ०६१ वैशाख २७ गते बाटोमा हिँडिरहेको अवस्थामा गणेशस्थानको नयाँपुलबाट सुरक्षाकर्मीले पक्राउ गरी ०६१ जेठ २ गतेसम्म खरानीटार सुरक्षा क्याम्पमा राख्दा दिइएको यातनाका कारण ०६१ मंसिर १६ गते मृत्यु भएकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
रसुवा– सरमथली गाविस– ७ फामचेतका २३ वर्षीय लालप्रसाद तिमल्सिनालाई ०५९ भदौ ९ गते कालिकास्थान बजारबाट सामान किनेर फर्कंदै गर्दा धोबीखोला भन्ने स्थानबाट सेनाले पक्राउ गरी अस्थायी पोष्ट राम्चे पु¥याएको र भोलिपल्टै सैनिक पोशाक लगाएर सेरा गाविस पु¥याई मारेको, वडा ७ कै वीरबहादुर तामाङ, लीलामाया तामाङ र नाम खुल्न नसकेका अर्का एक व्यक्तिलाई पनि सेनाले पक्राउ गरी सोही ठाउँमा गोली हानी मारेको, निजहरुको लास परिवारलाई नदिएर साँस्कृतिक अधिकारसमेतको उल्लंघन भएकाले दोषी सैनिकको पहिचान गरी कानुनबमोजिम मृतकका हकवालालाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
धादिङ– धुवाँकोट गाविस– १ का आइते भन्ने धनेन्द्र तामाङलाई मार्पाकस्थित ससुराली घर गएको अवस्थामा ०५६ माघ ६ गते इलाका प्रहरी कार्यालयका प्रहरीले हात उठाउन लगाई गोली हानेर मारेकाले पीडित परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने ।
बारा– छत्र रतनपुर–२ घर भई सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवामा सशस्त्र प्रहरी जवान पदमा कार्यरत धनबहादुर थापालाई ०५९ जेठ ३१ गते पिलुवाबाटै माओवादी कार्यकर्ताले अपहरण गरी मारेकाले पीडित परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउन र दोषी माओवादी कार्यकर्तालाई जेनेभा महासन्धिको साझा धारा ३ उल्लंघन गरेकाले फौजदारी मुद्दा दायर गर्न सरकारलाई सिफारिस गर्ने ।
काठमाडांै– नाङलेभारे गाविस– २ का बयानबहादुर बस्ताकोटी र केशवबहादुर बस्ताकोटीलाई ०६१ माघ ७ गते व्यापारिक सिलसिलामा साँखुबाट सामान लिएर आउँदै गर्दा भाइहरुसहित सेनाले नियन्त्रणमा लिएको र दाइलाई पनि बोलाउनु भनेपछि मोबाइल सम्पर्क गरी घनश्याम बस्ताकोटीलाई चेकपोष्टमा बोलाइएको, चेकपोष्टमा पुग्नासाथ सेनाले नियन्त्रणमा लिई २१ दिनसम्म थुनामा राखेको देखिँदा प्रतिदिन ५ सयका दरले हुन आउने रकम रु. १० हजार ५ सय उपलब्ध गराउन सिफारिस गर्ने ।
कैलाली– ०७२ भदौ ७ गते टीकापुरमा थरुहट र सुरक्षाकर्मीको बीचमा भएको झडपमा परी ८ जना सुरक्षाकर्मी र एक नाबालक गरी ९ जनाको मृत्यु भएको, ठूलो संख्यामा सुरक्षाकर्मी र आन्दोलनरत पक्षका व्यक्तिहरु घाइते भएको । नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह, माओवादी नेता देव गुरुङसमेतले उत्तेजक भाषण गर्दा स्थिति तनावपूर्ण भई मानवअधिकार उल्लंघन हुन जाने पृष्ठभूमि तयार भएबाट जिम्मेवार राजनीतिक दलको नेतृत्वबाट मर्यादित व्यवहारको अपेक्षा राख्दै सम्बन्धित राजनीतिक दलहरुको ध्यानाकृृष्ट गराउने ।
रसुवा– समरथली गाविस– ७ की लीलामाया तामाङसमेतलाई सुरक्षाकर्मीको टोलीले पक्राउ गरेपछि गोली हानेर मारेकाले मृतकका हकवालालाई ३ लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने ।
रसुवा– लहरेपौवा गाविस– २ घर भई काठमाडौंको मनमैजु गाविस– ८, लामाबगरमा मट्टितेल व्यवसाय गरी बस्ने अर्जुन लामिछानेलाई ०६१ चैत ११ गते राति ८ बजे धर्मस्थली गाविस–५ घर भई सेनाको खरिपाटी ब्यारेकमा कार्यरत अमल्दार गोविन्द कार्कीले गोली प्रहार गरी हत्या गरेको, प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेपछि जिल्ला अदालतको फैसलाअनुसार कार्कीले कैद भुक्तान गरिरहेको पाइएकाले मृतकका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
नुवाकोट– कुमरी गाविस– ७ स्थित पोखरी प्राथमिक विद्यालयका प्रधानाध्यापक पोषकनाथ पुडासैनी र वडा २ बस्ने लक्ष्मेश्वरी निमावि रुपिङका शिक्षक कृष्णप्रसाद घिमिरे, कुमरी गाविस २ का दामोदरप्रसाद गौतम र वडा ६ का लक्ष्मण न्यौपानेलाई ०५९ असार ११ गते गिरफ्तार गरी लगेकोमा पोषकनाथ र कृष्णप्रसादलाई पक्राउ गरेकै दिन सुरक्षा घेरा तोडी भागेको भन्ने आरोप लगाई मारेको, दामोदर र लक्ष्मणलाई यातना दिएको पाइयो । उक्त घटनामा खटिएका सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारवाही गर्न र मृतकका परिवारलाई ३ लाख तथा यातनापीडित व्यक्तिहरुलाई जनही १ लाखका दरले क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
कञ्चनपुर– रामपुर विलासपुर गाविस १ बस्ने बलिराम चौधरीलाई ०५९४१६ गते आफ्नै मेडिकलबाट पक्राउ गरी सुरक्षाकर्मीले कुटपिट गरेको कारण स्वास्थ्य अवस्था बिग्रेकाले एक लाख क्षतिपूर्ति उपलब्ध गराउन र उपचारमा लागेको खर्चसहित निःशुल्क उपचारको प्रबन्ध गर्न सिफारिस गर्ने ।
टिप्पणीहरू