बाबुबाट बलात्कार, छोरी गर्भवती

आफ्नो छोराको पक्षमा लागेर बुहारीलाई एक्ल्याउने, अनेक दुःख दिनेहरू प्रशस्तै देखिने यस समाजमा बुहारीलाई न्याय दिलाउन आफ्नै छोराविरुद्ध उभिने बाबुआमा कमै भेटिन्छन् । चितवनको भरतपुर–२९, कविलास हो उनीहरूको घर । माइती नेपाल, चितवनको कार्यालयमा सासूले नै बुहारीलाई लिएर आएकी । ‘आज पनि आएका थिए’, माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले गत असार ३१ गते भने, ‘आजका मितिसम्म केटाको बाबुआमा बुहारीकै पक्षमा छन् ।’

पहिले अर्कैसँग गएकी विमलालाई पति विरस वि.क.ले केही फरक पर्दैन भनी फर्काएर ल्याएका थिए । त्यसपछि तीनवटा बच्चा ठुल्ठूलै भइसकेको अवस्थामा अहिले श्रीमान्् अर्कै महिलासित लागेर विमलालाई लखेट्न खोजेको बताइन्छ । वैदेशिक रोजगारीमा मलेसिया छन् विरस । यता भक्तपुरतिरकी एउटी महिलासित बिहे गरी गएको कुरा छ । ती महिलाले समेत फोन गरेर विमलालाई थर्काउने गरेको माइती नेपालबाट बुझिएको छ । आफू पुलिस भएको बताउने महिलाले विमलालाई ‘विरस तेरो होइन, मेरो लोग्ने हो’ भन्दै धम्क्याउने गरेको बताइन्छ । माइती नेपालको कार्यालयबाट उपलब्ध ती महिलाको मोबाइल नं. ९८०३६७४८२४ मा सम्पर्क गर्न खोज्दा स्वीच अफ छ । मलेसियाबाट फोन गरेर विरसले बुहारीको पक्षमा लागेको भन्दै आमाबाबुलाई समेत ‘पैसा तिरेर मार्न लगाउँछु मेरो घरमा नबस’ भन्ने गरेको चर्चा छ । यसबारे प्रहरीमा पनि उजुरी परिसकेको जनाउँदै माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले निम्न वर्गकी विमलाले निःशुल्क कानुनी सहायता केन्द्रमार्फत् मुद्दा लड्न सक्ने बताए ।

यसबारे विमलासित बुझ्दा विरसले अर्काे बिहे गरेको भनिएकी महिलालाई आफूले फेसबुकमा भेटेर ‘मेरो तीन÷तीनवटा बालबच्चा छ’ भनी फोटो देखाउँदा उनले ‘दुनियाँसँग बिग्रेर, भत्केर बनाएको छोराछोरी मलाई नदेखा, म पुलिस हो, जे पनि गर्न सक्छु तँलाई’ भन्दै थर्काउने गरेको विमलाले बताइन् । विरसले ‘अर्काे बिहे गरेको छैन’ भन्ने गरेपनि ‘पैसा भए जे पनि गर्न सकिन्छ’ भन्दै आफूलाई धम्क्याउने गरेको उनको भनाइ छ । ‘पहिले तीन वर्ष जति पैसा पठाएका विरसले त्यसयता पाँच वर्ष जति भयो पैसा नपठाएको’, विमलाले भनिन्, ‘यस बीचमा एकपटक पोइल जान्छेस् भने पैसा पठाउँछु भनेपछि मैले जान्छु भनें, त्यो बेला दुईलाख ६४ हजार पठाएको थियो, म पोइल गइनँ, किन पोइल नगएको भन्दै कराएको थियो’, उनले थपिन्, ‘बालबच्चा छोडेर म कसरी पोइल जाऊँ ?, त्यो पैसा पहिले घर बनाउँदा लागेको ऋण तिरें ।’ अहिले पात, दाउरा बेचेर छोराछोरीको पठनपाठन, पालनपोषण गर्दै रहेको उनले सुनाइन् । विरसले बालबच्चाको भविष्य र आफ्नो जिन्दगी बनाइदिनुपर्ने उनको माग छ ।

निःशुल्क कानुनी सहायता केन्द्रकी अधिवक्ता गोमा न्यौपानेसित केही दिन अघि सम्पर्क राख्दा उनले विमला अहिलेसम्म आफ्नो सम्पर्कमा नआएकी, आएपनि विदेशमा भएको मान्छेलाई झिकाउन गाह्रो हुने बताइन् । ‘व्यक्तिले, प्रहरीले झिकाएर मिल्दैन, राज्यले नै झिकाउनुपर्छ’ भन्दै गोमाले थपिन्, ‘मुद्दा चलेपनि एकोहोरो चल्न सक्छ, ऊ भएको ठाउँमा पुग्दैन । म्याद तामिल सम्भव छैन ।’

माइती नेपालले हेरेको अर्काे एउटा घटना यस्तो छ– आफ्नी आमा पोइल गएकी, सौतेनी आमा वैदेशिक रोजगारीमा । यता घरमा बाबुले छोरीलाई बलात्कार गरेको । चितवनकै खैरहनी–३ को घटना हो यो । ड्राइभर बाबुको पटक–पटकको करणीबाट १७ वर्षीया छोरी गर्भवतीसमेत भइन् । यसपछि सौतेनी आमा पनि विदेशबाट आइन् । छोरीको पेटमा बाबुको पाँच महिनाको गर्भ भएको अवस्थामा सौतेनी आमा र बाबु दुवै मिलेर नारायणगढमा सामान किनिदिने भन्दै फकाएर भरतपुर ल्याए । अनि एक प्राइभेट हस्पिटलमा लगेर पाँच महिनाको गर्भपतन गराएको पाइएको माइती नेपालकी परामर्शदाता जयन्ती खनालले जनाइन् । आफूलाई औषधि ख्वाएर जीवित बच्चा निकालेपछि कहाँ लगेर के गरे थाहा नभएको पीडित किशोरीले व्यानमा भनेकी जयन्तीले सुनाइन् । ‘म आफैंले पीडित किशोरीलाई प्रहरी कार्यालयमा लिएर गएँ’, जयन्तीले भनिन्, ‘खैरहनी प्रहरीले तुरुन्तै बाबुलाई समात्यो । अहिले ऊ पुर्पक्षको लागि थुनामा छ ।’ पीडित किशोरीलाई केही समय माइती नेपालमै राखेर पढाइएको र त्यहीँबाट कक्षा ९ को जाँच दिएर पास गरेपछि अहिले ठूलोममीकी छोरीको घरमा बसेर पढ्दैछिन् ।’

माइती नेपालले नै प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको चितवनकै अर्काे घटना भने मानव तस्करीसम्बन्धी छ, जगतपुरकी महिलालाई इण्डियाको बाटो हुँदै कुवेत लैजान लागिएको थियो । एकजना पुरुष र एउटी महिलाले ठोरी नाका हुँदै सिमाना कटाउन लागेको अवस्थामा माइती नेपालको बुथले शङ्का लागी सोधपुछ गर्दा कुरा बाझिएपछि घटनामा संलग्न तीनजना पक्राउ परेका छन् । बताइएअनुसार महेन्द्र भन्ने वीरबहादुर परियार, कुमारी विक र धनबहादुर विक १०÷१० वर्षको जेल सजायँ भोग्दै छन् । पीडित महिलालाई अदालतबाट ७५ हजार क्षतिपूर्तिको फैसला भएको छ । घटनाका मुख्य नाइके नवलपरासीका शिव चौधरी भने फरार रहेको बताइन्छ ।

– अजय गोर्खाली

टिप्पणीहरू