आतंकवादीसँग लड्ने उपाय
अहिले देशमा घोषित सशस्त्र द्वन्द्व त छैन, तर यही नाममा नेपालका ३० जना सशस्त्र प्रहरीलाई तालिम दिने भन्दै अमेरिकी सेनाको एउटा टुकडी नेपाल ओर्लिने भएको छ ।
सशस्त्र प्रहरीको हकमा यसअघि अल्टिच्युड रेस्क्यु र विपद्मा मेडिकल उपचारसम्बन्धी तालिममा सिमित अमेरिकी सेनाले पहिलोचोटी विद्रोह र आतंकवादसँग लड्ने कौशल सिकाउन लागेको हो । यस्तो तालिम नेपाली सेनालाई मात्रै दिने परम्परा थियो । प्रतिआतंकवाद (काउण्टर टेरोरिज्म), प्रतिविद्रोह (काउण्टर इन्सर्जेन्सी) र विपद् व्यवस्थापन (डिज्यास्टर रेस्पोन्स) सम्बन्धी ब्यालेन्स नेल १९–४ शीर्षकको तालिम सञ्चालनका लागि प्यासिफिक कमाण्डअन्तर्गत रहेको सी १३० हर्कुलस जहाजबाट उनीहरु काठमाडौं ओर्लन लागेका हुन् ।
उक्त सैनिक टोलीले साउन २९ गते बुधबारदेखि असोज ९ गते बिहीबार, अर्थात् ४४ दिनसम्म सशस्त्रका ३० जना कमाण्डोलाई मनाङ र पोखराको विभिन्न स्थानमा तालिम दिने योजना छ । अमेरिकी सैनिक टोलीले प्रशिक्षकसहित नियन्त्रित हातहतियार, गोलिगठ्ठा तथा तालिमका लागि आवश्यक पर्ने अन्य सामान पनि ल्याउनेबारे गृहमन्त्रालयलाई जानकारी गराएको छ । गृहले साउन ५ गते सचिवस्तरीय निर्णय गर्दै ती सामानको लगत राखेर भिœयाउन दिने र पछि लगत कट्टा गरी फिर्ता लैजाने शर्तमा अनुमति दिएको हो । अमेरिकाबाट ल्याइने हतियार, गोलीगठ्ठा, सञ्चार उपकरणको लगतको प्रतिलिपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र प्रहरीमा राख्न भन्सार विभागलाई समेत सूचित गरिएको छ ।
टिप्पणीहरू