यही हो त नेकपाले ढलिमली गरेको प्रमाण ?
सरकार नेकपाको । नियुक्ति पनि नेकपाकै तर, तिनले बोक्ने मान्छेचाहिँ कांग्रेसका परे भने के होला ? अर्थमन्त्री डा.युवराज खतिवडाले ८१ वर्ष पुरानो, अर्थात् नेपालकै पहिलो नेपाल बैंकमा राष्ट्रबैंकमा ३० वर्ष जागिर खाएका, सञ्चालक समितिमा रहिसकेका र नियमनकारी काममा लागिसकेका बासुदेव अधिकारीलाई अध्यक्ष नियुक्त गरे । उनी अर्थमन्त्रीभन्दा खाँट्टी नेकपा हुन् । उनैले कांग्रेसका हार्डकोर वकिललाई लगेर कानुनी सल्लाहकार बनाइदिए । यो कुरालाई लिएर नेकपासम्बद्ध वकिलहरू रुष्ट छन् ।
नेपाल बैंकको कानुनी काममा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि संलग्न छन् । तर, उनको भूमिका तलबीमात्रै हो । प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको भाइ परेका कारण अध्यक्ष अधिकारीले अधिवक्ता विद्याकान्त अधिकारीलाई कानुनी सल्लाहकार नियुक्त गरेको आरोप छ । जबकि, बार कोषाध्यक्ष रुद्र पोखरेलसहित बालकृष्ण ढकाल, भीमसेन बञ्जारा, केदार कोइरालालगायत नेकपासम्बद्ध असंख्य बाणिज्य कानुनका ज्ञाता बेरोजगार भएर बसेका छन् । त्यहाँ लगिएका कांग्रेससम्बद्ध अधिवक्ता विद्याकान्त यसअघि स्ट्याण्डर्ड चार्टर्ड, सनराइज बैंकहरूमा काम गरिसकेका व्यक्ति हुन् ।
गत आर्थिक वर्षमा तीन अर्ब २२ करोड खुद मुनाफा आर्जन गरेको, चालु आवको प्रथम त्रैमासिक करिब ९७ करोडको हाराहारीमा खुद मुनाफा गरेको त्यहाँ कानुनी अभ्यास गर्न लालायित सबै वामपन्थी वकिलहरू अहिले हिस्सिएका छन् । सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर हिस्सा रहेको उक्त बैंकको चुक्ता पुँजी आठ अर्ब चार करोड पुगेको छ । तर, १२ लाख ग्राहकले नियमित सेवा लिने बैंक व्यवस्थापनमा वामपन्थीको उपस्थिति भए पनि अंगहरू विपक्षीको कब्जामा छ ।
– मुकेश कार्की
टिप्पणीहरू