​कास्की– २ बाट उठ्नेका कुरा

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ दुर्घटनामा मुत्यु भएपछि रिक्त कास्की क्षेत्र नं २ मा मंसिर १४ गते उपनिर्वाचन हँुदै छ । यहाँबाट रवीन्द्र्रले तीनपटक जितेका थिए । 

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियतदेखि, गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनले उनलाई चिनाएको थियो । पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति बनेका रवीन्द्र्र संसदीय विकास समितिको सभापति बनेपछि अझै चिनिए ।

कास्की–२ मा धेरैको विश्लेषण थियो, ठूलो मतान्तर हुँदैन । तर, सारा अनुमानलाई गलत सावित गर्दै झन्डै ९ हजार मतान्तरले ह्याट्रिक गरे । उनका प्रतिस्पर्धी वाकपटुता भएका थिए । रवीन्द्र्रको मिलनसार शैलीका कारण आफन्त कांग्रेसजनले समेत उनैलाई मत दिए । 
नेकपा नेतादेखि समर्थित कार्यकर्ताको पहिलो रोजाइ रवीन्द्रपत्नी विद्या नै हुन् । रवीन्द्रको निधनपछि पोखरा आएका वामदेवले नै विद्यालाई उम्मेदवारी दिनुपर्ने बताएका थिए । अहिले विद्यालाई राष्ट्रिय सभामा पठाउने र वामदेवलाई उठाउने हल्ला फैलिएपछि भने नेताहरूले मुख खोल्न सकेका छैनन् । 

नेकपा नेता सोमनाथ प्यासी पनि उम्मेदवार बन्न चाहन्छन् । रवीन्द्रका सहपाठी धनराज आचार्य पनि दाबेदार छन् । नेकपा कास्कीका सहइञ्जार्च श्रीनाथ बराल पनि आकांक्षी छन् । माधवकुमार नेपालनिकट भनेर चिनिने बराल प्रदेशसभा सदस्यको आकांक्षी थिए । पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति रश्मि आचार्यले समूह, सर्कलमा आफू पनि उम्मेदवार हुने बताइरहेका छन् । 
कांग्रेसबाट रवीन्द्रकै प्रतिस्पर्धी देवराज चालिसे दाबीको अघिल्लो पंक्तिमै छन् । यस विषयले कांग्रेस पार्टीभित्र प्रवेश पाएको छैन । उनीहरू नेकपाबाट को उठ्छ उसको काउन्टरमा को उम्मेदवार दिने भन्नेमा छन् । अघिल्ला निर्वाचनमा पटक–पटक टिकट नपाएका वीरेन्द्रनारायण बिजुक्छे पनि आकांक्षी हुन् । 

संविधानसभा निर्वाचनमा रवीन्द्र अधिकारीबाट पराजित सोभियतबहादुर अधिकारी जसरी पनि टिकट लिने दाउमा छन् । सभापति शेरबहादुर देउवाले पत्याएका कास्कीका केही नेतामध्येका हुन् । त्यसो त उनका अग्रज र देउवा पक्षकै कास्की जिल्ला अध्यक्ष खेमराज पौडेल पनि होडमा छन् । कास्की प्रदेश सभा ‘क’ मा नेकपा नेता कृष्ण थापाबाट हारेका गुरु बरालसमेत लबिइङमा छन् । कांग्रेस महासमिति सदस्य ऋषि काफ्ले पनि कुदो छन् । उनले टिकटका लागि सशांक र शेखर कोइरालामार्फत लबिङ गरिरहेको स्रोत बताउँछ ।

कास्कीका नभए पनि कांग्रेस नेता धनराज गुरुङलाई उम्मेदवार बनाउने चर्चा भइरहेको छ । गुरुङले स्याङ्जाबाट लड्ने चर्चा चले पनि अन्तिममा टिकट पाएका थिएनन् । 

कास्की–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । अधिकांश वडामा नेकपाले नै जितेको हो । निर्वाचन कार्यालय कास्कीले साउन १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरेर केन्द्रमा पठाइसकेको छ । ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको यो क्षेत्रमा निर्वाचन कार्यालयले तयारी थालिसकेको छ ।

टिप्पणीहरू