​दूध दिँदा मातागाई, थारो हुँदा बाईबाई

  • राजकुमार दिक्पाल

हिन्दूशास्त्रीय मान्यताको कट्टर आलोचनामै जीवनको उत्तराद्र्धकाल बिताउनुभयो, नेपाली राजनीतिका एक पात्र गोरेबहादुर खपाङ्गीले । पहिले माले हुँदै नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिवसम्म हुनुभयो । उहाँ हिन्दूशास्त्रीय मान्यताको घनघोर आलोचना गर्नुहुन्थ्यो । जस्तो कि, चार जातमध्येमा को कहाँबाट जन्म्यो ? हिन्दू शास्त्रीय मतले भन्छ, ‘बाहुन मुखबाट जन्म्यो, क्षेत्री छातीबाट । अनि वैश्य घुँडाबाट र शुद्र पैतालाबाट ।’

गोरेबहादुर प्रश्न गर्नुहुन्थ्यो, ‘के मान्छे जन्मिने ठाउँलाई मुख भनिन्छ ?’

उहाँको अर्को प्रश्न थियो, गाईको बारेमा । हिन्दूहरू गाईलाई माता मान्छन् । माताको पतिलाई त पिता भन्नुपर्ने हुन्छ । गोरेबहादुर शास्त्रार्थलाई अगाडि बढाउँदै भन्नुहुन्थ्यो, ‘गाईलाई माता मान्नेले गोरुलाई चाहिँ किन पिता नभनेका होलान् ?’

तत्कालीन स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरको मानवअधिकार संगठनको एक समारोहमा व्यक्त अभिव्यक्ति २०५१ सालको विपक्षीलाई सत्ता हल्लाउन ठूलै मसला भएको थियो । पद्मरत्न दाइ र गाईको सन्दर्भका कारण गृह र अरू खुशीहरू त्याग गरी जोगीजीवनमा समर्पित सन्न्यासीहरूले पनि विरोध जुलुस निकालेको देखियो, काठमाडौंको सडकमा ।

त्यो समयको ‘गाईकाण्ड’ ताकाका गृहमन्त्री अहिले ‘गाईकाण्ड’मा प्रधानमन्त्री हुनुहुन्छ ।

कुरा गजबको के छ भने जहाँबाट ती थारो गाईले ट्रक यात्राको अवसर पाई सुर्खेततिर उक्लन आधारशिविर पाए, त्यो उपमहानगरका प्रमुख पर्नुभयो, गाई चिह्न लिएरै विजयी अनि स्वयं हिन्दू दर्शनका कट्टर उपासक । जो, कुनै बेला रूखको ओझेलमुनिबाट बल्ल उन्मुक्ति पाएर झलल बलेको सूर्य चिह्न लिई त्यही नगरको जिम्मुवाल बन्नुभएको थियो । मरिचमानसिंहको ‘सेभ द नेसन’ हुँदै, त्यसलाई त्यागी त्यो बेला झलल बलेको सूर्य चिह्न लिएर विजयी बन्दै पछिल्लो समय गाईमै शरणागत मेयरज्यूको उपमहानगरबाट ती निर्दोष गाईले ट्रक यात्राको ‘सौभाग्य’ पाएर प्राण विर्सजन गर्नु र कतिपयले घाँसपानीविहीन भएर प्राणाहुति पर्खी बस्नुमा हिन्दूशास्त्रले के भन्छ ? यो अल्पज्ञानी लेखकको जिज्ञासा छ ।

त्यो वीभत्स दृश्य
अमेरिकामा गोरुको साह्रै ठूलो इज्जत छ । ‘सिकागो बुल’ भनेपछि यसबारे अरू धेरै व्याख्या गरिरहनै पर्दैन ।

कुनैबेला हाम्रो टोलमा गर्भिणी गाईबाट बाच्छीभन्दा पनि बाच्छाको अपेक्षा हुन्थ्यो, खेतबारी जोत्न पाइन्छ भनेर । गर्भिणी श्रीमतीबाट जसरी आजभोलि छोराको उत्पात अपेक्षा गरिन्छ, त्यस्तै थियो त्यो युग । तर, युग परिवर्तन भइसकेछ, आजभोलि लोग्ने र घरपरिवारका प्रायः सबै सदस्य घरमा भित्रिएकी महिला जब गर्भिर्णी हुन्छिन्, तब अपेक्षा गरिन्छ पुत्रलाभको । तर बैँश भइञ्जेल दूध दिनसक्ने गाईबाट भने आजभोलि बाच्छीको अपेक्षा गरिन्छ । यदि ती गर्भिणी गाईले बाच्छाचाहिँ जन्माइन् भने गोठधनीको अनुहारमा कालोबादल छाउँछ, बाच्छा व्यवस्थापनबारे । अनि ठेलिँदै घचेडिँदै बाच्छा सडकमा पुग्छ र उसले आफ्नो जन्ममा भोग्नुपर्ने दुःखका सबै भुक्तमान खेप्नुपर्ने हुन्छ ।

गोरेबहादुर खपाङ्गीको कथनअनुसार त बाच्छा वा भविष्यको गोरुलाई हिन्दूमतअनुसार पिता भनिनुपर्ने हो तर ती भावी पिताको सडकमा बास हुन्छ, अनि अकालमा मृत्यु ।

काम विशेषले म जहाँ पुग्थेँ त्यसको अगाडितिर द्वापरयुगकालीन एक चमत्कारी गोपालको गाथा गाइन्छ । पछाडिको फाँटमा गोपालवंशले असाध्यै माया गर्दै हुर्काउँदै ल्याएको एउटा पहाड पनि छ, गोवद्र्धन ।

भक्तपुरको राधेराधे मन्दिरमा श्रीकृष्णको गाथामा आधारित भजनकीर्तन हुने ठाउँ पछाडिको फाँटमा बाच्छाहरूलाई भुस्याहा कुकुरले आक्रमण गरिरहेको देखिन्थ्यो, सम्भवतः त्यो बाच्छाको आमा अर्थात् ‘गौमाता’ले दुई खुट्टे मनुवालाई दूध पिलाइरहेकी हुन्थिन्, त्यसबेला यता बाच्छाचाहिँ गोठधनीबाट धकेलिँदै सडकतिर पन्छाइएका कारण भुस्याहा कुकुरको भोजभतेरमा परिणत हुन्थे । यता बाच्छा ग्वाँ ग्वाँ (सायद ‘आमा आमा’) भन्दै कराइरहेको छ, उता भुस्याहा कुकुरको समूह उसका मासु लुछेर भोजभतेर गरिरहेको छ । मुस्किलले प्राणपखेरु उड्थ्यो त्यो बेवारिसे बाच्छाको । सोच्थेँ, यस्तो बेला तिनै बाच्छाको आमाले बच्चाबच्चीका लागि आफ्ना थुनमा जम्मा गरेको दूधको कति स्वाद मानी मानी पिइरहेका होलान्, गोठधनीहरू !

हुँदाहुँदा त थारो पल्टिएपछि गौमाताहरूको पनि बिजोग भएको समाचार पढ्न पाइयो ।

ढाँट्दै, रगत चढाउँदै
लिम्बूहरूमा एउटा महत्वपूर्ण देवता छ, जसलाई गाई वा गोरुको भोग अनिवार्य हुन्छ । नाम हो थेवा सम्माङ । लिम्बू भाषामा थेवा भनेको बाजे हो र साम्माङ भनेको देवता । यसअर्थमा थेवा साम्माङलाई बाजे देवता भन्दै लिम्बूहरूको आदिपुरुषको अर्थ लगाउन सकिन्छ । यिनैलाई चाहिन्छ मुन्धुममा आधारित लिम्बू अनुष्ठानमा गाई या गोरुको भोग ।

यस्तो भोगलाई ‘करङपित’ भनिन्छ । यसको अर्थ लाग्छ, कोरली गाई वा बाच्छी भोग दिनुपर्ने । तर, लिम्बूहरू गोरखालीहरूको अधीनस्थ भएपछि उनीहरूले आफ्ना कतिपय संस्कार र संस्कृतिमा परिवर्तन गर्न बाध्य हुनुप¥यो । परिणामतः उनीहरूले ‘यो नै कोरली गाई है’ भन्दै फेदाङ्मा (लिम्बू पुरोहित) मार्फत देवतालाई चढाउनु प¥यो । अहिले पनि यो चलन छँदै छ ।

अर्को कुरा गाई या गोरुको रगतै माग्ने थेवा सम्माङका लागि एक विकल्प लिम्बूहरूले तयार पारे । त्योचाहिँ गाईगोरुको रगत खाएर अघाएको किर्ना टिपी ल्याउने र थेवाको अनुष्ठानका समय त्यसैको बलि दिएर चढाउने ।

यस्तो अनुष्ठान विधि सुनेर अनि देखेर पनि ढुक्क हुनभएका मुन्धुमविद् वैरागी काइँलालाई सोधेर यी पंक्ति लेखेको हुँ । नपत्याए, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई सोध्नुस् ।

यस्तै लिम्बूवानमा गोवध प्रतिबन्ध लागेको विक्रम सम्वत १८४३ र १८४८को प्रतिलिपि यो लेखकसँग सुरक्षित छ । 

टिप्पणीहरू