​किन मार्न कस्सिए उमेश कामी ?

  • सुनिता गिरी

‘किशोर श्रेष्ठ र खेम भण्डारीलाई ५ जना साक्षी राखेर चौबाटोमा जिउँदै गाड्नू । मेरो आदेश पर्खिनू पर्दैन ।’ यो विचार आफ्नो फेसबुकमा राख्ने व्यक्तिको नाम उमेश उत्सव कामी हो । कामीले यो कुरा यसरी भनेका छन् मानौं कि उनी त्यस देशका बासिन्दा हुन् जहाँ कानुनको कुनै मूल्य–मान्यता नै छैन अथवा उनी त्यस देशको राजा हुन्  र कानुन उनको मुठीमा छ । अनि उनको आदेश सुन्नेले यसलाई तुरुन्त सिरोपर गर्छ । यो उनको आफ्नै नाम हो अथवा फेसबुकमा मात्र चलाउने फेक आइडी हो प्रविधिको प्रयोग गर्दा सजिलै थाहा हुन्छ भन्नेमा सायद उनी अनभिज्ञ छन् । हुन त उनलाई वाक स्वतन्त्रता भनेको के हो ?

कुन कुरा निर्धक्क बोल्ने अनि कुन कुरा बोल्न डराउने भन्ने पनि थाहा छैन भन्ने देखिन्छ । कसैलाई गाली बेइज्जत गर्नुप¥यो भने त्यो कुरा सीधा फेसबुक वालमा राख्नेहरूको कमी छैन यहाँ । धेरैका निम्ति फेसबुक घृणा फैलाउने सबभन्दा उत्तम माध्यम भएको छ । यो कुरा फेसबुक निर्माता मार्क जुकरबर्गलाई पनि राम्रोसँग थाहा छ । त्यसैले त फेसबुकको कार्यालयभित्र यस्तो घृणा, द्वेष, सामुदायिक सद्भाव खल्बलाउने कुरालाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती खडा छ । यदि, उनीहरूले नेपाली बुझ्थे भने सायद यस्ता वाक्य पढेर उनलाई आफ्नै सिर्जनाप्रति थक्थक लाग्दो हो ।

कामी रवि लामिछाने समर्थक हुन् र उनी रवि हिरासतमा परेको वा उनको नाम सहकर्मीको आत्महत्या प्रकरणमा जोडिएका कारण नाखुश छन् भन्ने सजिलै बुझ्न सकिन्छ । कामीले किन त्यस्तो घृणामिश्रित आवाज निकाले त भन्दा रविले पत्रकारिताको नाममा अचेल टिभी या युट्युबमार्फत आक्रोश फैलाउने बाढी चलेको छ ।  कामीका लागि रविका दुश्मन उनका  दुश्मन, रविका साथी उनका पनि साथी । रविले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र कमरेड प्रचण्डबारे राम्रो धारणा राख्दैनन् भन्ने कुरा उनको सामाजिक सञ्जाल हेर्दा थाहा हुन्छ ।  त्यो सूचीमा पत्रकार खेम भण्डारीको नाम पनि भर्खरै थपिएको छ । रविको टेलिभिजन कार्यक्रम, जनतासँग सीधा कुरा हेरेर विश्लेषण गर्नेहरूको भनाइअनुसार कार्यक्रममा उनी आफैं पुलिस, आफंै न्यायाधीश अनि आफैं अदालत हुन् । यस्तो लाग्छ– कुराकानीको कार्यक्रम नभई एउटा सानो कथा होस् र उनी कुनै फिल्ममा जस्तै व्यक्तिको भूमिका निभाइरहेका हुन् । यसमा कुनै शंका छैन कि उनी एकदमै चर्चित व्यक्ति हुन् ।  नेपालमा सेलिब्रिटी पत्रकारको चलन छैन । त्यसैले त रवि आफूलाई पत्रकार मान्दा पनि मान्दैनन् । 

००७ सालमा नेपालीले धेरै दुःख गरेर १०४ साल लामो राणाशासनबाट छुट्कारा पाएका थिए । नेपालको इतिहासमा त्यो समय कालो थियो । राणाकालमा यो जातको बाहेक अरू जातका मानिसको उन्नति पदमा भएका राणाहरूको जुत्ता आफ्नो टाउकोमा राख्न दिए मात्र हुन्थ्यो । आफ्नै जातको पनि आफ्नो रगतभन्दा टाढाको नाता परे कुनै खैरियत थिएन । जंगबहादुर राणा बहादुर भन्दा पनि बौलठ्ठीपनको कारण इतिहासमा चर्चित छन् । १७ भाइ सबैले उनको मृत्युपछि उनैको पूरा नाम आफ्नो नामको पछाडि जोडेका हुन् । राणाशासक सन्काहा थिए र कानुनको वास्ता गर्दैनथे ।  कुनै नयाँ नियम प्रचलनमा ल्याउनुप¥यो भने ठाडै आदेश दिन्थे । भनिन्छ, राणा प्रधानमन्त्री जुद्धसमशेरले १९९० सालको भुइँचालो जाँदा धेरै व्यापारीले मनोमानी मूल्य राखी सामान बेचेको कारण यस्तो उर्दी जारी गरेका थिए ‘यदि कसैले त्यसो गरेको थाहा पाएमा ४ जनालाई साक्षी राखेर काटिदिनू, मेरो आदेश पर्खनु पर्दैन ।’ अनि कालान्तरमा सबैले त्यसैलाई जंगी कानुन भन्न थाले । जंगी कानुनमा कुनै तथ्य, तर्क र प्रमाणको जरुरी थिएन । बौलाहाको कानुनमा तथ्य, तर्क र प्रमाणको मतलव हँँुदा पनि हँुदैन ।   

साउन १५ गते पत्रकार खेम भण्डारीले रविलाई जंगी पारा देखाएको भनेर सामाजिक सञ्जालमा यसरी लेखेका थिए ः ‘मैले ट्विस्ट गरेर अनुसन्धान प्रभावित भयो भन्ने तपाईंलाई प्रश्न छ– बलात्कारपछि हत्यामा चाहिने कुनै प्रमाण बाँकी छ ? के मैले ट्विस्ट गरेर ती प्रमाण मेटाएको हो ? प्रमाण नमेटिएको भए आज अपराधी घोषित गर्ने जंगेशैली देखिन्थ्यो ? दुःख त के भने तपाईं अमेरिकाबाट फर्केको मान्छे, ऊ त्यो चोर हो भनेर राणाकालमा गरिने न्यायको पक्षपाती देखिनुभयो । हामी यो विकट गाउँमा बसेका मान्छे संगतिपूर्ण न्यायको लडाइँ लड्ने, तपाईं विश्वको उन्नत लोकतन्त्रबाट फर्केको मान्छे जंगेशैलीको वकालत गर्ने । यही हो तपाईं र हामी माटोसँग सम्बन्ध भएका पत्रकारबीचको फरक ।’ 

अचम्म मान्नु पर्दैन किनभने आज रवि समर्थक व्यक्ति, उमेश कामीले नै त्यस्तो व्यवहार गरे जसको खुलासा भण्डारीले पहिल्यै गरिसकेका छन् । जंगी कानुन प्रचलनमा ल्याउन खोज्नेहरूको भीडमा अरू कति उमेश कामी जन्मिने हुन् र समाजमा कस्तो पारिपाटी बस्ने हो ? यस्तो मामलामा सम्बन्धित निकायले उपयुक्त कदम तत्काल चाल्नुपर्ने देखिन्छ । 

टिप्पणीहरू