जसको कथा पढ्दा रोमाञ्चित हुनेछ ज्यान
विश्व विजेता बन्ने सपना देखेका अलेक्ज्याण्डर महान् ग्रिसका प्रशासक थिए । विश्व इतिहासमा उनलाई कुशल र यशस्वी सेनापति मानिन्छ । मृत्युको समयसम्म करिब आधा विश्व जितिसकेका उनी २० वर्षको कलिलो उमेरमै राजा घोषित भएका थिए ।
एकपटक अलेक्ज्याण्डर कुनै कारणवश सेनापतिदेखि रिसाए र उसलाई घटुवा गरी सुवेदार बनाइदिए । केही दिनपछि काम विशेषले ती सुवेदार अलेक्ज्याण्डरकोमा पुगे । उनलाई प्रसन्न देखेर अलेक्ज्याण्डर अचम्ममा परे । उनले सोधे, तिमीलाई पहिलाजस्तै खुशी देख्छु । कुरा के हो हँ ?’
सुवेदारले जवाफ दिए, ‘श्रीमान्, म पहिलाभन्दा खुशी छु । पहिला सैनिक जवान र सानो दर्जाका सैनिक अधिकृत मदेखि डराउँथे अब उनीहरू मलाई स्नेह गर्छन् । आदर गर्छन् । अहिले मलाई उनीहरूको सेवा गर्ने अवसर मिलेको छ ।’
अलेक्ज्याण्डरले एकछिन सोचेर फेरि सोधे, ‘तिमीलाई सुवेदार बनाइएकोमा कुनै अपमानबोध भएन ?’ सुवेदारले जवाफ दिए, ‘पद महान् हुँदैन श्रीमान्, मनुष्यता महान् हुन्छ ।’
सुवेदारले बोल्ने राम्रो अवसर मिलेको अनुभव गरे । र, फेरि भने, ‘उच्च पद प्राप्त गरेर कोही अभिमानी बने, कसैलाई सताए, घुस खाए र घमण्डले मात्तिएमा त्यो मान्छे निन्दा गर्नलायक हुन्छ । सम्मान अरूको सेवा गर्नुमा, विनम्र हुनुमा र इमान्दारीपूर्वक काम गर्नुमा हुन्छ । चाहे ती सैनिक जवान होउन् वा सानो गाउँको साधारण चौकीदार ।’
अलेक्ज्याण्डरले एकछिन नियाले । ती सुवेदारको अनुहारमा पहिलाजत्तिकै सन्तोषको भाव र प्रसन्नता देखे । अलेक्ज्याण्डर पनि चानचुने मान्छे थिएनन्, मान्छेको लेखाजोखा राख्न पोख्त थिए । सेनापतिबाट सुवेदारमा झार्नुमा आफ्नो गल्ती देखे र, पिठ्युँमा धाप मार्दै भने, ‘मेरो गल्तीप्रति ध्यान नदिनू । आज मैले फेरि तिमीलाई सेनापति नै बनाइदिएँ । जाऊ, गएर काम गर ।’
उनको पूरा नाउँ हातिम बिन अब्द अल्लाह बिन साद अत टाय हो । तर, इतिहासमा हातिमताइको नाउँले प्रख्यात छन् । उनी कति प्रख्यात थिए भने ‘हातिमताइ’ कै शीर्षकअन्तर्गत हिन्दी भाषामा मात्र सन् १९२९ देखि सन् १९९० सम्म १० वटा चलचित्र बनिसकेका छन् । दर्जनौं टिभी श्रृंखला र कमिक्स निस्केको छ । हिन्दीबाहेक उनीबारे तुर्की, अरेबिक, फारसी, उर्दूलगायत अन्य थुप्रै भाषामा चलचित्र र पुस्तक निस्केको छ । पारिवारिक पृष्ठभूमि यमन देशमा बसोवास गर्ने टाय आदिवासीहरूको सरदार, त्यो बेलाका सरदारको शक्ति बादशाहको भन्दा कम हुन्नथ्यो, तसर्थ सरदारलाई सबैले ‘बादशाह’ नै भनेर संबोधन गर्थे । हातिमताइ ती बादशाहमध्ये जातीय सरदारका पुत्र थिए अनि लोकप्रिय कवि ।
इतिहासमा उनको उदारताबारे धेरै गाथा सुन्न पाइन्छ । हातिम अल टाय उर्फ हातिमताइका छोरा अदी इब्न हातिम इस्लाम धर्मका प्रवर्तक मुहम्मदका साथीमध्ये एक हुन् । हातिमताइको मृत्युको समय हजरत मुहम्मद मात्र ७ वर्षका थिए । फारसी भाषाका प्रख्यात कवि सादी सिराजीले सन् १२५८ मा लेखेको पुस्तक ‘गुलिस्तान’ मा हातिमताइबारे सविस्तार वर्णन गरेका छन् । गुलिस्तान (फूलको बगैँचा) फारसी भाषाको महत्वपूर्ण पुस्तक हो ।
यमनका बादशाह (टायहरूका सरदार) अत्यन्त बहादुर र न्यायप्रेमी थिए । भनिन्छ, उनको राज्यमा सिंह र बाख्रा एउटै नदीमा सँगै पानी पिउँथे । उनको बिहे त्यो बेलाको परम्पराअनुरूप आफ्नै काकाकी छोरीसित भएको थियो । उनीसित केही कुराको कमी थिएन । धन सम्पत्ति, हीरा जवाहरात, विशाल सेना ।
तर, छोरा जन्माउन नसकेकाले सधैं दुखी भई बस्थे, त्यो बेला बादशाहको उत्तराधिकार छोराले मात्र सम्हाल्न पाउने व्यवस्था थियो । मेरो मृत्युपश्चात बादशाह को बन्लान् ? सधैं यसै चिन्तामा डुब्दै बस्थे । उनी र पत्नी दुबै धर्मात्मा । नियमानुसार हरेक दिन पाँचै पटक नमाज पढ्थे, महिनैपिच्छे ‘रोजा’ (उपवास) बस्थे । बादशाह दम्पती प्रत्येक दिन नमाजको दौरान ‘अल्लाह’सित छोरा दिलाइदिन प्रार्थना गथ्र्याे ।
नभन्दै बादशाहकी पत्नीले गर्भधारण गरिन् । बादशाह यो खबर सुनेर गद्गद् भए । उनले मुलुकभरिकै ज्योतिषीलाई बोलाएर भने, ‘तिमीहरू सबैजना सिद्धहस्त ज्योतिषी हौ । ल, सबैले हिसाब गरेर भन जन्मिने शिशु छोरा हुन्छ कि छोरी ?’
ज्योतिषीहरू आ–आफ्नै तरिकाले हिसाब व्यस्त भए । तर, निकाल्नमा निश्कर्ष एउटै निस्क्यो । सबैले हात जोडेर भने, ‘बादशाह सलामत, हजुरको घरमा राजकुमारले जन्म लिँदै छन् । त्यो राजकुमार जसले तपाईं र सिंगो राज्यकै नाउँ उज्ज्वल पार्नेछ ।’
बादशाह दंग परे । तर, उनले सबै ज्योतिषीलाई जेलमा कोच्न आदेश दिँदै भने, ‘यदि तिमीहरूले गरेको भविष्यवाणी गलत निस्क्यो भने सबैको टाउको काटिनेछ होइन, सत्य सावित भयो भने सबैले उचित पुरस्कार पाउनेछौ ।’
राज्यका सबैजना त्यो दिनको प्रतीक्षामा बसे । सबैको मन आकुल थियो । दिन, हप्ता, महिना बित्दै गयो । ठीक समयमा खुशीको सन्देश प्रवाह भयो, बादशाहको घरमा पुत्रलाभ भयो । राज्यमा बाजागाजा चल्यो । नाचगान भयो । सबै खुशी मनाउन सडकमा निस्के । जेलमा कोचिएका ज्योतिषीहरूको ज्यान बच्यो । खुशी मनाउन तल्लीन बादशाहलाई अकस्मात् सम्झना भयो कि ज्योतिषीहरू त जेलभित्रै छन् । पुत्रलाभ भएको खुशीयालीमा सबै ज्योतिषीलाई फेरि एकपटक दरवारमा भेला हुन लगाइयो ।
उनले सबैलाई हीरा जवाहरातले भरिएको थाललगायत अन्य बहुमूल्य वस्तु उपहार दिए । अनि फेरि भने, ‘ल, तिमीहरू सबैले आफ्नो विद्या, अनुभवका आधारमा र आफ्नो दिमाग खियाएर भन कि यो बच्चाको भविष्य कस्तो हुन्छ ?’
सबैले फेरि एकपटक हिसाब गर्न थाले र निश्कर्ष निकाल्दै भने, ‘यो बालक हरेक दृष्टिकोणबाट सक्षम बन्नेछ, हाम्रो जातिको नाउँ उज्ज्वल पार्नेछ । आफ्नो सम्पूर्ण जिन्दगी असल कर्म गर्नमा बिताउनेछ ।’
ज्योतिषीको कुरा सुनेर बादशाह अत्यन्त हर्षित बने । र, छोराको नाउँ राखे ‘हातिम’ अर्थात् अत्यन्त दानी र परोपकारी । उनले घोषणा गरे कि आजको दिन राज्यभरि जति पनि बच्चा जन्मिए सबै मेरा सेवक बन्नेछन्, उनीहरूलाई यहीँ ल्याउनू किनभने उनीहरूको लालनपोषणको अभिभारा राज्यले लिनेछ ।’
त्यसदिन यमनभर ६ हजार बच्चा जन्मेका रहेछन् । बादशाहको आदेशमुताविक सबै जनता बच्चा बोक्दै दरबारमा उपस्थित भए । बादशाहले सोही दिन प्रत्येक बच्चाको निगरानी र हेरचाह गर्न ६ हजार धाइ नियुक्त गरे । हातिमका लागि चार ।
सबै खुशीयाली मनाउनमा व्यस्त थिए । अकस्मात सरदारनीको कक्षबाट खबर निस्क्यो कि हातिमले दूध पिइरहेको छैन । सबैतिर यो खबर आगोसरह फैलियो । बादशाह र उनकी पत्नीको अवस्था हेर्नलायक बन्यो । बादशाहले सबै ज्योतिषीलाई उपस्थित हुन उर्दी जारी गरे । ज्योतिषीहरू पुनः हिसाबकिताबमा जुटे । अनि बिन्ती बिसाए ‘यो समय यमनमा धेरै बच्चाले दूध पिउन पाइरहेका छैनन् । जबसम्म राज्यभरिको एउटा पनि बच्चा दूधको अभावमा भोको रहन्छ तबसम्म हातिमले पनि दूध पिउने छैनन् ।’
बादशाहले तुरन्तै देशभरि सेना परिचालन गर्न लगाए । सैनिकहरू देशको कुनाकाप्चामा पुगेर भोका बच्चाको खोजी गर्न थाले र सबैका लागि दूध उपलब्ध गराए । सैनिकहरू काम फत्ये गरेर फर्के । बादशाहले धाइआमाहरूसँग सोधे ‘के अब हातिमले दूध पिउन थाल्यो?’
हातिमले दूध पिउन थालेको खबरले सबैतिर खुशीयाली छायो । हातिम कत्तिको दयालु र परोपकारी थिए, जन्मेको समयदेखि नै अरूको उद्धार र परोपकार गर्न थाल्यो भन्ने बोध गराउन सायद यो कथा बनाइएको हुनुपर्छ । उनको जीवनीबारे, उनको दयालुपना र परोपकारी कार्यबारे यस्ता सयौं सत्य, कैयौं मनगढन्ते किस्सा सुन्न र पढ्न पाइन्छ ।
टिप्पणीहरू