​जन्मदिनसँग यिनलाई जोडौं

  • नमस्कार शाह

सबै जनालाई आफ्नो जन्मदिन विशेष लाग्छ । मान्छेको आकार र धेरै जिम्मेवारी लिएर सुन्दर शरीर लिएर जन्मिएको दिन, ममतामयी आमाको पहिलो माया पाएको अनि यो सुन्दर संसार हेर्न पाएको दिन । जन्मदिनमा भोजभतेर गर्ने, पिकनिक जाने, साथीहरूसँग बसेर धेरै खर्च गर्नेजस्ता काम आजकल सामान्यजस्तै बनिसकेको छ । जन्मदिन उत्सव हो मनाउनु पर्छ, यसलाई परोपकारी कार्य र सामाजिक कार्यलाई जोड्न सकियो भने त्योभन्दा महान् कार्य अरू केही हुन सक्दैन । 

मैले पनि आफ्नो जन्मदिन धेरै वर्ष साथीभाइ जम्मा गरेर मनाएँ । साथीभाइ, अग्रज आउँथे, शुभकामना दिन्थे, अर्काे वर्ष मेरो जन्मदिन भुलिहाल्थे । फेरि सम्झाएर बोलाउनुपथ्र्याे, केही वर्ष यही क्रम चल्यो । पछि यो कार्य फजुल लाग्यो र जन्मदिन मनाउन छाडेँ । नेपालगञ्जको रंगशालापछाडि सधैं सिक्रीले बाँधिन बाध्य नरु इस्लाम खाँलाई लत्ता, कपडा प्रदान गरेर सामाजिक कार्य जन्मदिनमा शुरु गरेको थिएँ । यसबीच, मिर्गाैला रोगबाट प्रभावितलाई सहयोग गरिसकेको छु भने ३÷४ वर्षदेखि रक्तदान गर्दै आएको छु । यी कुनै ठूला कार्य होइनन्, सामान्य हुन् तर यसको सन्देश महत्वपूर्ण छ भन्ने अभिप्रायः मात्रै हो । म कार्यरत संस्था बासमा आबद्ध धेरै साथीले यस कार्यलाई निरन्तरता दिएका छन् । पूर्वमहासचिव सुरेन्द्र शाहीले भेरी वृद्धाश्रमलाई १ महिना पुग्ने खाद्यान्न सहयोग गरे । उपाध्यक्ष लुना बुढाथोकी हरेक वर्ष रक्तदान गर्छन् ।

बासकी पूर्व लेखाअधिकृत प्रतीक्षा गिरीले दृष्टिविहीन बालबालिकालाई नङकट, वृद्धाश्रमलाई फलफूलदेखि लिएर प्लाष्टिकमुक्त शहरका लागि कपडाका झोला वितरण गरेकी थिइन् । पूर्व केन्द्रीय सचिव मञ्जु बोहराले आफ्नो दाइको जन्मदिनको अवसरमा बाँके नेत्रहीन संघमा आश्रित बालबालिकालाई लत्ता–कपडा वितरण गरिन्् । बास काठमाडौं शाखाकी कोषाध्यक्ष जुना भण्डारीले समाज विकास तथा प्रवद्र्धन केन्द्रमा आश्रित बालबालिकालाई न्यानो कपडा उपलब्ध गराइन् । मेरो बहिनी शकुन्तलाले पनि समाज विकास तथा प्रवद्र्धन केन्द्रका बालबालिकालाई स्टेशनरी बाँडेकी थिइन् । बासकी केन्द्रीय सदस्य दिला शाहले बुबाआमाको सम्मानमा स्थापित परोपकारी अक्षय कोषबाट विपन्न बालबालिका र उपचारमा आर्थिक अभाव भएका व्यक्तिलाई सहयोग प्रदान गर्दै आइरहेकी छन् । बासका अध्यक्ष रमेश सिटौलाले यस वर्षको जन्मदिन निलसागर वृद्धाश्रम र कोहलपुरको त्रिभुवन माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई एकछाक खुवाएर मनाए । नेपालगञ्जकी पत्रकार करुणा शाहले पनि विगत वर्षदेखि जन्मदिनमा सामाजिक कार्य गर्दै आएकी छन् । 

बासले केही वर्षदेखि जन्मदिन शुभकोषमार्फत् परोपकारी अभियान सञ्चालन गरेको छ । बाढीपीडित, अग्निपीडितलाई राहत प्रदान गर्नुका साथै अपांगता भएर जीवन व्यतीत गर्न असहज भएका व्यक्तिहरूलाई समेत आर्थिक तथा भौतिक सहयोग गर्दै आएको यस संस्थामा आबद्ध पदाधिकारी तथा सदस्यहरूले आफ्नो जन्मदिनलाई पृथक् रूपले मनाउँदै आएका छन् । अहिले देशभर ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिकालाई केही सहयोग प्रदान गर्ने काम भइरहेको छ । 

जन्मदिन कसरी मनाउने नितान्त व्यक्तिगत कुरा हो तर भोज–भतेर, पार्टी फजुल हुन्, क्षणिक हुन् भन्ने मेरो बुझाइ छ । साथीभाइको जमघट आफैंमा सकारात्मक कुरा हो, जन्मदिनमा केही खानै हुँदैन, रमाइलो गर्नै हुँदैन भन्ने होइन, गर्न सकिन्छ तर यसलाई खर्चिलो, भड्किलो बनाउन हुँदैन, मितव्ययी बनाउनुपर्छ । जन्मदिन मनाउने नाममा विभिन्न खाले विकृति, विसंगति हाबी भइरहेका छन्, हरेक व्यक्तिको जन्मदिन महँगो हुँदै गएको छ । जन्मदिनको नाममा दारु पार्टी भइरहेका छन् । जन्मदिन मनाउने र सहभागी हुने दुवैलाई खर्च व्यवस्थापन गर्न सास्ती छ । यसलाई कम गर्दै अब जन्मदिनलाई परोपकार, सामाजिक सेवातिर जोड्न जरुरी छ । 

हरेक व्यक्तिले आफ्नो जन्मदिनमा रक्तदान गर्ने हो भने नेपालका कुनै पनि रक्तसञ्चार केन्द्रमा रगत अभाव हुुँदैन र कसैले ज्यान गुमाउनु पर्दैन । हरेक व्यक्ति त सम्भव नहोला, धेरैले जन्मदिनको खर्च कटाएर केही न केही सामाजिक कार्य गरे भने कति धेरै मानवीय कार्य होलान् सहजै अनुमान गर्न सकिन्छ । 

टिप्पणीहरू