तलको चिन्ता, भित्रको चेतावनी

  • विदुर खड्का

पार्टी एकताको डेढ वर्षमा धेरैजसो संगठनका आधीसरो एकताको काम सकिएको छ । केन्द्रीय समिति बनेको छ, नौ सदस्यीय सचिवालय बनेको छ, विधानमै नभएको उपाध्यक्ष पनि बनाइएको छ तर पोलिटब्युरोको पत्तो छैन । केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र तथा क्षेत्राधिकार तोकिएको छैन । विभाग बनेका छन्, संयोजक÷सहसंयोजक पनि तोकिएका छन् तर सदस्य चुनिएका छैनन् ।

केन्द्रीय निर्वाचन, अनुशासन र लेखा आयोगका संयोजक र सदस्य रिक्त छ । केही जनवर्गीय संगठनका केन्द्रीय समिति बने तर पत्रकार, विद्यार्थी, महिलालगायत संगठनमा अहिलेसम्म संयोजक र सहसंयोजक मात्रै तोकिएको छ । प्रायः कुनै पनि वर्गीय संगठनको प्रदेश र स्थानीय संगठन बनेका छैनन् । पार्टीको केन्द्र, प्रदेश र स्थानीय कमिटी प्रायः बनेका छन् । तीन नम्बर प्रदेशमा सचिवालय र विभाग पनि बने । संयोजक र सहसंयोजक छानिए तर भूगोलतर्फ निर्वाचन क्षेत्र र स्थानीय कमिटीका इञ्चार्ज÷सहइञ्चार्ज तोक्न सकिएको छैन । यसरी जिम्मेवारी दिँदा कसैलाई दोहोरो÷तेहोरो थोपरिएको छ भने कसैलाई अहिलेसम्म केही पुछनी छैन । काठमाडौं जिल्लामा नौ जना केन्द्रीय सदस्यलाई सहइञ्चार्ज तोकिएको छ भने निर्वाचन क्षेत्र र नगरमा कुन कमिटीकोलाई इञ्चार्ज तोक्ने भनेर न विधानलाई पछ्याउन सकिएको छ न त माथिले कुनै निर्णय दिन सकेको छ । जसले पार्टीका दैनिक गतिविधि र उपनिर्वाचनलाई समेत प्रभावित पार्ने देखिन्छ । 

यो त भयो पार्टी एकताभित्र भइरहेका कामको शब्दचित्र । सांगठानिक एकता जेनेतेन भइरहेको छ । तर, के यही गतिमा दुईवटा पार्टीका मानिसबीच भावनात्मक एकता पनि भइरहेको छ त ? के दुई पार्टीका नेताको मनभित्रैबाट एकता अभिव्यक्त भएको छ ? के एकले अर्कोलाई, एकले अर्कोको विरासत, संघर्ष, हिजो, सकार, नकार, विचार, विधि यावत् कुरालाई मनभित्रैबाट खुला हृदयले बहस गर्दै स्विकारेको छ ? घटनाक्रम, मनोविज्ञान र त्यसबाट उत्सर्जित बोली–व्यवहारले गम्भीर संशय पैदा भने गरेकै देखिन्छ ।

नेतृत्वको पहिलो रोहमा रहेका नेतालाई बाँकी जिन्दीमा पार्टी र सरकारको उपल्लो पदीय मोहले विविध निर्णयमा प्रभावित पार्छ होला । निर्णय लिने, त्याग गर्ने र हृदय फराकिलो पारेर हेर्ने कुरामा जिन्दगीको समय अभावका कारण फुर्सद नमिलेको पनि हुन सक्छ । तर, राजनीतिमा लागेका युवापंक्तिलाई उनीहरूले लिने निर्णय, गर्ने व्यवहार र बोलीले धेरै लामो समयसम्म प्रभावित पार्ने हुन्छ । अग्रज नेतृत्वले गर्ने राम्रा वा नराम्रा कामको भागीदार त्यसपछिको पिंढी हुनुपर्छ, समय र जनताले भोग्नुपर्ने हुन्छ ।

त्यस कारण वर्तमानमा जुँगाको लडाइँ लड्दै गर्दा, पदको रक्षाका लागि तर्कका पहाड चुल्याउँदै गर्दा, विचारको बहानामा वर्चस्वको दम्भ देखाउँदै गर्दा, कुण्ठा र कथित जितको नाममा एकले अर्कोलाई निषेधको पर्खाल ठड्याउँदै गर्दा, सामन्ती मपाइँत्व रक्षाका लागि संघर्षको गर्विलो इतिहासलाई बलात्कार गरिरहँदा अघिल्लो रोहमा बसेका नेताहरूको यस्ता मनोरोगको शिकार सिंगो देश, युग र पिंढीले चीरकालसम्म सराप्दै भोग्नुपर्ने हुन्छ । वर्चस्वको राजनीतिभित्र हुर्कने यस्ता खराब संंस्कारयुक्त गतिविधिलाई कुनै विधि, विचार वा वादको रोगनले प्रमाणित गर्न सक्दैन । धोका, मक्कारी, विश्वासघात, छलकपट, लाचारी र अस्थीरता राजनीतिमा दीर्घकालीन राम्रो परिणाम दिने हतियार होइनन्, अन्ततः यिनले राजनीतिक विर्सजनको संघारमा पु¥याउने निश्चत छ । यसको उदाहरण नेपालकै राजनीतिमा पनि धेरै छन् । 

माओवादी केन्द्र र एमाले पार्टी एकता प्रक्रियामा आउनुपूर्व दुवैका आ–आफ्नै सवल र दुर्वल पक्ष थिए । विचार, नीति, विधि, संगठन र नेतृत्व सही हँुदैनथ्यो भने ०५२ सालमा ६५ जनाबाट हतियारबद्ध जनयुद्ध शुरु गरेको माओवादीले ०६२ सालसम्म आइपुग्दा राजतन्त्रविरोधी आन्दोलनलाई काँध थाप्ने र ०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्षतर्फ बहुमत प्राप्त गर्ने हैसियत ल्याउने थिएन होला । यसैगरी, संगठन, विधि, नेतृत्व र विचारमा प्रतिबद्धता थिएन भने ०६४ सालमा तेस्रो र ०७४ सालको चुनावमा पहिलो पार्टी बन्ने हैसियत प्राप्त हुन गाह्रो पथ्र्यो एमालेलाई । 

सकारात्मकतासँगै यी दुवै पार्टीमा हुर्किंदै गएको नकारात्मकताका कारण जसरी एमाले २०६४ सालको चुनावमा निरीह बन्नुपरेको थियो, ०७० सालको चुनावमा त्यही हविगत माओवादीले पनि भोग्नुप¥यो । विचार, संगठन र हिरो नेताहरूको जतिसुकै फुइँँ लगाए पनि त्यसअनुसार जनजीवनसँग प्रत्यक्ष जोडिएका काम ग¥यो कि गरेन भन्ने कुरा हेरेर जनताले साइज निर्धारण गर्ने अहिलेसम्मको चुनावले देखाएको सत्य हो । जसरी ०६४ सालमा ठूलो पार्टी हुँदा माओवादीले दम्भ गर्नु गलत थियो, त्यसैगरी ०७४ सालको चुनावमा माओवादीसँग एकताको बलमा बढी सिट जितेको पूर्वएमालेले अहिले घमण्ड देखाउनु झनै ऐतिहासिक महाभूल हुनेछ । त्यो दम्भ पार्टी एकतामा सघन रुपले हाबी भएको छ । यसैका कारण पार्टीको विभिन्न तहका एकता प्रभावित भइरहेका छन् । राष्ट्रिय समृद्धि र आर्थिक विकासको महान् अभिभारा बोकेको पार्टी र सरकार सञ्चालनमा यति गम्भीर व्यवधान पैदा हुनु पक्कै पनि शुभसंकेत होइन ।

 चुनाव भनेको यस्तै हो । एकपटकको परिणामले कसैलाई दीर्घजीवन प्रदान गरेको हुँदैन । त्यसलाई कायम राख्न आफ्नो काम, राजनीति, इन्द्रीय, सहयोगी, प्रतिपक्षी र प्रतिस्पर्धीलाई ठीक ठाउँमा राखेर ठीक–ठीक व्यवहार गर्न सक्नुपर्छ । 

जसरी केही मानिसमा प्रचण्डलाई ओलीले बाँचुञ्जेल सेकेण्ड बनाउने भए भन्ने चिन्ता देखिन्छ, त्यसैगरी अर्काथरीमा कुनै पनि हालतमा पूर्वमाओवादी नेतृत्वलाई पार्टी र सरकार केहीको पनि नेतृत्व दिनु हुँँदैन भन्ने अठोट रहेको देखिन्छ । यी दुवै मनोरोगले अन्ततः पार्टीलाई कहाँ पु¥याउला ? यसको जवाफ फेसबुके र युट्युबेहरूले सडक र माइकबाट दिने निरीह दिन नआउला भन्न सकिन्न । 

पार्टी एकताको आधाउधी काम नसकिँदै हिजोकै शैलीमा गुटबन्दी गर्ने, निशेध गर्ने, आरोप–प्रत्यारोप गर्ने, पेल्ने, हेप्ने, मै हुँ भन्ने, अरूलाई भुसुनासरह पनि नगन्ने प्रवृत्ति देखाइरहने हो भने पार्टी एकतापछि पनि दिन सुखद हुने देखिँदैन । विचारको कलेवरमा संघर्षको इतिहासमाथि नै प्रहार केन्द्रित गरेपछि त फेरि उही दूधको दूध, पानीको पानी नहोला भन्न सकिन्न । यो जनताको चेतावनी र चिन्ता दुवै हो । 

टिप्पणीहरू