​यस्तो अपमान सहनु भन्दा त…

कोही भए, आज बहाली, भोलि नै काठमाडौंको सरकारी निवासमा हालिमुहाली । कोहीचाहिँ ‘आऽऽ, तिम्रा बिदाइ–सिदाइ चाहिन्न, भो…’ भन्दै घरतिर लुरुलुरु !

सरकारले ‘सरप्राइज’ को शैलीमा प्रदेश प्रमुख फे¥यो । त्यसले जाने र आउनेहरुमा अनेकन रमिता चलायो । कुरा शुरु गरौँ, हटाइएका प्रदेश प्रमुखहरुबाट ।

‘ए भाइ, तिमी कानुन मन्त्री त भयौ । तर, कानुन–सानुन केही जान्नु, बुझ्नु पर्दैन ? के हो यो तरिका, हँ !’ 

दशैँअघि (असोजमा) भैंसेपाटीस्थित सातै प्रदेशका प्रमुखहरुको अस्थायी आवासका रुपमा सरकारी निवासको शिलान्यास भयो । मर्यादाक्रममा संघीय सरकारका मन्त्रीभन्दा माथि प्रदेश प्रमुख तोकिएको छ । तर, उनीहरुका लागि तयार पारिएको भवनको शिलान्यासमा उनैलाई मञ्चको मुनि राखिएपछि फायर भए, प्रदेश १ का तत्कालिन प्रमुख प्रा.गोविन्द तुम्वाहाङ । प्राध्यापन गरेर आएका, सबै मन्त्रीलाई भाइ भन्छन् । त्यसमाथि कानुन मन्त्री भानुभक्त ढकाल उनकै चेला । उनले आफूलाई मञ्चमा बोलाइयोस् भनेका थिएनन् । कम्तिमा ३ नं. प्रदेशमा कार्यक्रम हुँदा त्यहाँको प्रदेश प्रमुखसम्मलाई मञ्चमा बोलाइदेऊ भन्ने माग थियो । तर, अनुराधा कोइराला पनि मुन्तिरै थिइन् । भानुभक्तभन्दा पहिला शहरी विकास मन्त्री इस्तियाक राइनसँग तुम्बाहाङको ‘परिसकेको’ थियो । ‘कति पढ्या छौ ए, तिमीले…’ भन्दै इस्तियाकलाई ‘तँ’ सम्म लगाए । भौतिक योजना मन्त्री रघुवीर महासेठले सम्झाउन खोज्दा पनि सकेनन् । अर्को सरकारले नियुक्त गरेको भनेर हो वा अरु कुनै कारणले हो, संघीय सरकारका मन्त्री त के खरदारले पनि ‘रेस्पोन्स’ गरेनन् भनेर प्रदेश प्रमुखहरु दिक्दार थिए । 

सुदूरपश्चिमका मोहनराज मल्ल एक वर्षदेखि निमोनिया बिग्रनाले भारतमा उपचार गराइरहेका छन् । व्यथाले च्यापेपछि गत वर्ष धनगढीबाट जहाजमा काठमाडौंस्थित प्रहरी अस्पताल, त्यहाँ पनि नभएर भारतको मेदान्त अस्पताल पु¥याइयो । बर्खास्तीमा परेको समाचार अस्पतालको शैयामै सुन्नुप¥यो । उनको उपचारका लागि सरकारी कोषबाट ४० लाखभन्दा बढी खर्च भइसकेको छ । तिर्न बाँकी ८० लाख भन्दा बढी छ । बर्खास्त भएपछि कसले तिर्ला खर्च, चिन्ता बढ्यो । स्वास्थ्यले साथ नदिँदा प्रदेश संसद अन्त्य गराउन पनि उहीँ लगेर सही गराइयो । गण्डकी प्रदेशका प्रमुख तथा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरले पटक–पटक राजीनामा दिन्छु, बाहिरै बसेर धेरै पैसा कमाउथें भनेकै थिए । 
प्रदेशको समसामयिक विषयमा प्रदेश प्रमुखले राष्ट्रपति र प्रधानमन्त्रीलाई अनौपचारिक ब्रिफिङ गर्नुपर्ने व्यवस्था छ । तर, कसैले एक दिन पनि प्रधानमन्त्रीसँग भेट पाएनन् । र, हटाउँदा पनि सुइँको पाएनन् । मागिएको भए राजीनामा दिन तयार थिए ।

मुख्यसचिव लोकदर्शन रेग्मीले गण्डकीका बाबुराम कुँवर र कर्णालीका दुर्गाकेशर खनाललाई आफँैले फोन गरेर ‘तपाईंहरुलाई आज हटाउनेजस्तो कुरा चल्या छ है’ भनी सुनाएका थिए । एकैचोटि ४ बजे राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालको वक्तव्य हेरेर आफ्नो पद गएको खबर पाए । त्यसबेला कर्णालीका दुर्गाकेशर सुर्खेतस्थित निवासमै थिए । ५ नं. का उमाकान्त झा छठ मान्न काठमाडौं हुँदै जनकपुर जान तयारी गर्दै थिए । गण्डकीका बाबुराम पोखरा निवासमै थिए । अनुराधा कोइराला काठमाडौंमै थिइन् । हेटौंडा गएर ‘धन्यवाद्’ सम्म भनिन् । प्रदेश २ का रत्नेश्वरलाल कायस्थको भोलिपल्टै बिदाइ भयो । १ का गोविन्द तुम्वाहाङ हटाइएको खुशीयालीमा ‘मलाई बधाइ छ’ को भाका मिसाएर साथीहरुलाई फोन गर्नमा व्यस्त थिए । उनलाई मुख्यमन्त्रीले मायाको चिनो दिएर बिदाइ गरे । कर्णालीका दुर्गाकेशर आफैँ निवासबाट निस्किएर लुरुलुरु हिँडे । अलि पर पुगेपछि प्रदेशका प्रमुख सचिव केवल भण्डारीले फोन गरेर ‘हजुरलाई यसो बिदाइ गर्नुपर्ने…’ भन्दै थिए । जवाफ दिए, ‘बसुञ्जेल वास्ता गरेनौ । अब हिँडेपछि के को चेपारो घस्छौ…† आऽऽ, तिम्रा बिदाइ–सिदाइ चाहिन्न, भो…म हिँडे †’ सुर्खेतबाट साँझको बुद्ध एयर चढेर उसै दिन काठमाडौं ओर्लिए । 

मुख्यमन्त्री शंकर पोखरेलले ‘के, कसो भयो, माइण्ड नगर्नुहोला’ भन्दै खादा ओढाएर उमाकान्त झालाई बिदाई गरे । हटाइएको भोलिपल्ट बुटवल पुगेका उमाकान्त पर्सिपल्ट काठमाडौं फर्किनासाथ ससुरा महन्थ ठाकुरको स्वास्थ्यबारे सोधखोज गर्न थाले । प्रदेश २ ले त जाने र आउने दुबैलाई भव्य सलामी गारद अर्पण गरेर स्वागत र बिदाई ग¥यो ।

नयाँ प्रदेश प्रमुखमध्ये पहिला प्रदेशमा हाजिर हुने र सबभन्दा पहिला काठमाडौंमा आराम गर्न आइपुग्नेमा परिन्, सुदूरपश्चिममा नवनियुक्त शर्मिला त्रिपाठी । भोलिपल्ट दिउँसै धनगढी पुगिन् । सोमबार नियुक्ति भयो, मंगलबार शपथ थियो । विहान शपथ भयो, ११ बजे प्रधानमन्त्रीले सामुहिक भेटघाटका लागि बोलाउनुभयो । त्यही दिन सबै नेतासँग सामुहिक भेटघाट भयो । तर, माधव नेपालले बुधबार विहान ११ बजेको समय दिनुभएकाले उहाँलाई भेटेपछि मात्रै उनीहरु आ–आफ्नो प्रदेश जाने सुरसार कस्न थाले । यसमा छिटो भइन्, सबैभन्दा टाढा पुग्नुपर्ने शर्मिला । ५ का धर्मनाथ यादव आधा दर्जनको हुल लिएर बहाली हुन प्लेनबाट भैरहवा झरे । २ का तिलक परियार जनकपुर ओर्लिंदा मुख्यमन्त्री लालबाबु राउत गद्दीहरु उपेन्द्र यादवलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । संयोगले नयाँ प्रदेश प्रमुख पनि स्वागतमा परे । तिलक काठमाडौंबाट जनकपुर झरे पनि उनकी छोरीले बाँकेबाट बोलेरो गाडीमा बन्दोबस्तीका सामान लिएर गइन् । १ नं. प्रदेशका सोमनाथ अधिकारी ‘प्यासी’ पनि उही दिन विराटनगर पुगे । नियुक्त भएका प्रदेश प्रमुखमध्ये सबभन्दा बृद्ध हुन्, ३ का विष्णु प्रसाइँ, उमेर ७८ । ठम्ठमी हिँड्छन् । तर, ५ का ७६ वर्षीय धर्मनाथ यादव अरुको सहाराबिना हिँड्दैनन् । खाना पनि डाइनिङमा हैन, ओछ्यानमै पु¥याउनुपर्ने अवस्था छ । बहाली हुँदैमा भने, ‘मलाई यो पद के हो ? थाहा छैन । नचिताएको पद पाएँ । चाहियो भनेर कसैसँग मागेको पनि थिइनँ । तपाईंहरुले सहयोग गर्नुप¥यो । मलाई त केही आउँदैन ।’ 

सुदूरपश्चिमकी शर्मिलाचाहिँ बहाली धनगढीमा भएको भोलिपल्ट विहानै काठमाडौंका लागि उडिन् । भैंसेपाटीस्थित सरकारी आवास पुगिन् र आफ्नो बसोबासको व्यवस्था मिलाएर त्यही दिनदेखि बस्न थालिन् । ५ का धर्मनाथ आज बुधबार सिराहामा हुने सम्मानका लागि भन्दै हिजो बुटवलबाट हिँडे । गण्डकीका अमिक शेरचनले सोमबार भैंसेपाटीको सरकारी क्वार्टर हेरेका छन् । ३ का विष्णुले क्वार्टर आइतबार नै बुक गरिसके पनि हिजो दिउँसोसम्म बस्न थालेका छैनन् । १ का सोमनाथचाहिँ विराटनगरमै छन् । 

प्रदेश प्रमुखले १२ जनासम्म कर्मचारी राख्न पाउने कानुनी व्यवस्था छ । अहिले सातै प्रदेश प्रमुखको कार्यालयमा सचिव पद खालि छ । संघीय सरकारका सहसचिव हो, त्यहाँ सचिव भएर जानुपर्ने । १८ जना कर्मचारीको दरबन्दी आजसम्म कुनै पनि प्रदेशमा पूर्ति हुन सकेको छैन । सुदूरपश्चिम र कर्णालीमा शाखा अधिकृतले निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन् । बाँकी पाँच वटा प्रदेशमा उपसचिव निमित्त सचिव छन् । आर्थिक अधिकारसहितको जिम्मेवारी पाउने सहसचिवको काम शाखा अधिकृतले गर्नुपर्ने अवस्था छ । यति कुरा बुझेपछि संघीयता कुन हालतमा रहेछ प्रष्टै हुन्छ ।

टिप्पणीहरू