उपेन्द्रले छाडे कसको आगमन ?
सत्तासुख एकातिर छ । डा.बाबुराम भट्टराई अनेक तरहले त्यहाँबाट फिर्ता आउनुपर्ने भनी पेलिरहन्छन् । राजपाले पनि फिर्ता नभएसम्म एकताको कुरै नगर्ने भनेर टारिसकेको छ । तर, उपेन्द्र यादवको खटाएको ठाउँमै गएर खुम्चिनुपर्ने मजबुरी फरक छ ।
उनी दिल्लीमा भएको बेला पारेर त होइन, तर यता मन्त्रिपरिषद् पुनर्गठन त्यही संयोगबीच भयो । बिनासल्लाह भएको पुनर्गठनले उनलाई स्वास्थ्य तथा जनसंख्याबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयतिर सरुवा गरिदियो । उनका सहयात्री इस्तियाक राइन शहरी विकासमा यथावत रहे, जहाँ उनलाई ‘चेक’ गर्न काठमाडौं– ७ का नेकपा सांसद रामवीर मानन्धर राज्यमन्त्रीको रुपमा पठाइएका छन् । र, स्वास्थ्यबाट अर्का सहयोगी राज्यमन्त्री सुरेन्द्र यादवलाई निकालिएको छ । उपेन्द्र स्वभावतः उपचुनावपछि यो सरकारमा सामेल हुँदैनन् भनिएकोमा उनले यसबीच टिकिरहने निर्णय गराइसकेका छन् ।
राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म, पार्टीका अनेकन शीर्षस्थ नेताले समेत गरेको आग्रह नमानी संविधानतः संसदलाई रिक्त राख्न नहुने अडानसहित उपसभामुखबाट राजीनामा नदिएकी शिवमाया तुम्बाहाम्फेलाई बुधबार दिनभरि कानुन मन्त्री बनाउने गरी सूचीमा नाम उल्लेख थियो । दबाब दिनेहरुले ‘पहिला राजीनामाचाहिँ दिइहाल्नुस् न’ मात्रै भन्दै रहे । उनले सूचना पाइन्, कानुनमन्त्रीमा नाम आइसकेको । शिवमायाको एउटै प्रश्न थियो, ‘मलाई सभामुख बनाउनै नहुने कारण के छ ?’ यसको जवाफ कसैले दिएनन् । एवंप्रकारले मन्त्रिपरिषद् पुनर्गठन भयो, उनी त्यसमा परिनन् । उपेन्द्रले सरकार छाडेमा उनलाई सो मन्त्रालयमा पठाइने तयारी रह्यो ।
कथं, शिवमायाले त्यो अफर पनि स्वीकारिनन् भने उपेन्द्र निस्केको अवस्थाको विकल्पमा अर्को जुक्ति निकालिएको छ । यो पुनर्गठनमा सोधखोज नै नगरिएका वरिष्ठ नेता माधव नेपाललाई सेक्न पाइने, खुशी पारेजस्तो हुने र कोटा पु¥याएको भनी कार्यकर्ता पंक्तिमा प्रभाव पार्न सकिने गरी उहाँका सम्धी सोमप्रसाद पाण्डेलाई कानुन मन्त्री बनाइदिने । शहरी विकासमा चाहिँ यसपटक पेन्डिङमा राखिएका नाममध्येबाट पठाउने सोच बनेको बुझिन्छ । पेन्डिङवाला मन्त्री हुन्, सुरेन्द्र पाण्डे, प्रेम आलेमगर, टोपबहादुर रायमाझी, जनार्दन शर्मा या महेश बस्नेत ।
यसप्रकार धेरै कुरा सोची–विचारीकन उपेन्द्रलाई हातखुट्टा बाँधेर (राज्यमन्त्रीविहीन) कानुनमा ठेलिएको हो । कानुन मन्त्रालय दिइँदा महान्यायाधिवक्ता कार्यालयसँग सोझै सरोकार जोडिन्छ । त्यसले रौतहट काण्ड नब्युँताउला भन्ने ग्यारेण्टीका रुपमा पनि आश्वस्त तुल्याउन लागिएको भन्ने पनि पर्न सक्छ । तर, सोह्रै आना उनको हुर्मत लिइएको हो भनेर पार्टीभित्र चर्चा हुने गरेको छ ।
टिप्पणीहरू