विमानस्थलबाट २५ किलो चाँदी बरामद, झोलाभित्र लुकाएको एक्सरेले देखायो
बाराबाट काठमाडौँतर्फ चाँदी पठाउन खोज्ने दुई युवा समातिएका छन् । कपडाको झोलाभित्र लुकाएर पठाउन लागिएको झण्डै २५ केजी चाँदीसहित दुई जना पक्राउ परेका हुन् । उनीहरु विमानस्थलसम्म उक्त चाँदीका गरगहना कुरिअर गर्न आएका थिए ।
प्रहरीले बताएअनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१५ का ३० वर्षीय ओम प्रकाश साह सोनार र बारा घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ बस्ने ३२ वर्षीय अजय कुमार सर्राफ रहेका छन् । उनीहरुले २४ केजी ९६० ग्राम चाँदी कुरिअरमार्फत काठमाण्डौं पठाउन थालेका थिए ।
विमानस्थलमा एक्सरे गरि मेटल जाँच गर्ने क्रममा झोलाभित्र लुकाएर पठाउन लागिएको चाँदीका गरगहना फेला परेका थिए । पठाउन लागिएका गरहनाको बिलसमेत शंकास्पद देखिएपछि कुरिअर गर्न आएका सोनार र सर्राफलाई समातिएको प्रहरीको भनाई छ ।
पक्राउ परेकालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू