सशांकले छाडेकै हुन् र साथ ?
कम्तीमा वर्षदिनयता साथ दिँदै आएका महामन्त्री सशांकले अकस्मात् साथ छाडेपछि कांग्रेस सभापति देउवालाई अप्ठ्यारो आइलागेको छ । साथ पनि किन दिउन् त ? पार्टीका विभाग, शुभेच्छुक संस्था आदिमा थपघट गर्नुपर्दा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सक्नुपर्ने प्रावधान विधानमा रहेकोमा देउवाले भने अर्काे महाधिवेशन हुन दुई महिना बाँकी रहँदा काम फत्ये गरेपछि सशांक मात्र होइन अरू कसैले पनि साथ दिने कुरा भएन ।
वर्ष दिनयता महामन्त्री सशांकको कोइरालापक्षीय नेता भनिएका रामचन्द्र पौडेलभन्दा बढी देउवासँग हिमचिम थियो । मुखले प्रस्ताव नै नराखेको भए पनि देउवाले सशांकलाई सभापतिमा सघाउने र महामन्त्रीमा आरजु देउवालाई स्थापित गर्ने संकेत गरेका थिए । त्यसैले सशांक पौडेलभन्दा पनि कोइरालाको समूह मिलाउने काममा व्यस्त थिए । वर्ष दिन यतातिर हेर्ने हो भने कोइरालापक्षीय नेताको लञ्च बैठक सुजाता कोइरालाकोमा धेरै पटक बसेको छ । खानापछि हामी कोइरालाहरू भनेर सुजाताले धेरै पटक फेसबुकमै राखेकी पनि छन् । बूढानीलकण्ठको डिनर बैठकमा पनि सशांक नै निम्त्याइन्थे । एकपटक त देउवा पक्षका नेताहरू रहेको डिनरमा पुगेको विषयमा सुजाताले हकारेकी थिइन् ।
अघिल्लो महाधिवेशनपछि देउवा पूरै तीन वर्ष चुप लागेर बसे । विधानअनुसार फागुनमा अर्काे महाधिवेशन आउन लागेपछि बल्ल ताते । तर, उनलाई विधानभन्दा पनि आफूले अर्काे एक वर्ष कार्यकाल कसरी बढाउने भन्ने चिन्ता भयो । यो बीचमा केन्द्रीय समितिका बैठक र धेरैजसो अनौपचारिक बैठक देउवा निवासमा बसेका छन् । यस क्रममा विभाग थप्ने प्रस्तावबारे उनले पौडेललाई नभएर सशांकलाई भनेका थिए । यस विषयमा सशांकले ‘ग्रिन सिग्नल’ दिएको देउवानिकट नेता बताउँछन् ।
सोहीबमोजिम नै देउवाले नेविसंघ र तरुण दलमा भर्नाका निम्ति उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा उपसमिति बनाए र अरू विभागमा मान्छे भर्ने तयारी गरे । तर, उता विमलेन्द्रले पनि नेविसंघ र तरुण दलमा आफ्ना मान्छे राख्नुपर्ने भनेर उल्टै बार्गेनिङ गर्न थाले । उनीबाट पनि धेरै ढिलाइ भएपछि देउवाले विभाग गठन आफूखुशी गरे । त्यसपछि सशांकले देउवाको साथ छोडे । पहिले सँगै मिलेर जाने र पौडेललाई पाखा लगाउने सहमति भएको भए पनि अहिले आएर सशांकले साथ छोडिदिएपछि देउवा एक्लिएका छन् । अहिले देउवाको साथमा न विमलेन्द्र न त सशांक नै भए । विमलेन्द्र बोलेका छैनन् तर सशांकले भने विरोध गर्न थालिसकेका छन् । वर्ष दिनयता पौडेलले देउवाविरुद्ध कनकन गरिरहे पनि सशांक त्यति साह्रो विरोधमा उत्रिएका थिएनन् । देउवा भने नेविसंघ र तरुण दलमा सशांकका मान्छेलाई फिट गरेर अरूलाई छाड्ने पक्षमा देखिएका छन् ।
टिप्पणीहरू