पाहुनालाई यता पनि पठाऔं
जलदेवी पार्क एवं पिकनिक स्पटसँगै सञ्चालित छ, चारलेनको जिपलाईन । ९५ मिटर र १२५ मिटर दूरीका लागि ६०० रूपैयाँ, १७५ मिटरका लागि ८०० रूपैयाँ एवं चारवटै दूरीका लागि १२५० रूपैयाँ शुल्क निर्धारण गरिएको वन समूहका अध्यक्ष केशवबहादुर थापाले बताए । जिपलाईनमा खेलेको फोटो र भिडियो पनि बनाउन सकिन्छ । बच्चाका लागिसमेत ५० मिटरको जिपलाईन सञ्चालन गरिएको र शुल्क १०० रूपैयाँ रहेको उनले बताए ।
बच्चालाई साहसी, निडर बनाउन यो खेलले सघाउने बताउँदै जलदेवी जिपलाईन इको एड्भेञ्चरका भिडियो टिम को–अर्डिनेटर विष्णुकान्त घिमिरे भन्छन्, ‘उचाइसँग मान्छेहरूको डरलाई यसले कम गराउँछ, हाइटसँग डर होइन कि इन्जोय गर्न सिकाउँछ ।’ तीन वर्षअघिदेखिको कन्सेप्ट अहिले कार्यान्वयनमा आएको बताउँदै अध्यक्ष थापाले भने, ‘यो अष्ट्रियाको प्रविधि हो ।
नेटमा हेर्दा थाइल्याण्डमा सञ्चालित जिपलाईनबाट हामी प्रभावित भयौं । अरू अरू देशमा सिमेन्टेड गरेर, पर्खाल लगाएर जिपलाईन सञ्चालित छ तर थाइल्याण्डमा रूख–रूखमै जिपलाईन सञ्चालित भएको देखेपछि हामीले पनि हाम्रो वनको रूख–रूखमा जिपलाईन सञ्चालन गर्ने कन्सेप्ट बनायौं’, उनले थपे, ‘आम उपभोक्तासँग छलफल गरेर, साधारणसभाबाट पास गराई, जिल्ला वनबाट अनुमति लिएर, भरतपुर महानगरपालिकालाई कर तिरेर यो जिपलाईन सञ्चालनमा ल्याएका हौं ।’ सामुदायिक वनमा नेपालमै पहिलोपटक जलदेवीले नै जिपलाईन सञ्चालनमा ल्याएको उनले बताए । अब छिट्टै बागीश्वरीदेखि जोरकुसुमसम्म ३०० देखि ४०० मिटरको थप जिपलाईन सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताएका छन् । बताइएअनुसार यसमा चाहिँ दुईवटा रोप हुनेछ, एकैपटक दुईजनाले खेल्न सक्नेछन् ।
सन् २०२० मा २० लाख पर्यटक भिœयाउने नेपाल सरकारको जुन लक्ष्य छ, त्यसमा यहाँ आउने पर्यटकको मनोरञ्जन र उनीहरूको बसाइ लम्ब्याउन यो जिपलाइनले केही टेवा पु¥याउने अध्यक्ष थापा बताउँछन् । अहिले नेपाली र भारतीय पर्यटकहरू आएर जिपलाईनमा खेल्ने गरिरहेको बताउँदै उनले अन्य पर्यटकलाई पनि ल्याउन चितवनको होटल व्यवसायी संघसित सम्झौता गरिसकेकोे बताए ।
यस्तै, काठमाडौं र पोखराका होटलहरूसित पनि चितवन आउने पर्यटकलाई प्याकेजमा यहाँ ल्याउन कन्ट्याक्ट गर्न लागिएको उनले बताएका छन् । यहाँ जिपलाईन जस्तै ट्रि क्लाइम्बिङजस्ता साहसिक खेलपनि सञ्चालनमा ल्याउने योजना छ । पहिले यहीँको पोखरीमा बोटिङ पनि सञ्चालनमा थियो, अहिले रोकिएको छ, अब छिट्टै त्यो पनि सञ्चालनमा ल्याइने बताइएको छ ।
– अजय गोर्खाली
टिप्पणीहरू