कालले घुस खान्छ र कमरेड !
- नरेन्द्रजंग पिटर
हिम्मत से सच कहो तो बुरा मानते हैं लोग, रो– रो के बात कहने की आदत नहीं रही ! ( दुष्यन्तकुमार)
भ्रष्टाचार अब बहस र आन्दोलनको विषय रहेन, राजकीय सर्वस्वीकार्य भइसक्यो । तर, कालले भने न भ्रष्टाचार गर्छ न घुस नै खान्छ । शक्ति र पैसाले सधँँै जीवन किन्न सकिँदो रहेनछ । माइकल ज्याक्सनले १ सय ५० वर्ष उमेरको लालसा राखेर मृत्युबाट जोगिन अक्सिजन कोठामै सुत्ने, १२ भन्दा ज्यादा निजी विशेषज्ञ डाक्टरलाई हरदम तयारी हालतमा राख्ने र आवश्यकतामा कृत्रिम अंग दिन तयार ‘दाता’ को उपस्थितिसँगै प्रयोगशालामा परीक्षण गरेपछि मात्र खाना खाने गरेका तमाम उपाय काम लागेनन्् । ५० वर्षमै मृत्यु भयो । पुराना साथीसंगाती मात्रै हैन, काला बाउ–आमासम्म फेरेर कानुनी रूपमा गोरा स्विकार्ने उनले जन्मजात कालो छालासमेत फेरेर गोरे बने । हरेकखाले विगतसँग सम्बन्ध छाडे । ती सबै जोगाडले उनलाई गिज्यायो । अंश र वंशका त उत्तराधिकारी हुन सक्छन्, नागरिकता र पुख्र्याैली पनि हुन सक्ला तर भावना, संवेदना मूल्य–मान्यता र आदर्शका भने कसैका पनि उत्तराधिकारी हुँदैनन् । जब सम्पत्ति, जमिन हैसियतका कुरा आउँछन् त्यसबेला हरेकलाई चिनिन्छ । वंशाणुगत श्रीपेच पनि त नारायणहिटीमा थन्क्याएर राजा ज्ञानेन्द्रले नागार्जुन वनबास जानुप¥यो ।
शक्तिको मैमत्तता र घृणाको बिगबिगी वर्चश्वशालीका प्रेरक हुन् । अल्पमतप्रतिको घृणासँगै बहुसंख्यकवादी सत्तामा पुग्छन् । शक्तिशालीका दास बनेर कमजोर र स्वाभिमानीमाथि रजाइँ गर्छन् । नेपाल अहिले प्रयोगशाला र रणभूमि हो । यहाँ बोइङ र एयरबसको लडाइँ वाइडबडी बन्छ । यहाँ एमसिसी र बिआरआईको लडाइँ महरा केस बन्छ । एकैपटक बिआरआई र एमसिसी सम्झौता गर्ने कूटनीतिक अभ्यास पनि गरिन्छ । सांसदको विवेक ह्विपले चल्छ तर एमसिसी पास गर्ने सभामुख अझै देशले पत्तो लगाउन सकेको छैन । न्याय पनि दुईथरी हुन्छन् ।
राजकीय इख अझ कडा हुन्छ । भारतकी फायर ब्राण्ड पत्रकार तवलिन सिंह कुनै समय उग्र मोदी समर्थक थिइन् । जब छोरा आतिस तासिरले मोदीबारे टाइम म्यागाजिनमा ‘डिभाइडर इन चिफ’ लेखे तब तासिरमाथि राजकीय इख साँध्न थालियो । अब भने तवलिन भन्न बाध्य भइन्– मलाई विश्वास नै लाग्दै छैन कि यस्तो प्रधानमन्त्री जसलाई मैले पूरै ५ वर्ष समर्थन गरेँ, उनकै सरकारले मेरो छोरालाई देश निर्वासन गरिदियो ।’ (इण्डियन एक्सप्रेस)।
शक्तिको रथ चढेपछि कोषमा लुकाइएका दाह्रा बाहिर निक्लन्छन् । अनि त्यसले बदला लिन तम्सिन्छ । संवेदनशीलता आफैँ पीडित बनेपछि मात्र थाहा हुन्छ । जबसम्म सत्ता सहभागी हुँदैन तबसम्म किताबमा रहेका आदर्श र कानुन सक्रिय हुन्छन् । जब सत्ता लाग्छ, कानुन बबुरो बन्न पुग्छ । शक्तिका भाषाले कालोडण्डा चलाउन थालेपछि एउटै विषयका फरक मानक बन्न पुग्छन् । कालाकोटे जर्नेलहरू सत्ताका शान्तिकालीन पहरेदार र यथास्थितिका रक्षक हुन्छन् । सत्ताका अदृश्य हात र पहुँच बुझ्न नसक्नेहरूले क्रान्ति, विद्रोह, आन्दोलन मनोयुद्ध नबुझेका हुन्छन् ।
किन पद, पैसा र शिक्षितहरू, भूतपूर्व क्रान्तिकारी विवेकजन्य भूमिकामा हुँदैनन् त ! सहज उत्तर हो – सम्पत्ति, पद र सुविधाले हिम्मत दिँदैन, बरू डरपोक र भीडमा फेरिदिन्छ । पद, प्रतिष्ठा र सम्पत्ति गुम्ला कि भन्ने आतंकमा सदा रहेपछि ती यान्त्रिक मानव बन्न पुग्छन् । कोबाट कसरी चालित छु ? भन्ने कुरा रोबोटलाई पत्तै हुँदैन ।
हरेक चिजको मूल्य तिर्नुपर्ने हुँदा आलोचनात्मक चेत पनि निःशुल्क छैन । जति महŒवपूर्ण हुन्छ त्यसको मूल्य त्यति नै धेरै हुन्छ । सित्तै पाएको चिजको महŒव पाउनेले बुझेकै हुँदैन । भीड बनेको जनमत तमाशा मात्र हेर्छ । ती सबै इतिहास बन्छन् । पुस्तक फेरे पनि इतिहास फेरिँदैन । इतिहासको व्यवस्थापन अझ ठूलो खेलमा झेल बन्छ । वर्चश्वशाली र बहुसंख्यकवादीहरू आफ्ना समाजमा अहंकारवादी बनेर शक्तिशाली त बन्छन् तर मानवतावादी भने बन्न सक्दैनन् । भीडको हिस्सा बन्छन्, अल्पमतलाई घृणा गर्ने कुनै अवसर नछाडेर श्रेष्ठ दाबी गर्न इतिहास, संस्कृति र धर्मको सहारा लिन्छन् । त्यो समयसँगै पानीको फोकाजस्तै बन्न पुग्छ ।
समयसँगै प्रतिरोधी धारा कहिले सतहमा त कहिले अन्डर करेण्ट बगिरहेको हुन्छ । पीडा, सपना, आक्रोश र प्रतिरोध व्यक्त गर्ने आ–आफ्ना शैली हुन्छन् । संघर्षका मोर्चा पनि योद्धाका गुण र हैसियतअनुसार छानिन्छ । एउटा मान्छेभित्र धेरै मान्छे हुन्छन् । विवेक र भावनाले सँगसँगै यात्रा गर्छन् । तब सुख लेखिन्छ, दुःख लेखिन्छ, दर्शन र राजनीति लेखिन्छ, गतिशील इतिहास लेखिन्छ । पक्षकारिता त स्वाभाविकै हो । सवाल्ट्रनका गीत, कथा र सपना लेखिन्छन् । नांगिदै आफैँलाई गाली गरिन्छ । पछाडि फर्केर हिँँडेका बाटा लेखिन्छ । आफ्नै सपनाका तस्बिर कोरिन्छ । अनि ऐनासामु ठिंग उभिएर बेचैन बनाउने आफैँलाई प्रश्न गरिन्छ । तब प्रश्नहरू शब्द बन्ने गर्छन् । जब शब्द रित्तिन्छन् तब हाँसो, रुवाइ र आक्रोश बन्न पुग्छन् । ती सबै समयका चित्कार हुन् ।
विवेकलाई साङ्ला लगाउने धेरै तŒव भय र आशक्ति हुन् । सत्ताले (राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धर्म, प्रेम र भावना) यथास्थिति चाहन्छ, विवेकीजनले त्यसलाई तोड्न । तब विवेक र यथास्थितिबीच भयानक टकराहट हुन्छ । टकराहट बढ्दै जाँदा दोबाटोमा पुगेपछि या आत्मसमर्पण या त सम्बन्धविच्छेदको अवस्था आउँछ । मध्यमार्ग कतै हुँदैन, किनारा त लाग्नै पर्छ । जुन बाटो खतरा, एकलासको हुन्छ र थोरै मान्छे मात्र हिँड्ने गर्छन् त्यही बाटो विवेकीजनले छान्ने गर्छन् । यो दुनियाँकै रीत हो । तब सनातनीले उनीहरूलाई ‘मूर्ख’ र ‘बौलाहा’ भन्ने गर्छन् ।
लेखको बिट मार्नैै थाल्दा जाँदा दरवारीलाल ‘मित्रको’ ‘सफलताका’ सूत्र र ’सुखी’ हुने उपायको विद्युतीय पत्र आइपुग्यो ।
१) सक्छौ जित्नेको पछि लाग, सक्दैनौ चुप बस । तर, हार्नेको पछाडि भने लाग्दै नलाग ।
२) जाडो चम्कँदै छ, बलेको आगो ताप । मुढा जलाउने समय छैन, समय पर्खेमा स्वयं कठ्यांग्रिसकेका हुनेछौ ।
३) बिर्सिदेऊ… ती यादलाई, जो कुनै दिन तिम्रा ऊर्जा बन्थे र सपनामै म्याराथन गराउँथे ।
४) ‘मूर्खहरू’ सिद्धान्त र इतिहास खोतल्छन्, ‘चतुरहरू’ वर्तमानमा साँपसिँढी चढ्ने भ¥याङ बनाउँछन् ।
टिप्पणीहरू