जसको अन्त्यावस्थामा कोही देखै परेनन्
तुम अगर साथ देने का वादा करो
मैं यूँ ही मस्त नगमें लुटाता रहुँ
तुम मुझे देखकर मुस्कुराती रहो
मैं तुम्हें देखकर गीत गाता रहुँ ।
कितने जलवे फिजाओं में बिखरे, मगर
मैंने अब तक किसी को पुकारा नहीं
तुमको देखा तो नजरें ये कहने लगीं
हमको चेहरे से हटना गँज्ञवारा नहीं ।
तुम अगर मेरी नजरों के आगे रहो
मैं हर एक शह से नजरें चुराता रहुँ ।
मैंने खाबों में बरसों तराशा जिसे
तुम वही संग–ए–मरमर की तस्वीर हो
तुम ना समझो तुम्हारा मुकद्दर हूँ मैं
मैं समझता हूँ तुम मेरी तकदीर हो ।
तुम अगर मुझको अपना समझने लगो
मैं बहारों की महफिल सजाता रहुँ ।
मैं अकेला बहुत देर चलता रहा
अब सफर जिन्दगानी का कटता नहीं
जब तलक कोई रंगीं सहारा ना हो
वक्त काफिर जवानी का कटता नहीं
तुम अगर हमकदम बनके चलती रहो
मैं जमीं पर सितारे बिछाता रहुँ ।
सन् १९६७ मा प्रदर्शित हिन्दी चलचित्र हमराजका निर्देशक बी.आर. चोपडा अनि संगीतकार हुन् रवि । १९७७ अगस्तको २२ तारिख । मुम्बईस्थित नानामती अस्पताल । एकजना बिरामीको मृत्यु हुन्छ । ३४ वर्षकी उनी कलेजोको रोगबाट पीडित । त्यसो त बिरामीका सबै थिए, आमा–बुबा, लोग्ने, छोराछोरी र आफन्त ।
तर, मृत्युको समय सबै लाखापाखा । अस्पताल प्रशासनले धेरै बेर कु¥यो, लाशलाई कसैले लिन आउँछ कि भनेर । तर, कोही आएन । प्रतीक्षाको घडी समाप्त भएपछि कर्मचारी मिलेर लासलाई बाहिर राखिदिए । निकै बेरपछि दुईजना व्यक्ति आइपुगे । उनीहरू कुनै एम्बुलेन्स वा शवबाहन होइन एउटा ठेलागाडा लिएर आएका थिए । उनीहरूले शव उठाए, गाडामा लोड गरे अनि नजिकैको शान्ताक्रुज चिहान पु¥याए ।
बेवारिस अवस्थामा मृत्युवरण गर्ने अरू कोही नभएर यही सफल चलचित्र ‘हमराज’ की सफल नायिका विमी थिइन् । उल्लिखित गीत चलचित्रमा तीनै नायिकालाई मनाउन नायक सुनील दत्तले गाएका हुन् । उक्त चलचित्र विमी अभिनित पहिलो चलचित्र हो, जसबाट उनी हिन्दी चलचित्र जगतको उच्चकोटीको अभिनेत्रीमा गनिन पुगिन् ।
विमीको जन्म जालन्धरको सिख परिवारमा भएको थियो । वास्तविक नाम विमलेस वाधवन हो । आमा–बाबु दुबै शिक्षण पेशामा भए पनि पुरानो सोचाइका । जीवन साधारण खालको । चलचित्र नहेर्ने, पश्चिमी भेशभूषालाई बिल्कुल मन नपराउने, यहाँसम्म कि मेक अपको समेत विरोधी ।
तर, सोही परिवारकी छोरी विमलेश ठीक उल्टो स्वभावकी । स्वच्छन्दता मन पराउने, फेसनमा रमाउने । पुरानो र घरेलु देखिने लामो कपाल मन नपराउने । त्यसैले किशोरावस्थामै एकदिन उनलाई आधुनिक बन्न मन लाग्यो र कपाल काटेर छोटो पारिन् । घरमा आउनेबित्तिकै आमाले नराम्रोसित धुलाइ गरिन् ।
केही समयपछि परिवार मुम्बईमा बसाइँ स¥यो । विमलेशले सोफिया कलेजबाट स्नातक गरिन् । पढाइसँगै अल इण्डिया रेडियोबाट प्रसारण हुने कार्यक्रममा भाग लिन थालेकी थिइन् । यसबीच, उनको भेट कोलकाताको मारवाडी केटो शिव अग्रवालसित भयो । शिव व्यापारी घरानाका । दुबैबीच प्रेम भयो र विमलेशले परिवारको स्वीकृतिबिनै बिहे गरिन् । आमाबुबा यतिबिघ्न दुःखी बने कि छोरीसितको सम्बन्ध त्यागिदिए । बिहेपछि विमलेश लोग्नेसँगै कोलकाता फर्किइन् । र, छोरा रजनिशको आमा बनिन् ।
शिवको परिवार निकै धनी थियो । विमलेशले आरामदायी र सुविधासम्पन्न जीवन बिताइन् । महँगो लुगा, गहना, श्रृंंगारपटार दैनिकी बन्यो । त्यसबेला विलियार्ड र गल्फ धनी परिवारले मात्र खेल्न सकिने खेल थियो । विमलेशले यो भाग्य पनि हासिल गरिन् । उनी लोग्नेसँगै ठुल्ठूला कार्यक्रम र दिवा–रात्रिभोजमा सम्मिलित हुन्थिन् ।
सन् १९६६ को एकदिन कोलकाताको ग्राण्ड होटलमा त्यस्तै एउटा रात्रिभोज थियो । कार्यक्रममा उच्च ओहदाका प्रतिष्ठित व्यक्ति मात्र सम्मिलित थिए । गायक तथा संगीतकार रवि (रविशंकर शर्मा) तीमध्येका हुन् । दुइटा सफल फिल्म गुरुदत्तको ‘चौदहवींका चाँद’ र मनोजकुमार अभिनीत चलचित्र ‘दो बदन’ मा पाश्र्वसंगीत दिएपछि सफल संगीतकारको सूचीमा दर्ज हुन पुगेका हुन् ।
पार्टी चल्दै थियो, कसैले रविलाई विमलेश मीठो गीत गाउँछिन् भनेर सुनाइदियो । रवि संगीतकार त थिए नै राम्रो गायक पनि । त्यसैले विमलेशलाई एउटा गीत गाउन ढिपी गर्न थाले । विमलेशले गीत गाइन् जुन रविलाई निकै मन प¥यो । तर, विमलेशको स्वरभन्दा बढी उनको सुन्दरताले लठ्यायो । उनले सोधे ‘तिमी चलचित्रमा किन खेल्दैनौ?’
विमलेशले मुसुक्क हाँस्दै भनिन्, ‘म परें दुइटा बच्चाकी आमा, फिल्ममा कसले काम देओस् !’
रविले विमलेश र शिवलाई भने मेरो छोराको जन्मदिन मनाउँदै छौं, मुम्बई अवश्य आउनू । शिव अग्रवालले रविको निमन्त्रणा स्विकारे र केही दिनमै लोग्ने–स्वास्नी दुबैजना मुम्बई पुगे । रविले छोराको जन्मदिनको अवसरमा एउटा सानो कार्यक्रम आयोजना गरेका थिए, जसमा बलिउडका केही हस्ती मात्र सामेल थिए ।
वास्तवमा कार्यक्रम आयोजनाको एउटै उद्देश्य थियो, विमलेशलाई बी.आर. चोपडासँग भेट गराउनु । निर्देशक चोपडा त्यसबेला आफ्नो नयाँ चलचित्र ‘हमराज’ को लागि नयाँ अभिनेत्रीको खोजीमा थिए ।
उक्त चलचित्रको कथामा नायिकाको मृत्यु चलचित्रको बीचमै हुने भएकाले त्यसबेलाका चर्चित नायिकाहरू माला सिन्हा, नन्दा, आशा पारेखहरू कोही पनि सो भूमिका गर्न तयार भएनन् । त्यसैले चोपडा नयाँ हिरोइनको खोजीमा थिए । रात्रिभोजमा रविले विमलेश र शिवलाई चोपडासित परिचय गराइदिए ।
तर, चोपडाले खासै रुचि देखाएनन् । भोज सकियो । सबै आ–आफ्नो घर फर्के । रवि अचम्ममा परे । उनको मन मानेन र फेरि भोलिपल्ट चोपडाको घर गए । तर, उनले विमलेशको प्रसंग शुरु गर्नुअगावै चोपडाले उनलाई भने, ‘विमलेशलाई हमराजमा नायिकाको भूमिका दिन तयार छु ।’
रविले तुरुन्तै यो खबर विमलेशलाई सुनाए । विमलेशले निर्णय लिन केही समय लाग्ने बताइन् । रविको कुराले मनमा उथलपुथल मच्चायो । दोमनमा परिन् । र, अन्त्यमा ‘नाइँ’ भन्नुपर्ने कुनै आधार भेट्टाइनन् । यो निर्णयमा पुग्न विमलेशले तीन साता लगाएकी थिइन् । उनले सोचेकी थिइन् कि आफ्नो निर्णयमा परिवारको पनि साथ मिल्नेछ ।
तर, लोग्ने शिवले बाहेक कसैले उनको निर्णयमा समर्थन जनाएनन् । यसको बाबजुद विमलेशले चोपडालाई आफू नायिका बन्न तयार रहेको निर्णय सुनाइन् । सहमतिबिना बुहारी फिल्म खेल्न तयार भएपछि शिवको परिवार असन्तुष्ट बन्यो, उनीहरूले अलिकति सम्पत्ति दिएर छोरा र बुहारीसित सम्बन्धविच्छेद गरिदिए । माइतीले त पहिल्यै सम्बन्ध तोडिसकेकै थिए ।
विमलेश अब विमी बनिन् । अभिनयको तालिम लिएकी थिइनन् । त्यसैले छायांकनको दौरान निकै समस्या सामना गर्नुप¥यो । उता, रातारात अभिनेत्रीको लोग्ने बन्न पुगेका शिवले सबै कुरोमा बाधा दिन थाले, निर्देशक र कलाकारसँग निहुँ खोज्न गए । फिल्म जसोतसो तयार भयो । शुरुमै राजकुमार र सुनील दत्तसँग अभिनय गर्न र बी.आर. प्रोडक्सनजस्तो ठूलो ब्यानरमा खेल्न पुगेका कारण फिल्म रिलिज हुनुपूर्व नै विमीको चर्चा जताततै हुन पुगेको थियो ।
फिल्म सन् १९६७ मा रिलिज भयो । पहिलो फिल्मबाट विमीले राष्ट्रपति पुरस्कार पाइन् । फिल्मले विभिन्न विधामा राष्ट्रिय तथा फिल्मफेयर अवार्ड प्राप्त ग¥यो । विमी रातारात ठूलो कलाकार बनिन्, सबै निर्माता–निर्देशक उनको सुन्दरताबाट प्रभावित बने । उनीहरू विमीलाई आफ्नो फिल्ममा लिन प्रतिस्पर्धा गर्न थाले ।
दुर्भाग्य, विमी र शिवलाई रातारात प्राप्त सफलता पचेन । विमीले अब पारिश्रमिक ५० हजारबाट ३ लाख पु¥याइन् । शशीकपुरजस्ता नायकको नायिका बन्न अस्वीकार गर्न थालिन् । शिवले पनि निर्देशक–निर्माताहरूलाई हेप्न थाले । हमराजपछि विमी अभिनित फिल्म ‘आवरू’ रिलिज भयो जुन पूरै असफल सावित भयो । दर्शकले वास्तवमै विमीले अभिनय जानेकै रहिनछन् भनी आलोचना गर्न थाले ।
विमी नचाहँदा नचाहँदै नायक शशीकपुरको हिरोइन बन्न राजी बन्न राजी भइन् । यो फिल्म ‘पतंगा’ पनि असफल सावित भयो । त्यसपछि जति पनि फिल्म बन्यो ‘गुड्डी’ एउटाबाहेक सबै असफल बन्यो । गुड्डीमा सानो अभिनय भएका कारण फिल्म हिट भए पनि उनलाई फाइदा भएन ।
नतिजा, विमीले अब चलचित्र पाउन छाडिन् । कामको अभावमा आर्थिक समस्या भोग्न थालिन् । घर बेच्नुप¥यो । बिजुलीको शुल्क तिर्न नसकेर महिनौं अँध्यारोमा बिताउनुप¥यो । लोग्ने–स्वास्नीबीच झगडा पनि हुन थाल्यो । शिवले पत्नीमाथि हातपात गर्न थाले । फिल्म नपाएको दोष एकले अर्कोलाई दिइरहे ।
अन्त्यमा, शिव विमीलाई छाडेर परिवारसँग बस्न कोलकाता रवाना भए । मुम्बईमा विमी एक्लै । काम, पैसा र पतिको अभावमा रक्सीको सहारा लिन थालिन् । भएको अलिअलि पैसा पनि सकिँदै गएपछि ब्राण्डेडबाट लोकलमा झरिन् । यसबीच जोल्ली नाउँको युवकसित परिचय भयो । उनले विमीलाई सानो छाप्रोमा लगेर राखे । सँगै दिन बिताए ।
आर्थिक समस्याबाट छुट्कारा पाउन उनले विमीलाई वेश्यावृत्तिसमेत गर्न लगाए । अत्यधिक रक्सी सेवनका कारण विमीको कलेजो बिग्रन शुरु भयो । पछि त क्यान्सर नै भयो । यस्तो हालत देखेर जोल्ली पनि पछि हटे । विमीलाई नानामती अस्पतालको साधारण वार्डमा भर्ती गरी फरार भए ।
विमी मरेको खबर सुनेपछि पनि उनी अस्पताल पुगेनन् बरू लाश उठाउन ठेलागाडा र दुई जना मजदुरको व्यवस्था गरेर गायब भइदिए । अन्तिम समयमा माफी माग्न विमी बी.आर. चोपडाको घर पुगेकी थिइन् । चोपडाका अनुसार त्यसबेला उनी रक्सीले चुर थिइन् ।
टिप्पणीहरू