कमरेडको पैसा हरायो कता !
अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् ।
अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित प्रज्वलकै दाइको घरमा बास बसेका थिए । यसअघि शुक्रबार स्थानीय दुई जना कार्यकर्ता गिरफ्तार भए पनि त्यसको खबर पाउन सकिएको थिएन । शनिबार बिहान ७.३० बजे बास बसेको स्थानबाट निस्किनासाथ सादा पोशाकका प्रहरीले मोटरसाइकलमा पिछा गरी ५ मिनेटमै पेस्तोल ताक्दै ‘रोक्–रोक्’ भन्दै घेरा हाली बबिन्द्र नेम्बाङको टोलीले समातेको बताइन्छ । गिरफ्तार गर्नासाथ बराह इप्रकामा लगिँदा उनीहरुको साथमा चार लाख ३० हजार नगद र डायरी थियो । मुचुल्का ३० हजारको मात्र बनाई ४ लाख दाखिला नगरिएको आरोप प्रहरीमाथि लागेको छ ।
मुचुल्काको एक ठाउँ खाली रहेको तर उनीहरुले थप षड्यन्त्रको अनुमान नगरेको बुझिएको छ । पुस १३ गते त्यही खाली ठाउँमा ‘१ वटा कट्टा पेस्तोल’ थपेर अदालतमा पेश गरिएको विप्लव समूहको दाबी छ ।
टिप्पणीहरू