छोरी हुर्कनासाथ केटा रोज्ने ‘प्रेमछाप्रो’
क्रेयुङ कम्बोडियामा बसोवास गर्ने विभिन्न जाति, जनजातिमध्येको एउटा आदिवासी । यिनीहरूको मुख्य बसोवास उत्तरपूर्वी प्रान्त रत्नाकिरीमा छ । २७ वटा गाउँमा छरिएर बसेका छन् । स्तुङ त्रेङ र मोन्डोल्किरी प्रान्तमा पनि छन् तर धेरै कम । त्यसो त यिनीहरू अल्पसंख्यक आदिवासी हुन् र मुलुकभर २५ हजारभन्दा बढी छैनन् । मुख्य पेशा कृषि हो ।
सायद संसारलाई वास्तै हुन्नथ्यो यदि क्रेयुङ किशोरीहरूले आमाबुबाबाट पाउने यौन स्वतन्त्रताबारे चर्चा नचलेको भए ! रत्नाकिरी प्रान्तको क्रेयुङ गाउँ पुग्न राजधानी न्होमपेन्हबाट १३ घण्टा लामो बस सफर गर्नुपर्छ । रातोमाटोको बाटो । अष्ट्रेलियाई लेखिका फियोना मैकग्रेगोर त्यहाँ पुग्दा उनको शरीर र लगाइराखेको लुगा पूरै रातोधूलोले छपक्कै ढाकिएको थियो । क्रेयुङका युवतीहरूको यौन जीवनबारे जान्ने उत्सुकताले उनलाई त्यो दुर्गम स्थानमा पु¥याएको हो ।
उनले पहिलो रात गरिब क्रेयुङको एउटा घरमा बास पाइन् । बसिन् तर खान भने सकिनन् र आफ्नो ब्यागमा भएको पाउरोटीले गुजारा चलाइन् । भोलिपल्ट आफ्नो काममा हिँडिन् । केही पर गएपछि उनको भेट १७ वर्षीया नाङ चाङसँग भयो । उनी बाँसले बनेको सानो छाप्रोमा बस्थिन् । न घरमा बिजुली थियो, न पानीको सुविधा ।
घरबाहिर केटाकेटी खेलिराखेका थिए भने सुंगुर, कुकुर र कुखुरा आफ्नै धुनमा मस्त । नाङचाङ होची र नरम बोली बोल्ने युवती थिइन् । उनी आफ्नो जातिको विशेषता ‘प्रेमको झोपडी’ को पक्षमा दह्रोसित उभिइन् । उनले फियोनालाई स्पष्ट शब्दमा भनिन्, ‘प्रेमको झोपडीले युवतीहरूलाई साँचो प्रेम दिलाउन मद्दत गरेको छ । हामी कस्तो प्रेमी वा जीवन साथी चाहन्छौं, हामीले चाहेकैजस्तो केटा साथी यो झोपडीमार्फत प्राप्त गर्दछौं ।’
‘जब केटा मान्छे रात बिताउन झोपडीमा आउँछ, मैले नचाहँदासम्म उसले छुनसम्म पनि सक्दैन । हामी गफ गर्छौं र सुत्छौं । हैन ऊ मलाई असल र प्रेमिल लाग्यो भने बल्ल ऊसित म शारीरिक सम्बन्ध बनाउन हिच्किचाउँदिनँ । मैले ऊसित त्यो बेलासम्म सम्बन्ध बनाइराख्न सक्छु जबसम्म मलाई अर्को केटा राम्रो लाग्दैन । मैले नयाँ केटासँग यौन सम्बन्ध राख्न शुरु गरेपछि पहिलाको केटोसितको सम्बन्धलाई निरन्तरता दिन्नँ ।’
केटाहरूसँग यौन सम्बन्ध राख्न अविवाहित छोरीलाई आफ्नै आमाबुबाले बनाइदिएको यो छाप्रोभित्रको कोठा ६ फुट लामो ४ फुट चौडाभन्दा ठूलो छैन । कोठामा साधारण खालको बाँसबाटै बनाइएको पलङ छ । भुइँमा बाँसबाटै निर्मित सुकुल । तन्ना र सिरक भने रंगीबिरंगी र बुट्टेदार ।
नाङका अनुसार छोरीको रात नयाँ केटोसित ‘रमाइलो’ गरी बितोस् भनेर आमाबुबाले त्यस्ता सिरक र तन्ना हालिदिएका हुन् । उनले गर्वका साथ भनिन्, ‘म १५ वर्षको हुँदा यो छाप्रोमा प्रवेश गरेकी थिएँ । दुई वर्षको अवधिमा ४ जनालाई ‘खास प्रेमी बनाइसकें, यौन सम्बन्ध कति जनासँग राखेँ, त्यो गणना गरेकी छैन । कुनै बेला त एउटै समयमा दुई तीन जनासँग पनि सम्बन्ध राखियो ।’
नाङकी आमा गालुङ यतिखेर ४५ र बाबु पुआउङ ५६ वर्षका छन् । उनीहरूले पनि ३ दशकअघि यस्तै प्रेम–छाप्रोमा बसेरै जोडी मिलाएका थिए । ४ फुट ८ इञ्च अग्ली गालुङले भनिन्, ‘यो प्रथाले युवतीहरूलाई सशक्त र सवल बनाएको छ, आफूलाई मिल्दो जीवनसाथी खोज्न मद्दत गरेको छ, किनभने छाप्रोको बसाइ क्रममा उनीहरूबीच सबै खालको कुराकानी हुन्छ, यौन सम्बन्ध पनि राखिने हुनाले केटो शारीरिक हिसाबले गर्भवती बनाउन सक्षम छ कि छैन भन्ने पूर्ण जानकारी हुन्छ । महिलाहरूका लागि यो राम्रो पक्ष हो, यसै प्रथाका कारण दाम्पत्य जीवन चार दशकमा पुग्दै छ र हामी सुखी छौं ।’
यो गाउँमा १ सय ५० घर परिवार बस्छ र यो प्रथाकै कारण न कसैको सम्बन्धविच्छेद भएको छ, न बलात्कारको घटना । क्रेयुङ जातीय परम्पराअनुसार आफ्ना छोरी पुगनपुग १३ वर्षमा पाइला टेक्नेबित्तिकै अर्थात मासिक स्राव शुरु हुनासाथ आमाबाबुले यस्ता ‘प्रेम–छाप्रो’ बनाइदिन्छन् । जहाँ पठाउनुअघि छोरीहरूलाई न कुराकानी गर्ने तरिका सिकाउँछन् न यौनसम्बन्धी ज्ञान नै दिन्छन् ।
छोरीले आफैँ विवेक प्रयोग गरुन् र सबै कुरा आफैँ सिकुन् भन्ने मनशाय राख्छन् अथवा छोरीहरूलाई आत्मनिर्भर बनाउँछन् । यदि, युवतीले गर्भ बोकिन् र केटोलाई उनले जीवन साथी बनाउन चाहिनन् भने मन परेको केटोले बिहे गर्दा जन्मिसकेको वा जन्मिन बाँकी, पेटमा हुर्कंदै गरेको सन्तान सहर्ष स्विकार्छन् ।
यस्तो अवस्थामा पनि केटो र उनको परिवारले केटीको कौमार्यमाथि कुनै शंका गर्दैनन् । कुनै केटो जसले केटीसँग शारीरिक सम्बन्ध बनाइसकेको छ र केटी मन पनि परेको छ भने पनि केटीले मन नपराउञ्जेल केही सीप चल्दैन । उसले कतै दाबी गर्न र अधिकार जमाउन पाउँदैन ।
क्रेयुङहरू यसैलाई महिलाशक्ति, महिला अधिकार, महिलाको प्रभुत्व र महिलाको सवलीकरण मान्छन् । यो प्रथाकै कारण बिहेको समयसम्म यो गाउँका कोही एक जना केटी पनि ‘कुमारी’ भेटिँदैनन्, जबकि यहाँका युवतीको बिहे १५ देखि १८ वर्षको उमेरसम्म भइसकेको हुन्छ ।
अर्को रोचक कुरा, प्रेम–छाप्रोमा छोरी को केटासँग सुतिन् भन्ने कुरा आमाबाबुलाई थाहा हुँदैन । किनभने उक्त छाप्रोमा केटो बेलुकी अँध्यारो भइसकेपछि पस्छ र बिहान झिसमिसेमै निस्किसकेको हुन्छ । अझ, धेरै केटीले त को केटो मन प¥यो र को केटोसँग बिहे गर्न जाँदै छु भनी आमाबाबुलाई समयमै सूचित गर्नसमेत आवश्यक ठान्दैनन् । बिहेपश्चात् भने दम्पती हरेक निर्णय मिलेर गर्छन् । बिहेअघिको समाजमा स्त्रीको भूमिका प्रमुख हुन्छ भने बिहेपछि स्त्री–पुरुषको अधिकार बराबर हुन्छ ।
प्रेम–छाप्रोमै बसिराखेकी १७ वर्षीया पोएयुन भन्छिन्, ‘मलाई यहाँ बस्दा धेरै आनन्द लाग्छ । यहाँको जीवन पूर्णतः गोप्य हुन्छ । यतिखेर मैले ३ जनालाई ब्वाइफ्रेन्ड बनाएकी छु । साताको ५ दिन नयाँ–नयाँ केटासित सुत्छु । धेरै जना भलादमी हुन्छन्, उनीहरूले यौन चाहेको बेला मैले ‘नाइँ’ भन्दा मान्छन् । त्यस्तो बेला हामी खेलेर र गफ गरेर सुत्छौं । तर, कोही–कोही हक जमाउन खोज्ने पनि हुन्छन् । मेरो अनुमतिबिना छुन खोज्यो भने म ठूलो स्वरले चिच्याइदिन्छु । यतिखेर म दोधारमा छु, मैले रोजेका ३ जनामा एक जना छान्न गाह्रो भइरहेको छ ।’
पोएयुन हाकाहाकी भन्छिन्, ‘कोही–कोही केटाले मोबाइलमा अश्लील चलचित्र डाउनलोड गरेर ल्याएका हुन्छन् र त्यस्तै गर्ने रहर गर्छन् ।’ उनका बुबा ७८ वर्षीय किम चिएत भने यसलाई क्रेयुङ संस्कृतिमा आएको विचलन मान्छन् । उनी अबका केटा इमान्दार हुन छाडेको स्विकार्छन् । गैरसरकारी संघसंस्थाले विकृति फैलाएको आरोप लगाउँछन् ।
कम्बोडिया करिब ४ वर्ष कम्युनिष्ट पार्टीले सरकार चलाएको मुलुक हो– सन् १९७६ देखि १९७९ सम्म । यो मुलुकमा ९५ प्रतिशत खमेर जातिका मानिस बसोवास गर्छन् । यिनीहरू बौद्धमार्गी हुन् । यिनीहरूमध्येका कम्युनिष्ट खमेररुज हुन् अर्थात् ‘लाल खमेर’ । पोलपोटको नेतृत्वमा छापामार युद्धमार्फत खमेररुजले सरकार चलाएको थियो, अमेरिकी कठपुतली लोननोलको सरकारलाई परास्त गरेर ।
खमेररुजकालिन कम्बोडियालाई कट्टर कम्युनिष्ट सरकार भएको मुलुक मानिन्छ, उक्त सरकारले क्रेयुङहरूको ‘प्रेम–छाप्रो’ संस्कृतिलाई प्रेम र यौनको नाउँमा विकृत संस्कृति ठहर गरेको थियो, नियन्त्रणको कोसिस गरेको थियो । तर पूर्णरूपमा नियन्त्रण गर्न सकेन । खमेररुज पछि पनि सन् १९७८ देखि १९९२ सम्म करिब १४ वर्ष भियतनाम समर्थित कम्युनिष्टले नै यहाँ सरकार चलाए ।
तर, यिनीहरू खमेररुजको तुलनामा उदार थिए । त्यसैले खमेर सरकारको पतनपश्चात् क्रेयुङ आदिवासी पुनः आफ्नो संस्कृति भन्दै प्रेम–छाप्रो बनाउन लागिपरे । अर्को कारण उनीहरू खमेर जातिको एकल प्रभुत्वविरुद्ध थिए । त्यसो त सन् १९८५ देखि अहिलेसम्म पनि हुनसेनकै सरकार छ । उनी अध्यक्ष रहेको सत्तारूढ कम्बोडियाई पिपुल्स पार्टीले सन् १९९१ मा मात्र आफ्नो मार्गदर्शक सिद्धान्तबाट माक्र्सवाद–लेनिनवाद हटाएको हो । सन् १९९१ सम्म यो कम्युनिष्ट पार्टी नै थियो ।
टिप्पणीहरू