आमाछोरी र दाजुभाइका एकै पति, एकै पत्नी

आमाछोरी र दाजुभाइका एकै पति, एकै पत्नी

२०–२२ वर्षअघि भारतको एउटा पत्रिकामा एउटा अनौठो समाचार निस्कियो । गुजरात राज्यमा पर्ने मन्सा जिल्लाको एउटा गाउँको समाचार किन सर्वथा अनौठो थियो भने एउटै आमाको कोखबाट जन्मेका ७ दाजुभाइले एउटी कन्यासँग बिहे गरेका रहेछन् । एउटै कन्यासँग सामूहिक बिहे गर्ने दाजुभाइलाई प्रहरीले पनि पक्रियो ।

उक्त समाचार भारतीय जनताले चाख मानेर पढे तर बलिउडकी नायिका श्रीदेवीका श्रीमान् बोनी कपूर भने यसबाट निकै प्रभावित पनि बने । ‘हम पाँच’ र ‘मिष्टर इण्डिया’ जस्ता सिनेमा बनाइसकेका उनले सातै जना दाजुभाइको एउटै पत्नीसम्बन्धी सोही घटनामा आधारित भएर चलचित्र बनाउने निर्णय लिए । र, निकोलस ब्लान्क, पंकज खरबन्डा र पेट्टक सोबेलमनलाई पनि चलचित्रमा लगानी गर्न सहमत गराए । कथा लेखे फ्रान्समा सम्पन्न केन्स चलचित्र महोत्सवमा पुरस्कृत लघुचलचित्र ‘अ भेरी भेरी साइलेन्ट फिल्म’ बनाएका मनीष झाले । चलचित्रको निर्देशन पनि उनै झाले गरे ।

भारतमा हुने महिला भ्रूणहत्या र शिशुहत्याका घटनामा आधारित र, सन् २००३ मा प्रदर्शित यो चलचित्रले देशविदेशका धेरै अवार्ड जित्न सफल भयो । यद्यपि, चलचित्रलाई चर्चित बनाउन अश्लीलता पस्केको आरोप पनि नलगाएका होइनन् आलोचकहरूले । चलचित्रमा यस्तो एउटा गाउँको भविष्यलाई उजागर गरिएको छ, जहाँ भ्रूणहत्या र शिशुहत्याको कारण स्त्री जातिको संख्या शून्य हुन पुगेको छ ।

मध्यप्रदेशको एउटा गाउँका पुरुष महिलाले छोरा मात्र जन्माउन् भन्ने चाहन्थे । यदि, कुनै नारीले छोरी जन्माइन् भने उत्सव मनाएर नवजात शिशुलाई दूधमा डुबाएर मार्थे ताकि अर्को सन्तान छोरा नै होस् । यदि यो प्रथा चल्दै गयो भने ४०–५० वर्षपछि गाउँमा विवाहयोग्य एक जना कन्या पनि हुने छैनन् भनेर चलचित्रमा दर्शाउन खोजिएको थियो ।

उक्त सिनेमामा देखाइएअनुसार गाउँमा महिलाको अनुपस्थितिमा पुरुषहरू अश्लील चलचित्र हेर्न थाल्छन्, महिलाकोे लुगा लगाएर नृत्य गर्छन् र युवती पाउन जे गर्न पनि तयार हुन्छन् । सोही गाउँका एक धनी व्यक्ति रामचरण ५ जवान छोराका पिता हुन्, जसका पत्नीको धेरै पहिला स्वर्गवास भइसकेको हुन्छ । लामो प्रयत्नपश्चात् टाढाको एउटी गाउँकी केटीलाई बुहारी बनाएर घर भित्र्याउन सफल हुन्छन् । उनले केटीका बाबुलाई ५ लाख भारू दिएर मनाउँछन् ।

बुहारी भित्रेको दिन र रात शारीरिक सम्बन्ध बनाउन उत्ताउलो र प्यासी, भोका सबै दाजुभाइले पालैपालो यौन प्यास मेटाउँछन् यहाँसम्म कि लामो समयदेखि विधुरको जीवन बिताइरहेका बूढो रामचरणले पनि बुहारीबाटै यौन प्यास मेटाउँछन् । बुहारी कल्की घरका ६ जना पुरुषकै पत्नी बन्छिन् । उनले साताको एक दिन एक जनालाई, अर्को दिन अर्कोलाई गर्दै ६ जनालाई नै यौन सन्तुष्टि दिँदै जानुपर्ने हुन्छ । ६ जनामध्ये ५ जनाले कल्कीलाई मात्र यौन प्राप्त गर्ने खेलौना सम्झेर व्यवहार गर्छन् तर रामचरणको कान्छो छोराले भने शारीरिक सम्बन्ध त राख्छन् नै तर प्रेम पनि गर्छन् । कल्की र कान्छोको प्रणय देख्न नसकेर डाहा भएका चारै जना दाजु मिली एक दिन उसको हत्या गरिदिन्छन् ।

घरका सबै पुरुषको व्यवहारबाट दुःखी कल्की एक जना गाउँले केटोको सहयोगमा भाग्छिन् । तर, समातेर गाउँले मिली गाईवस्तुलाई जस्तै डोरीले बाँधेर गोठमा थुनिदिन्छन् । अब हरेक दिन उनीमाथि गाउँलेबाट सामूहिक बलात्कार शुरु हुन्छ । एकदिन कल्की गर्भवती बन्छिन् । गर्भको शिशु छोरा नै हुनुपर्ने विश्वासमा गाउँले सबैजना शिशुको बाउ आफैं हुँ भन्ने दाबी थाल्छन् र आपसमा ठूलो मारकाट गरेर धेरैले ज्यान गुमाउँछन् । अन्त्यमा कल्कीले छोरी नै जन्माउँछिन् ।

विश्वको धेरै भूभागमा बहुपत्नी राख्ने चलन छ । नेपालको जुम्ला, हुम्ला, डोल्पा, लमजुङ, मुस्ताङ, गोर्खा, मनाङजस्ता जिल्लाका कतिपय जाति–जनजातिमा अझै पनि बहुपत्नी होइन बहुपति प्रथा कायम छ अर्थात् एक स्त्रीका एकै समयमा दुई वा दुईभन्दा बढी लोग्ने हुने चलन छ । पहिलो पोष्ट अनलाइनले २०७२ साल असार २३ गते लेखेको ‘मुस्ताङमा बहुपति प्रथा कायमैः दाजुभाइको साझा एउटै पत्नी’ शीर्षक समाचारमा उक्त जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुर्खाङ, घमी, मुक्तिनाथ, कागबेनी, झोङलगायत गाविसमा अझै यस्तो संस्कृति यथावत् रहेको दाबी गरिएको थियो ।

कान्तिपुर दैनिकले पनि २०७० फागुन १७ गतेको अंकमा ‘संस्कृति मान्न किन लाज मान्नु ?’ शीर्षकमा हुम्लाको बरगाउँ निवासी धर्म, बुद्धि र च्यानोर्बु लामाको एउटै साझा पत्नी रहेको समाचार छापेको थियो । अन्नपूर्ण पोष्टले २०७६ फागुन ५ मा लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङलगायत केही गाउँमा चलेको बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘को हस्बेन्ड’ बारे चर्चा ग¥यो ।

बिबिसीले पनि हालै मात्र २०२२ जनवरी १६ मा तिब्बतको फ्याङ तुङगारबाट हुम्ला आइपुगेका चम्फासिंह लामाको परिवारमा १७ पुस्तासम्म यही बहुपति प्रथा चल्दै आएको समाचार प्रशारण गरेको थियो । बेलाबखत निस्कने यस्ता समाचारले नेपालमा पनि कतै–कतै अझै बहुपति प्रथा चलेकै छ भन्ने पुष्टि गर्छ । अफ्रिकाको केन्यामा बसोवास गर्ने मासाइ आदिवासीमा पनि अद्यापि यो चलन छ । ताञ्जानिया, मौरिटानिया, नाइजेरिया, भुटान, युरोपको युक्रेन, चीनको तिब्बतलगायत धेरै मुलुकका जातिमा यो प्रथा कायम छ । भारतकै पनि राजस्थान, लद्दाखलगायत केही राज्य र तामिलनाडुको तोडा जातिमा बहुपतिप्रथा चलेकै छ ।

भारतकै हिमाञ्चल प्रदेशको किन्नौर जिल्लाका महिलाको आज पनि दुईभन्दा बढी लोग्ने छन् । त्यहाँ एउटा घरमा जति पनि दाजुभाइ हुन्छन् ती सबैले एउटै युवतीसँग बिहे गर्दछन् । बिहेपछि घरको मुली सोही महिला हुने गर्छिन् । यदि, एउटा घरमा ५ दाजुभाइ छन् भने उनीहरू ‘साझा स्वास्नी’ सँग मिलेरै बसेका हुन्छन् । बिहेपछि परिवारको तर्फबाट दुलहीले एउटा टोपी पाएकी हुन्छिन् ।

कुनै बेला दाजुभाइमध्येका एकजना पत्नीसित ढोका लगाएर कोठाभित्र बसेका रहेछन् भने त्यो बखत पत्नीचाहिँले आफूले पाएको टोपी ढोकाबाहिर राखिदिन्छिन् । यसको अर्थ हो, उनी पाँच पतिमध्येकै एक जनासँग ‘व्यस्त’ छिन् । यस्तो अवस्थामा अर्को पतिले हस्तक्षेप गर्दैनन् । भित्र छिर्दैनन् । २१ वर्षीया राजो बर्माको कथा यस्तै हो । उनका पनि ५ लोग्ने । १८ महिनाको बच्चा छ काखमा । बच्चाको बाउ को हो, ठोकेरै भन्न सक्ने स्थितिमा छैनन् ।

सन् २०१३ मा एउटा अर्को समाचारले चर्चा पायो– बंगलादेशको मध्यप्रान्त मोधपुरको । जंगलैजंगलले भरिएको यो प्रान्तमा बसोवास गर्ने मन्दी आदिवासी हुन् । त्यहाँ धेरै आमा–छोरीका एउटै लोग्ने छन् । ओराला डालबोटको बाबु सानैमा म¥यो । उनकी आमाले केही समयपछि नै अर्को बिहे गरिन्, नोटेनसित । नोटेन हृष्टपुष्ट पुरुष हुन् । ओराला सोच्थिन्, ‘ठूलो भएपछि म पनि नोटेनजस्तै केटोसित बिहे गर्छु ।’

तर, दुर्भाग्य ! उनी ३ वर्षकी हुँदा जुन स्थानमा आमाले नोटेनसित बिहे गरेकी थिइन् १७ वर्षको हुँदा उनको बिहे त्यही स्थानमा भयो आफ्नै सौतेनी बुबा नोटेनसितै । मन्दी आदिवासी महिला लोग्ने मरेपछि आफ्नै वंशको अर्को पुरुषसंग बिहे गर्न रुचाउँछन् । यसो गर्नुको कारण आफ्नो वंशलाई बचाउनु हो भन्ठान्छन् । मोधपुरमा मन्दी २५ हजारको संख्यामा छन् ।

समाचार प्रकाशन हुँदाको बेला ओरालाकी आमा मित्तामोनी ५१ की भइसकेकी छन् भने सौतेनी बुबा अथवा आफ्नै पनि लोग्ने नोटेन ४२ वर्षको । अनि उनी आफैँ ३० की, ३ छोराछोरीको आमा । आमा मित्तामोनीका पनि एक छोरा र एक छोरी छन् नोटेनकोतर्फबाट । छोरीको बिहे भइसकेको छ भने छोरा १७ वर्षको भयो ।

मित्तामोनी आफ्नो लोग्नेले छोरीलाई नै कान्छी बनाएर घर भित्र्याएकोमा खिन्न छैनन् । उनी यसलाई आफ्नो जातीय परम्परा र कुल थाम्न गरिएको मान्छन् । उनी छोरीलाई भित्र्याउने निर्णय आफ्नो नभई परिवारका ज्येष्ठ सदस्यहरूले गरेको मान्छिन् । तर, जब नोटेन ओरालासित सुत्न जान्छिन् त्यतिखेर आफूलाई चित्त दुख्ने गरेको बताउँछिन् ।

ओरालाको पनि चित्त दुखाइ छ आमासित । विवाहको पहिलो रात सौतेनी बुबासँग सुत्न अप्ठेरो मानिरहेको बेला आमाले नै धकेलेर नोटेनको ओछ्यानमा सुत्न विवश पारेको बताउँछिन् । ओराला यो प्रथाविरुद्ध थिइन् र छिन् । उनी आफ्ना दुई छोरीलाई यसो गर्न कदापि नदिने अठोट गर्छिन् । यतिखेर ओरालाजस्तै धेरै मन्दी युवती यो प्रथाको विपक्षमा छन् । उनीहरू आफ्नै उमेरका केटालाई प्रेमी बनाउँदै उनीहरूसितै बिहे गर्न इच्छुक छन् ।

मन्दी युवती पर्विन रेमाले त झन् आफ्नी विधवा आमासँगै एकैचोटी एउटै केटोसित बिहे गरेकी थिइन् । आमा ३६ की तर १८ वर्षको केटोसित बिहे गरिन् । रेमा भन्छिन्, ‘मेरी आमाको छोरी छिन्– निता । अहिले १४ वर्षकी भइन् । मेरो त भविष्य नर्क सावित भयो नै, के निताको भविष्य पनि मेरैजस्तो हुन्छ ? सोचमग्न छु ।’

टिप्पणीहरू