१३ जना छात्रालाई करणी गर्ने शिक्षकलाई जीवनभर जेल

१३ जना छात्रालाई करणी गर्ने शिक्षकलाई जीवनभर जेल

एक दर्जन बढी छात्रालाई दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा इण्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कूलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ । ११ देखि १६ वर्षका १३ किशोरीलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई सो सजाय तोकिएको हो ।

धार्मिक शिक्षकसमेत रहेका विरावनले सन् २०१६ देखि छात्राहरुलाई बलात्कार शुरु गरेका थिए । उनीहरुमध्ये ८ जना गर्भवती भए र जसका तर्फबाट नौ जना बालबालिका जन्मिए । कुमारी छात्राका तर्फबाट बालबालिका जन्मिएको घटनालाई लिएर इण्डोनेसियामा ठूलो हंगामा मच्चिएको थियो ।

“उनीहरुमध्ये ८ जना गर्भवती भए र जसका तर्फबाट नौ जना बालबालिका जन्मिए ।”

विरावनमाथि मृत्युदण्डको सजाय माग गर्दै अभियोजनकर्ताले अदालतमा उजुरी गरेका थिए । तर, आज बाङडुङ जिल्ला अदालतका न्यायाधीशहरुको एउटा बेन्चले उनलाई आजीवन काराबासको सजाय तोकेको हो । त्यस्तै विरावनलाई नपुंशक बनाउनु पर्ने अभियोजकहरुको अर्को मागलाई भने बेन्चले अस्वीकार गरेको छ ।

पीडितहरुमध्येकी एक जनाका अभिभावकले छोरी गर्भवती भएको थाहा पाएपछि गत वर्षको मे महिनामा सो घटना सार्वजनिक भएको थियो । विरावनले सन् २०१६ देखि विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अदालतको फैसलामा उल्लेख छ । पश्चिमी जाभाको बाङडुङ शहरमा मुस्लिम बोर्डिङ स्कूल खोलेपछि उनले दुर्व्यवहारको धन्दा शुरु गरेका हुन् ।

टिप्पणीहरू