पुरुष देख्नासाथ उनी यस्तरी पग्लने
आजा मेरी बर्बाद
मोहब्बत के सहारे
है कौन जो बिगड्डी हुई
तकदिर संवारे ।
आये भी न थे खुश्क हुए
आँखों में आँशु
निकले भी न थे लुट
गए अरमान बेचारे ।
अञ्जामे मोहब्बत
हमें मालुम है लेकिन
लेते हैं तेरे घुम
में उम्मीदों के सहारे ।
था दिल को फकत तेरी
मोहब्बतका सहारा
हमने इसी उम्मीद पे
दिन अपने गुजारे ।
हिन्दी फिल्म अनमोल घडीको यो गीतका रचनाकार तनवीर नकवी, संगीतकार नौशाद अलि, गायिका नूरजहाँ । गीतको छायांकन नायिका नूरजहाँमाथि नै । गीतहरूकै कारण सर्वाधिक सफल यो फिल्म सन् १९४६ मा प्रदर्शित भएको थियो र नायक थिए, सुरेन्द्र अनि नायिका नूरजहाँ अनि सुरैया ।
सन् १९४२ मा नूरजहाँ लोकप्रिय नायिका र गायिका बनिसकेकी थिइन् । कोल्हापुरमा फिल्मको छायांकन हुँदै थियो । नूरजहाँ गीत गाउने सिलसिलामा त्यहाँ पुगेकी । फिल्ममा एउटी बालिका पनि अभिनय गर्दै थिइन् । निर्माताले बालिकासँग परिचय गराउँदै नूरजहाँलाई भने ‘यिनी लता हुन् । यिनी पनि गाउँछिन् ।’
नूरजहाँले भनिन्, ‘ल ठीक छ, एउटा गीत गाएर सुनाऊ ।’
लताले शास्त्रीय संगीतमा आधारित गीत सुनाइन् । उनले गीत गाउँदै गइन्, नूरजहाँ सुनिरहिन् । गीत सुनिसकेपछि नूरजहाँले भनिन्, ‘तिम्रो गायकी राम्रो छ । बस्, रियाज गर्दै जानु, प्रगति गर्नेछौ ।’
स्मरणीय छ, परिवार चलाउन चलचित्रमा स–सानो भूमिकामा अभिनय गर्ने तिनै बालिका भविष्यमा कोइलीजस्तो सुरिलो स्वरले गीत गाउने लता मंगेशकरको नाउँबाट विश्वप्रसिद्ध बनिन् । जसको निधन २५ दिन अघि मात्र भएको छ । त्यसैले पनि होला, लता नूरजहाँलाई आफ्नो आदर्श मान्थिन् । लताले पाश्र्वगायनमा प्रसिद्धि कमाएपछि नूरजहाँ पनि त्यसबाट प्रभावित नभई बस्न सकिनन् । त्यसैले लतासित भेट्न सन् १९७१ मा भारत–पाकिस्तान युद्धताका दुई देशबीचको सीमा ‘नो म्यान्स ल्याण्ड’ सम्म पुगिन् ।
धेरै समालोचकहरूको राय छ, भारत विभाजनपश्चात् नूरजहाँले पाकिस्तानतिर बसाइँ नसारेको भए लताको उदय हुने नै थिएन । नूरजहाँ सन् १९४७ मा पाकिस्तानतर्फ लागिन् भने २ वर्षपछि सन् १९४९ मा प्रदर्शित चलचित्र ‘महल’ को गीत ‘आएगा आने वाला आएगा’ पछि मात्र लताले चलचित्र जगतको भुइँमा बलियोसित टेक्न सकिन् ।
नूरजहाँले भारत विभाजन अघिसम्म महिला पाश्र्वगायनमा एक हदसम्म एकछत्र राज गरेकी थिइन् । त्यसैले विभाजनपछि पनि भारतमै बसेका नायक दिलिपकुमारसित त्यो बेला एकजना पत्रकारले सोधेका थिए, ‘मुलुकको विभाजनले मुम्बईको फिल्म र संगीत उद्योगलाई सबैभन्दा ठूलो घाटा के भयो ?’ उनले जवाफ दिए, ‘नूरजहाँ मुम्बई छाडेर पाकिस्तान जानु नै सबैभन्दा ठूलो घाटा हो ।’
ब्रिटिशकालीन भारतको पन्जाबमा जन्मेकी नूरजहाँको बाल्यकालको नाउँ अल्ला वसइ हो । आमा–बुबा दुबैजना नाट्यघरमा काम गर्ने भएकाले घरको वातावरण संगीतमय थियो । त्यसैले सानैमा अल्लाले गायनमा सोख देखाइन् । आमा–बुबाले पनि छोरीको रुचिअनुरुप संगीत सिक्ने व्यवस्था गरिदिए ।
उनले कज्जनबाई, उस्ताद गुलाम मुहम्मद र गुलाम अलि खाँबाट संगीत र गायन सिकिन् । चार वर्षकै उमेरमा सन् १९३० मा नबोल्ने चलचित्र ‘हिन्दके तारे’ मा अभिनय गर्ने मौका पाइन् । त्यसपछि कोलकाता गएर ११ वटा नबोल्ने चलचित्रमा अभिनय गरिन् र चर्चित बालकलाकार बनिन् । सन् १९३२ मा रिलिज भएको चलचित्र ‘शशी पुन्नु’ उनी अभिनीत पहिलो बोल्ने चलचित्र हो ।
सोही वर्ष प्रदर्शित ‘गुल–ए–बकावली’मा एउटा गीत गाइन् । बोल थियो ‘साला जवानीयां माने’ । ६ वर्षकी बालिकाले गाएको त्यो गीत सबैले मन पराइदिए । ३ वर्ष कोलकाता बसेर लाहौर गइन् । स्टेज शोमा भाग लिइन् । एउटा गीत गाएबापत साढे सात आना पाउँथिन् ।
त्यो उतिबेलाको राम्रो पारिश्रमिक थियो । गुल ए बकावलीबाट अभिनय र गायन दुबैमा राम्रो छाप छोड्न सफल, उनी सन् १९४२ मा रिलिज भएको फिल्म ‘खानदान’ को सफलतापछि फिल्म इण्डष्ट्रिजमा राम्रोसँग स्थापित भइन् । उनले गाएको खानदानको एउटा गीत ’कौनसी बदली में मेरी चाँद आ जा’ निकै हिट भयो । त्यसपछि मुम्बई पुगिन् । जहाँ शौकत हुसैनसित भेट भयो ।
शौकत हुसैनद्वारा निर्देशित ‘नौकर’, ‘जुगनू’ जस्ता फिल्ममा काम गरिन् । उनी हरेक पटक गायनमा नयाँ शैली अपनाउँथिन् । जस्तो गाह्रो गीत पनि गाउँथिन् । यही कारण उनी ‘ठुमरीकी महारानी’ कहलिन थालिन् ।
यसपछि प्रदर्शित चलचित्र दुहाई, दोस्त, बडी माँ र भिलेज गर्लले उनको गायनलाई शिखरमा पु¥याइदियो । यसरी नै सन् १९४५ मा रिलिज भएको फिल्म ‘जिनत’ र १९४६ को ‘अनमोल घडी’ मा गाएका गीतले पाश्र्वसंगीततर्फ उनलाई एक नम्बरमा पु¥याइदियो ।
यसबीच सन् १९४७ मा भारत विभाजन भएर पाकिस्तान बन्यो । नूरजहाँ पनि पाकिस्तान गइन् । तर, त्यो बेला नयाँ बनेको मुलुक पाकिस्तानमा चलचित्रको बिकास हुन सकेको थिएन । त्यसैले चलचित्र बनाउन थालिन् । उनले बनाएका प्रायः सबै फिल्म हिट भए ।
सन् १९५२ मा दुपट्टा बन्यो । उक्त फिल्ममा नूरजहाँले गाएका सबै गीतले पाकिस्तान र भारतमा धूम मच्चायो । त्यसपछि भने उनको गायन र अभिनयलाई कसैले रोक्न सकेन । उनले करिब २० हजार गीत गाइन् । पाकिस्तानका जनताले औधी मन पराए । उनले पाकिस्तान सरकारको तर्फबाट ‘मल्लिका ए तरन्नुम’ (सुरिलो स्वरकी साम्राज्ञी) को उपाधिसमेत पाइन् ।
पाकिस्तान मुस्लिम मुलुक हो । यस्तोमा विशेषतः महिलामाथि थुप्रै प्रतिबन्ध हुन्छ तर नूरजहाँ त्यस्ती महिला थिइन्, जसले सधैं लो कट ब्लाउज लगाउँथिन्, पेट र पछाडिको भाग खुल्लै हुन्थ्यो । उनी आकर्षक युवक देख्न मरिमेट्थिन् । पाकिस्तानकी अर्की गायिका फरिदा खानम र नूरजहाँ मिल्ने साथी थिए । दुबै रंगीन स्वभावका । लाहौरको सडकमा गाडी लिएर घुम्न जाने ।
सडकमा राम्रो युवक देखेपछि गाडी रोक्ने र ती युवकलाई मन भरुञ्जेल हेर्ने । उनी युवकलाई देख्नेबित्तिकै मदहोस हुने मात्र होइन, अश्लील व्यंग्यसमेत गर्थिन् । उनको वाक्य सज्जन मान्छेले सुन्नै नसक्ने खाले हुन्थ्यो । अलि अदनान पाकिस्तानका चर्चित पत्रकार हुन् । उनीसितको एउटा अन्तर्वार्तामा नूरजहाँले जीवनमा आफूले ३२ जनालाई प्रेमी बनाएको खुलासा गरेकी थिइन् । उनी बिनाहिच्किचाहट भन्थिन्, ‘नवयुवक देखेपछि मेरो शरीरमा काउकुती लाग्न थाल्छ ।’
याह्या खाँ पाकिस्तानी सेनापति र पछि सत्ता कब्जा गरी सन् १९६९ मा राष्ट्रपति । निकै शक्तिशाली नेता । उनी पनि नूरजहाँलाई मन पराउँथे र उनको गायनका ठूलो प्रशंसक थिए । एकपटक नूरजहाँ लण्डनबाट लाहौर फर्कने क्रममा कराँचीमा रोकिइन् । रेडियो स्टेशनका प्रबन्धकले सोचे, यही मौकामा गीत रेकर्ड गर्नुपर्छ । उनले तत्कालै नूरजहाँलाई लिन गाडी पठाइदिए । धडाधड ३ वटा गीत रेकर्ड गर्न लगाए । गीत रेकर्ड सकेर नूरजहाँले ‘याह्या खाँसित मेरो कुरो गराउनू’ भनिन् ।
कुरा सुनेर स्टेशन मेनेजरको ओंठ, तालु सुक्यो । जाबो एउटा स्टेशन मेनेजरले राष्ट्रपतिसँग कुरो गर्ने हिम्मत जुटाउनु कसरी ? उनी अक्मकिएर बसेको देखेपछि नूरजहाँ आफैँले फोन तानिन् र नम्बर डायल गरिन् । ‘हेल्लो ‘चाँद, मैले आज ३ वटा गीत रेकर्ड गरेकी छु, भरे ८ बजे रेडियोमा सुन्नू ।’ यति भनेर फोन राखिदिइन् । मेनेजर अप्ठेरोमा परे किनभने बेलुकी ८ बजे त समाचारको समय थियो । उनले डराउँदै महाप्रबन्धकलाई फोन गरे ।
महप्रबन्धकसँग पनि समस्या समाधान गर्ने सामथ्र्य थिएन । उनले सैनिक मुख्यालयमा फोन गरी हल निकाले । त्यस दिन बेलुकी ८ बजेको समाचारलगत्तै नूरजहाँद्वारा गाइएका तीनैवटा गीत प्रशारण भयो । उनी र जनरल याह्या खांबीच निकट सम्बन्धको अनुमान यो कुरोले पनि लगाउन सकिन्छ कि फाँसी दिन लागिएका एकजना कैदी मुहम्मद अकमल, जसले दिमागी सन्तुलन गुमाइसकेका थिए, लाई एक फोनको भरमा फाँसी दिनबाट रोकेकी थिइन् ।
नूरजहाँले बिहे नगरेकी भने होइनन् । १६ वर्षकै उमेरमा फिल्म निर्माता–निर्देशक शौकत हुसैनसित बिहे गरेकी हुन् । शौकतसँग जीवन बिताउँदै गर्दा नामी क्रिकेटर नजर मोहमदसित अफेयर चलाइन् । एकदिन शौकत निर्धारित समयभन्दा अगाडि नै घर पुगे । त्यो बेला नूरजहाँ नजरसँग प्रेमालापमा व्यस्त थिइन् । शौकत आइपुगेको थाहा पाउनेबित्तिकै नजर घर पछिल्तिरको झ्यालबाट हाम्फालेर भागे ।
यसक्रममा दायाँ हात भाँचियो र असमयमै क्रिकेटबाट सन्न्यास लिनुप¥यो भने यसै घटनाको कारण नूरजहाँ र शौकतको ११ वर्ष लामो दाम्पत्य जीवनको अन्त्य भयो । त्यसपछि आफूभन्दा ९ वर्ष कान्छो अर्का फिल्म अभिनेता, निर्देशक एजाज दुर्रानीसित बिहे गरिन् । उनीसँग पनि ११ वर्ष बिताइन् । दुबै लोग्नेबाट ३/३ सन्तानको आमा बनिन् । यसबाहेक अर्का अभिनेता युसुफ खानको पनि ‘पार्टनर’ भई जीवन काटिन् ।
देशको विभाजनपछि एकपटक मात्र सन् १९८२ मा भारत पुगेकी थिइन् । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी, गायिका लता मंगेशकर, अभिनेता दिलीपकुमारलगायतसित भेटिन् । उनी पाकिस्तानकी प्रथम महिला फिल्म निर्देशक पनि हुन् । नूरजहाँको निधन ७५ वर्षको उमेरमा सन् २००० मा कराँचीमा भइसकेको छ ।
टिप्पणीहरू