चितवनमा क्रिकेट, हेटौंडामा तेक्वान्दो

चितवनमा क्रिकेट, हेटौंडामा तेक्वान्दो

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुषतर्फको जारी क्रिकेट खेलमा धादिङ र चितवन सेमिफाइनल प्रवेश गरेका छन् ।

हिजो भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । धादिङले रनको लक्ष्य पुग्न १९ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाई सेमिफाइनल यात्रा तय गरेको छ । आज हुने सेमिफाइनलमा धादिङले काभ्रेसँग खेल्दैछ ।

त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले १० विकेट गुमाउँद्र १९.५ ओभरमा २ सय १७ रन बनाएको थियो । नुवाकोटले २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । चितवन १ सय ४ रनले विजयी भएको छ । विजयसँगै चितवनले आज मकवानपुरसँग सेमिफाइनल खेल खेल्ने खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए ।

आजको पहिलो सेमिफाइनल खेलमा मकवानपुर र चितवन तथा दोस्रो खेल काभ्रे र धादिङबीच हुनेछ । प्रतियोगितामा सिन्धुली जिल्लाले सहभागिता जनाएको छैन ।

यता काठमाडौंमा आजबाट एथलेटिक्स प्रतियोगिता हुँदैछ । खेल दशरथ रंगशालामा हुनेछ । सिन्धुपाल्चोकमा भोलिबाट कराँते खेल हुँदैछ भने काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा आठ करोड चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विभिन्न खेलमा दुई हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउँदैछन् । खेलको समापन आगामी शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

हेटौंडामा तेक्वान्दो उद्घाटन

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलको उद्घाटन भएको छ ।

भोलिसम्म सञ्चालन हुने खेलमा हिजो ५३ केजी मुनिको महिलातर्फ धादिङकी प्रतिका तामाङलाई हराउँदै सिन्धुपाल्चोककी अन्जली तामाङ फाइनल प्रवेश गरेकी छन् । त्यसैगरी दोलखाका अनुका जिरेललाई हराउँदै काठमाडौंकी रमिला रोक्का पनि फाइनल प्रवेश गरेकी छन् ।

५४ केजी मुनिको पुरुषतर्फ मकवानपुरका विप्लव वाईवालाई हराउँदै काभ्रेका रोशन केसी फाइनल पुगेका छन् । भक्तपुरका सञ्जय लामालाई हराउँदै दोलखाका रोशन खत्री फाइनल प्रवेश गरेको खेल संयोजक माधव कोइरालाले बताए । बाँकी खेल आज हुँदैछ ।

हेटौंडामा आजै मकवानपुर र ललितपुरबीच फुटबलको फाइनल प्रतिस्पर्धा हुँदैछ । हेटौंडाको क्याम्पा रंगशालामा दिउँसो फाइनल खेल हुने खेल संयोजक कल्पना शर्माले जानकारी दिइन् ।

टिप्पणीहरू