यी गाउँ जहाँ पुरुषको शासन चल्दैन

यी गाउँ जहाँ पुरुषको शासन चल्दैन

ब्राजिलमा सरकारी कामकाजको भाषा र राष्ट्रिय भाषा पोर्चुगिज हो । चौधौं र पन्ध्रौं शताब्दीताका मध्य र दक्षिण अमेरिकाका अधिकांश मुलुक स्पेनको अधीनमा गए तर ब्राजिललाई भने पोर्चुगलले नियन्त्रणमा लिन सफल भयो । त्यसैले यहाँ पोर्चुगिज भाषाको बिगबिगी चल्यो । नोइभा डो कोर्डेरो ब्राजिलको दक्षिण–पश्चिममा पर्छ । बेलो भाले नगरमा पर्ने दुइटा पहाडको बीचमा छ । नोइभा डो कोर्डेरो पोर्चुगिज शब्द हो । यसको नेपालीमा अर्थ हुन्छ ‘भेडाकी दुलही ।’

यो गाउँको विशेषता हो, महिला शक्ति । यहाँ ६ सय हाराहारीमा मानिस बसोवास गर्छन् तर तीमध्ये ९०% प्रतिशत महिला । बाँकी १० प्रतिशत पुरुषमध्ये प्रायः सबै केटाकेटी । यो गाउँमा वयस्क पुरुष नै छैनन् भन्दा पनि हुन्छ । ६ सयमध्ये ३ सय वयस्क युवती छन् जो अरूले जस्तै बिहे गर्न चाहन्छन् । विपरीतलिंगीसित प्रेम गर्न र सबैखाले रमाइलो गर्न चाहन्छन् तर अफसोच त्यसो गर्नलाई पुरुष पाउँदैनन् । जबकि त्यो गाउँ सुन्दरी युवतीहरूको गाउँको नामले पनि उत्तिकै प्रसिद्ध छ । कतिपय महिला विवाहिता छन् तर नियमानुसार आफ्नो गाउँमा बस्न पाउँदैनन् अर्थात् अन्यत्रै बस्छन् । यहाँका पुरुषले गाउँको नियम नमानी सुखै छैन किनभने सबै नियम महिलाहरू मिलेरै बनाउँछन् । नारीहरूकै दबदबा भएकाले यहाँ पुरुषको केही चल्दैन । छोरा मान्छे पनि १८ वर्षको हुनासाथ गाउँबाट धपाइन्छ ।

नियम यति कडा कि, गत साल अमेरिकी महादेशलाई कोभिड १९ ले छपक्कै छोपेका बेला महिलाद्वारा सञ्चालित यहाँको प्रशासनले गाउँमा कसैलाई छिर्नै दिएन न कसैलाई बाहिर जान दिइयो, फलतः एक जना पनि कोरोनाले मरेनन् । पुरुषको आवश्यकता यहाँका महिलाको चासोको विषय नै रहेन कहिल्यै । गाउँमा झैझगडा कहिल्यै हुन्न । सबैबीच उत्तिकै आत्मीयता छ । कसैलाई कुनै समस्या भइहाले सबै मिलेर समाधान गर्छन् । भएभरको जमिन सबैको साझा । खेतीपाती मिलेरै, उत्पादन पनि बाँडचुँड गर्छन् । आजसम्म जमिनलाई लिएर झगडा परेको छैन । गाउँको कम्युनिटी हलमा सबै भेला भएर ठूलो स्क्रिनमा टिभी हेर्छन् । समय पर्याप्त छ त्यसैले एकले अर्कोलाई सिँगारेर, गफ गरेर समय बिताउँछन् ।

सन् १८९१ मा मारिया सेनारोना डी लिमा नामक एउटी महिलामाथि चरित्रहीनको आरोप लाग्यो र गाउँबाट निश्कासित भइन् । धपाइएपछि घुम्दै यो गाउँ आइपुगिन् अनि यसैलाई आश्रयस्थल बनाई बस्न थालिन् । समयको अन्तरालमा विस्तारै उनले विधवा, लोग्नेले छाडेका र अविवाहित महिलालाई यो गाउँमा ल्याई बसाल्न थालिन् र उनीहरूसित मिलेर एउटा कम्युनिटी बनाइन् । महिलाको वर्चश्व रहेको गाउँ भन्ने देखाउन यहाँका सबै घर गुलाबी रंगले पोतियो । रूख एउटै उचाइमा काटियो अनि त्यसमा रिबन बाँधेर सजाइयो । यो प्रचलन आजपर्यन्त चलेकै छ ।

सन् १९४० मा एनिसियो पेरेरा नामक एकजना पादरी गाउँ पसे । उनले भर्खर १६ वर्षमा पाइला टेकेकी किशोरीसँग बिहे गरी एउटा चर्च बनाए । एउटा समाज स्थापना गरे । त्यसपछि चलाए पितृसत्तात्मक व्यवस्था । महिलाले मदिरा सेवन गर्न, संगीत सुन्न, कपाल काट्न, गर्भनिरोधको उपाय अपनाउन नपाउनेजस्ता नियम लादे । यसबीच सन् १९५५ मा ती पादरीको निधन भयो । तब, गाउँका सबै महिलाले प्रण गरे कि अबआइन्दा यहाँ कुनै पनि पुरुषको शासन चल्ने छैन । उनीहरूले पादरीले बनाएका सबै सामाजिक, धार्मिक नियम खारेज गरे । चर्चसमेत ध्वस्त पारे । पादरीको अस्तित्व नै नामेट बनाए । पुरुषबिना रहने निधोसमेत गरे । विवाहित पुरुष गाउँमा प्रवेश गर्नसम्म पाउने तर हप्तामा एकपटक मात्र आएर परिवारसित भेट्न सकिने नियम बनाए ।

यो गाउँका महिला निकै लामो समयसम्म पुरुषबिना रहे । विवाहिताले साताको एक दिन लोग्नेसित बिताउने र अविवाहिताले पुरुषसित सम्पर्कै नगर्ने । सन् २०१४ सम्म पनि मातृसत्तात्मक यो गाउँबारे धेरैले जानकारी नै पाएनन् । तर, सन् २०१४ मा यही गाउँ निवासी २३ वर्षीय नेल्मा फर्नान्डेजले सामाजिक सञ्जालमा एउटा अपिल जारी गरी यो गाउँका महिला पुरुषको सामीप्य पाउन लालायित भइरहेको जानकारी दिएपछि बल्ल यसको गाउँको चर्चा सर्वत्र चल्यो ।

उनको अपिल यस्तो थियो, ‘यहाँका हामी युवतीले जो पुरुषसित भेट्न पाउँछौँ ती या त हाम्रा नातेदार हुन्छन् या त विवाहित । यहाँ हामी सबैजना एकापसमा नातेदार हुन्छौं । मैले धेरै भयो कोही पुरुषसित ‘किस’ खान पाएको छैन । हामी युवती माया पाउन र बिहे गर्न लालायित छौँ । तर, यसो भन्दैमा यो अर्थ होइन कि हामी यहाँ बस्नै चाहन्नाँै । हामी यहीँ बस्छौँ । हामीलाई यो ठाउँ मन पर्छ । यहाँको नियम कानुन पनि । तर, हामी एक जना लोग्नेका लागि यो गाउँ छाड्न चाहन्नौँ । यहाँको नियमसँग सम्झौता गर्न पनि चाहन्नौँ ।’

नेल्मालाई यो पनि थाहा थियो कि यो अपिल पढेर युवाहरूको मन भाँडिन सक्छ, ती गाडी या विमान चढेर तुरुन्त गाउँ पस्न सक्छन् । त्यसैले उनले अपिलसँगै आफ्नो गाउँ प्रवेश गर्न चाहने युवालाई सचेत गराउँदै भनिन् – नोइभा डो कोर्डेरो गाउँ आउन चाहनेले यहाँको नियम अनिवार्य मान्नै पर्छ । उनले यो पनि लेखिन् कि पुरुषले गर्न सक्ने तर महिलाले गर्न नसक्ने काम कुनै छैन । अझ कतिपय काम पुरुषभन्दा महिलाले राम्रो गर्न सक्छन् । त्यसैले पुरुषले हामीले भनेको कुरो मान्नै पर्छ । हाम्रो मातहत चल्नै पर्छ । नभन्दै नेल्माले सोचेजस्तै यी कुरा लेखेको २४ घण्टाभित्रै फेसबुक पेजलई १५ हजार पुरुषले ‘लाइक’ गरे भने हजारौंले बिहे गर्न उत्सुकता देखाए । तीमध्ये तोफी गुएस्टीले कमेन्टमा लेखे, ‘म ३१ वर्षीय केटो । तिम्रो गाउँ आउन चाहन्छु । बिहे गर्न पनि इच्छुक छु ।’

विश्वमा महिलाले मात्र प्रशासन चलाएको यो एउटा मात्र गाउँ होइन । विभिन्न मुलुकमा यस्ता उदाहरण पाइन्छन् । अफ्रिकी मुलुक केन्याको एउटा गाउँ उमोजा पनि उस्तै । यो उत्तरी भेगमा छ । यो गाउँ बसालिएको धेरै भएको छैन । सन् १९९० मा केन्यामा खटिएका ब्रिटिश सैनिकद्वारा बलात्कृत १५ युवतीले यो गाउँको स्थापना गरेका हुन् । बलात्कृत युवतीहरूको नेतृत्व रिबेका लोलोसोलीले गरेकी थिइन् जो आफैँ पनि बृटिश सैनिकको सामूहिक बलात्कारको शिकार बनेकी थिइन् ।

उनलाई बलात्कृत हुनुअघि र पछि सैनिकहरूले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । उनी लामो समय अस्पतालमा बसिन् र जब उपचार सकेर फर्किन् महिला अधिकारका लागि लड्नुपर्ने चेतना पलायो । उनी साम्बुरु गाउँकी थिइन् । गाउँको हरेक समस्यामा पुरुष मात्र बसेर निर्णय गर्ने, महिलालाई निर्णयमा सहभागी नै नबनाउने कुरा मनमा बिझ्यो । मासाइ जनजातिका महिला, विशेषतः बिदेशी सेनाद्वारा बलात्कृत भएकाहरूलाई संगठित गरिन् । सँगैको गाउँ उमोजालाई आफूहरूको आश्रयस्थल बनाइन् । पुरुषको सहयोगबिना व्यापार गर्न, केटाकेटी हुर्काउन सिकाइन् । गाउँमा पुरुषलाई प्रवेश निषेध यसकारण गरिन् कि गाउँका महिला पुरुषबाट हुने डर, त्रास, हिंसाबाट मुक्त हुन सकुन् ।

यतिखेर उमोजामा ४७ जना महिला र करिब २ सय केटाकेटी बसोवास गर्छन् । शुरुमा बलात्कृत महिला मात्र बस्ने गरे पनि यतिखेर लोग्नेबाट पीडित, हिंसामा परेका, विभिन्न कारणले गाउँबाट भाग्न विवश महिलाको सुरक्षित वासस्थान बनेको छ यो गाउँ । गाउँमा आइपर्ने सबै समस्या महिला मिलेर समाधान गर्छन् । छिमेकी गाउँका पुरुषहरूले बेलाबखत आक्रमण नगरेका होइनन् तर सबै मिली डटेर सामना गरे । प्रौढ महिला सेइता लेङमा भन्छिन्, ‘यो गाउँ महिलाका लागि सुरक्षित छ । यहाँ महिलाकै राज चल्छ ।’

यहाँ पुरुषहरू आउँछन् । तर रात बिताउँदैनन् । महिलाले बनाएको नियम मान्ने पुरुष मात्र आउन सक्छन् । त्यसैले पनि होला, यहाँका हरेक महिलाका धेरै सन्तान छन् । ३३ वर्षीया साम्मी कामिया भन्छिन् ‘मेरा ५ सन्तान छन्, सबैको बाउ बेग्लाबेग्लै हुन् ।’

टिप्पणीहरू