कसरी बढ्यो सडक चौपायाको संख्या ?
पछिल्लो समय मुलुकभर सडक पशुको संख्या बढ्दो छ । घरपालुवा पशुलाई सडकमा ल्याएर छाड्ने क्रम बढेकाले सडक पशुको संख्यामा उल्लेखीय बृध्दि भएको हो । यसबाट पछिल्ला दिनमा कुकुर,गाई, गोरुलगायतका घरपालुवा जनावरको अवस्था निकै दयनीय बन्न पुगेको छ । मानिसमा मानवता हराएकाले ती पशुलाई आफ्नो पेट पाल्नका लागि निकै संघर्ष गर्नुपर्ने स्थिति आएको हो ।
राजधानी काठमाडौंमा सडकैपिच्छे यस्ता बेवारिसे चौपाया भेटिन्छन् । भक्तपुर र ललितपुरमा पनि यस्ताको संख्या उल्लेखनीय रुपमा बढेको छ । आफूलाई फाइदा हुने बेलासम्म पाल्ने र बूढो वा रोगी भएपछि फाल्ने प्रवृत्ति जताततै देखिएको हो । यस कारण सडक किनार र सार्वजनिकस्थलमा चौपायाहरु बढ्दैछन् ।
जबसम्म गाईले दूध दिन्छ तबसम्म त्यसलाई घरमा पाल्ने गरिन्छ । यस्तै, गाईले बाच्छी पाए घरमा राख्ने तर बाच्छो पाए सडकमा लगेर छाडिन्छ । कुकुरलाई पनि बूढो भइसकेपछि सडकमा ल्याएर छाड्ने गरिएको छ । गाईवस्तुभन्दा पनि कुकुरको संख्या उपत्यकामा धेरै देखिन्छ ।
पशुपालकले आफ्नो फाइदा हेरेर सडकमा चौपाया छाडिदिँदा शहरको सुन्दरतामा ह्रास आएको छ । छाडा चौपायाका कारण सडकमा फोहोर हुने गरेको छ । त्यसैगरी चौपायाका कारण सडक दुर्घटना पनि बढ्ने गरेको छ ।
छाडा चौपाया व्यवस्थापन उपत्यकाको प्रमुख समस्यामध्ये एक बनेको छ । यिनीहरुको नियमन, व्यवस्थापन र नियन्त्रण कसले गर्ने भन्नेमा एकमत छैन । छाडा चौपाया नियन्त्रणका लागि विभिन्न विधि अपनाइए पनि प्रभावकारी नभएको हो । रातमा लुसुक्क ल्याएर चौपाया सडक छेउछाउ छाडिन्छन् । तर, नियमनकारी निकायले कसको पशु हो भनेर खोजतलास गर्ने गरेको पाईंदैन ।
यता,काठमाडौंको कागेश्वरी नगरपालिका ५ को स्थिति पनि त्यस्तै छ । जथाभावी छाडिएको पशुको संरक्षण र व्यवस्थापनमा नगर निष्क्रिय देखिन्छ । हाल मनोहरा फाँटमा एक दर्जनभन्दा बढी गाईवस्तु छाडिएका छन् । पेप्सीकोलादेखि साँखुसम्म जोडिएको उक्त फाँटमा छाडा कुकुर पनि उत्तिकै छन् ।
ती चौपायाको स्थिति क्रमशः दयनीय हुँदै गएको छ । खानाका लागि एक अर्काबीच लुछाचुँडी हुने गरेको छ । धेरै दिनदेखि भोका कुकुरले सडकमा ओहोरदोहोर गर्ने सर्वसाधारणलाई नै खाउँलाझैँ गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरुले त्यस्ता कुकुरले स्थानीयलाई आजित बनाए पनि नगरले त्यसको व्यवस्थापनमा कुनै कदम नचालेको भन्दै आलोचना गरेका छन् ।
भोकले रन्थनिएका कुकुरले खान नपाएपछि मान्छे टोक्न बेर लगाउँदैनन् । तर, यस विषयमा नगरपालिका र वडा कार्यालय हालसम्म मौन बसेका छन् । नियमनकारी निकाय नै मौन बस्दा पशुपालकहरु अझ बढी स्वेच्छाचारी देखिएका हुन् । सो क्षेत्रमा रातको समय चौपाया छाड्ने गरेको स्थानीय बताउँछन् ।
त्यस्तै, घरपालुवा जनावरलाई सडकमा छाड्नु निरीह प्राणीमाथिको अत्याचार भएकाले यसलाई गैरकानुनी मानिन्छ । पशु पाल्न निश्चित मापदण्ड नबनाईंदा पनि यस्ता गैरकानुनी कार्यलाई प्रोत्साहित गरिएको पाइएको हो । सडकमा छाडिएका पशुलाई यातनासमेत दिने गरेको भेटिएको छ ।
अनुमतिबिना पशु पाल्नमा रोक लगाउने हो भने सडक पशुको संख्यामा कमी आउने जानकारहरु बताउँछन् । मनलाग्दा पाल्ने, नलाग्दा सडकमा ल्याएर छाड्ने कार्य पशुमाथि ज्यादती भएको पशु अधिकारवादीहरुको ठहर छ । पशु नियन्त्रणका लागि स्थानीय सरकारले ऐनकानुन नै संशोधन गर्नुपर्ने खाँचो देखिएको हो । फितलो ऐनका कारण पनि यस्ता अमानवीय गतिविधिहरु बढेको ती अधिकारवादीहरुको भनाइ छ ।
लुसुक्क ल्याएर छाड्ने प्रवृत्तिले चौपायाको संख्या बढ्यो : नगरपालिका
कागेश्वरी नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनीले रातमा लुसुक्क ल्याएर चौपायाहरु छाड्ने गरिएकाले यस्तो अवस्था आएको बताइन् । ‘निधारमा ट्याग लगाएको भए पो कसको हो भनेर थाहा पाइन्थ्यो र कारबाही गर्न सहज हुन्थ्यो,’ उनी भन्छिन् । साथै, यसमा स्थानीय आफैं पनि कर्तव्यनिष्ठ हुनुपर्ने उनको धारणा छ । नगर मात्र नभई स्थानीय नागरिक आफैं पनि जिम्मेवार हुने हो भने सडकमा छाडिएको पशुको संख्या कम हुने उपप्रमुख पुडासैनीको बुझाइ छ ।
पशु संरक्षणका लागि वडा सक्रिय : वडा कार्यालय
कागेश्वरी नगरपालिका ५ का वडासदस्य मधु घोरासाइनीले सडकमा छाडिएका पशुको संरक्षणका लागि वडाले विभिन्न कार्यक्रम ल्याएको दाबी गरेका छन् । गाई गोरुको संरक्षणका लागि अभियान नै चलाएको उनी बताउँछन् । अभियान चलाएपछि त्यस्ता पशुको संख्यामा एक हदसम्म कम भएको वडा सदस्य घोरासाइनीको बुझाइ छ । छाडा कुकुरको व्यवस्थापनमा पनि वडाले यथासक्य छिटो कार्यक्रमहरु ल्याउने उनले जानकारी दिए ।
पशुसम्बन्धी कानुन नै छैन : पशु विभाग
पशु विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले पशुसम्बन्धी कुनै कानुन नै नभएकाले यस्तो अवस्था आएको बताए । ‘विभागले छिट्टै कानुन बनाएर कार्यान्यवनमा ल्याउन लागेको छ,’ उनले भने । कानुन र नीति नियमको अभावमा छाडा चौपायाको संख्या बढेको हो । त्यसैले छिट्टै नियम बनाएर कार्यान्वयनमा लैजाने उनको दाबी छ ।
पशुप्रति सरकार जिम्मेवार छैन : स्नेहा केयर
स्नेहा केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले स्थानीय तह गैरजिम्मेवार हँुदा छाडा चौपायाको संख्या बढेको बताइन् । नगरपालिकासँग पशु संरक्षणका निम्ति बजेट भए पनि हेलचेक्रयाईं गरिएको उनी बताउँछिन् । हाल नगरपालिकाहरुसँग पशुको उपचारका लागि एम्बुलेन्स र पशु चिकित्सक समेत नभएकोमा उनको गुनासो छ । आफैंले कति ठाउँमा मालिकले नै पशु लगेर सडकमा छाडेको देखेको बताउँदै भनिन्, ‘प्रहरीकोमा गएर नाम र ठेगानसहित उजुरी गर्दा पनि कारबाही भएन । स्थानीय सरकारले लापरवाही गर्दा पशुहरुको बेहाल भएको हो ।
उपत्यकामा मात्र नभई मुलुकभर नै छाडा चौपाया व्यवस्थापन एउटा ठूलो चुनौती बनेको छ । गाईबाच्छा छाड्ने काम सामाजिक अपराध हो । यस्तो कार्य गर्नेलाई सम्बन्धित निकायले कानुनअनुसार कारबाही गर्नुपर्ने पशु अधिकारकर्मीहरु बताउँछन् । कतिपय सर्वसाधारणमा रहेको अज्ञानताका कारण पनि पशुहरुको बेहाल भएको बताइन्छ ।
टिप्पणीहरू