पहिले चीन–भियतनाम र अहिले रुस–युक्रेन

पहिले चीन–भियतनाम र अहिले रुस–युक्रेन

त्यसबेला चिनियाँ नेता दङ सियाओ पिङ उपप्रधानमन्त्री थिए । सन् १९७९ को जनवरी २८ मा ९ दिने भ्रमणको लागि वासिंगटनतर्फ लागे । चीन जनवादी गणतन्त्र बनेपछि ३० वर्षको अन्तरालमा वरिष्ठ चिनियाँ नेताको यो पहिलो भ्रमण थियो । देङ त्यो बेला मर्यादाक्रममा तेस्रो नम्बरका थिए । त्यसैले अमेरिकाले ठूलै होसियारीसाथ स्वागत गर्यो । ह्वाइटहाउसभित्र सम्मानमा १९ तोपको सलामी चढाइयो । राष्ट्रपति जिम्मी कार्टरले स्वागत गर्दै भने, ‘यो समय पुनर्मिलन र नयाँ सुरुवातको हो । आज दुई मुलुकबीच मित्रता र मेलमिलापको दिन हो । लामो समयदेखि बन्द मित्रताको ढोका आज खुलेको छ ।’

अमेरिका भ्रमणको दौरान देङले ताइवानको प्रश्न उठाए । सोभियत संघबाट विश्वलाई खतरा हुन थालेको पनि बताए । कम्पुचियामाथि गरिएको भियतनामी सैन्य हस्तक्षेपलाई सोभियत संघले समर्थन गरेकोमा निन्दा गर्दै ‘भियतनामलाई पाठ पढाउन आवश्यक भइसकेको’ विचार व्यक्त गरे । स्वदेश फर्किसकेपछि देङ र विदेशमन्त्री ह्वाङ ह्वाले भ्रमण सफल भएको राय प्रकट गरे ।

साता नबित्दै चीनको ठूलो फौज भियतनामी सीमाभित्र प्रवेश गर्यो । जबकि यसअघि अमेरिकासँगको युद्धमा चीनले भियतनामलाई सैनिक, राजनीतिक र आर्थिक सहयोग गरेको थियो । सन् १९५४ को डिएनबियनफु युद्धमा भियतनामीले चिनियाँ हतियार र सैन्य निर्देशनकै भरमा फ्रान्सिसी सेनालाई पराजित गर्न सकेका थिए । अमेरिकासितको युद्धमा (सन् १९६४–१९७१) पनि ३ लाख सैनिक र प्राविधिक पठाएको थियो, जसमा तीमध्येका १० हजार चिनियाँ सेनाले ज्यान गुमाए ।

चीनले सन् १९५० र १९७८ को अवधिमा भियतनामलाई करिब २० अर्ब डलर बराबरको आर्थिक सहयोग गरिसकेको थियो । युद्धकालमा होस् वा युद्धपछि भियतनामको ध्वस्त सडक, रेलमार्गको पुनर्निर्माणलगायत अन्य इञ्जिनियरिङ कार्य तथा खाद्यान्न सप्लाई आफँैले गरिदिएको थियो । भियतनामलाई फ्रान्सिसी सेनाले सन् १८५८ मै कब्जा जमाएको हो । पछि सोभियत संघ र चीनको सहयोग र समर्थनमा हो चि मिन्हले फ्रान्सिसी सरकारविरुद्ध छापामार युद्ध थाले । र, सन् १९४५ मा उत्तरी भियतनाममा कम्युनिष्ट सरकार स्थापना गरे तर एकीकृत भियतनामका लागि सन् १९५४ सम्म फ्रान्सिसी र त्यसपछि अमेरिकी सेनासित लड्नुपर्यो किनभने दक्षिण भियतनाम उनीहरूकै नियन्त्रणमा थियो ।

चीनको यत्रो सहयोगको बावजुद पछि भियतनाम चीनमाथिको निर्भरता स्वीकार्न तयार भएन । उल्टै सोभियत संघसित मैत्रीको हात बढाएर सिमानामा निहुँ खोज्न थाल्यो । भियतनाममा बसोवास गरिरहेका चिनियाँमाथि दुव्र्यवहार गर्न थालियो, नतिजा १ लाख ६० हजार चिनियाँ त्यहाँबाट भागेर चीन पसे । भियतनामले सोभियत संघसित २५ वर्षीय मैत्री र सुरक्षा सन्धि गर्यो । सोभियत संघकै उक्साहटमा लाओसमा समेत हस्तक्षेप गर्यो । कम्पुचियामा पोलपोटको सरकार थियो, जसलाई चीनले समर्थन र सहयोग गर्दै आइरहेको थियो । सोभियत संघको सहयोग र समर्थनमा भियतनामले त्यहाँ पनि सैनिक हस्तक्षेप गर्यो र पोलपोटको सरकार ढालिदियो । आफ्नो कठपुतली हेङ सामरिनलाई सत्तारुढ गर्यो ।

भियतनामको एकपछि अर्को कदमले चीनको पारो तात्यो । ऊ कम्पुचियामा पोलपोटको सरकार पुनःस्थापना भएको हेर्न चाहन्थ्यो । भियतनाम सोभियत संघको सुरक्षा छातामुनि होइन, आफ्नै साथमा बसोस् भन्ने चाहन्थ्यो । विकासका लागि आवश्यक आर्थिकलगायत अन्य सहयोग आफैँले दिन पाइयोस् भन्ने चाहन्थ्यो । उल्टो भियतनामले सोभियत संघको धाप पाएर स्प्राट्ली द्वीपमा पनि दाबी ग¥यो । दक्षिण चीन सागरमा अवस्थित यो द्वीपसमूहमा पहिल्यैदेखि चीनलगायत मलेसिया, फिलिपिन्स र ताइवानको पनि दाबी थियो । भियतनामको एकपछि अर्को हर्कतले चीन रुष्ट बन्यो । देङले अमेरिका भ्रमणको दौरान भियतनामलाई ‘आवश्यक पाठ पढाउन जरुरी भइसकेको’ भन्नुको तात्पर्य शायद यही थियो ।

‘पाठ पढाउने’ आशयसहित चीनले सन् १९७९ को फ्रेब्रुअरी १७ मा अढाई लाख सैनिक, सयौं ट्यांकर र लडाकु विमान भियतनाम पठायो । दश दिशाबाट गरिएको सो आक्रमणको १ साता नबित्दै चीनले सीमानजिकको ४ वटा ठूला प्रान्तका राजधानी शहरलाई आफ्नो नियन्त्रणमा लियो । चीनले ठानेको थियो कि भियतनामीको मनोबल छिट्टै टुट्नेछ र सजिलै हतियार बिसाउनेछ तर त्यसो भएन । भियतनामीहरु लड्नमा सिपालु थिए, प्रत्यक्ष रूपमा ८ वर्ष फ्रान्स र करिब २० वर्ष अमेरिकी सेनासित लडेको अनुभव थियो उनीहरूमा । र, दुवै शक्ति राष्ट्रलाई पराजित गर्न सकेका थिए कम्युनिष्ट नेता हो चि मिन्हको नेतृत्वमा भियतनामीले । गुरिल्ला युद्धमा निकै पारंगत थिए । अतः अहिले युक्रेन रुससित भिडेजस्तै चीनको अनुमानलाई फेल खुवाउँदै भियतनामी सेना चिनियाँ सेनासित टक्कर लिन युद्ध मैदानमा खटिए ।

त्यतिबेला ६ लाख भियतनामी सेना कम्पुचिया र दक्षिण भियतनाममा तैनाथ थिए । तिनलाई भियतनामले फिर्ता बोलाइयो । घमासान युद्ध भयो । यसअघि अमेरिकी सेनासित लड्न रुस र चीनले ठूलो संख्यामा भियतनामलाई हतियार उपलब्ध गराएका थिए । पहिला त ती हतियारकै भरमा भियतनामी चीनसित लडे । चिनियाँ सैनिकहरु आफैँले दिएको हतियारको सामना गर्न बाध्य बने । उत्तरी भियतनामको प्रान्त लाङसोन जित्न चीनलाई धौधौ पर्यो । अन्त्यमा उक्त शहरको साथै उत्तरी भियतनामका धेरै शहरमाथि नियन्त्रण जमायो ।

चिनियाँ सेना दुई देशको सीमाभन्दा ६ सय किमि भित्रसम्म प्रवेश गरिसकेका थिए तर यसबीच अर्को डर पैदा भयो, रूसी सेनासित सिधै युद्ध लड्नुपर्ने । किनभने चीनसित लड्न सोभियत संघले भियतनामलाई ट्यांक, मिसाइल, मिसाइल भेदी तोप, २० वटा लडाकु विमान र ठूलो संख्यामा गोलाबारुद दिन थालिसकेको थियो । करिब ८ हजार सैन्य सल्लाहकार हनोइ पठाइसकेको थियो, जसले भियननामीलाई सैन्य तालिम प्रदान गरे । उसले चीनसितको सिमानामा सेना तैनाथ गर्न थालिसकेको थियो । १५ वटा लडाकु पानीजहाज भियतनामको समुद्र तटमा आइसकेको थियो । चीन सोभियत संघसित सिधा टक्कर लिन चाहन्नथ्यो । त्यसैले चलाखीपूर्ण तरिकाले भियतनाममाथि सैन्य हस्तक्षेप गरेको १७ औं दिन मार्च ५ मा ‘चीनको उद्देश्य पूरा भएको र भियतनामलाई आवश्यक पाठ सिकाइएको’ भन्दै युद्ध बिरामको घोषणा गरियो ।

भियतनामी सरकारले पनि तुरुन्तै चीनको उक्त घोषणालाई स्वागत गर्यो । मार्च १६ भित्र चीनले आफ्ना सम्पूर्ण फौज फिर्ता बोलायो र युद्धको अन्त्य भयो । तर, चीनले भियतनामलाई पाठ सिकाउने नाममै ४ हजार ६ सय सैनिक गुमाउनुप¥यो । ४ सय ट्यांक ध्वस्त भयो । सवा अर्ब डलर खेर गयो । चीनले यो युद्ध जिते पनि कम्पुचियामा स्थापित भियतनाम र रुससमर्थक हेङ सामरिनको सरकारलाई गिराएर पुनः पोलपोटलाई सत्तामा बसाल्न नसकेकाले युद्ध विश्लेषकहरू यसमा चीनको पराजय भएको दाबी गर्छन् । स्मरणीय छ, भियतनामी सेना कम्पुचियाबाट सन् १९८९ मा मात्र अर्थात् चीन–भियतनाम युद्धको १० वर्षपछि मात्र स्वदेश फर्केको हो ।

सन् १९७९ मा चीन र भियतनामबीच भएको युद्ध र अहिले युरोपमा चलिरहेको रुस–युक्रेनबीचको युद्धमा धेरै हदसम्म समानता छ । जसरी आफ्नै छत्रछायाँमा हुर्केको भियतनाम फनक्क फर्केर सोभियत धुरीमा गएको कारण चीन रिसाउन पुग्यो, त्यसरी नै हिजो सोभियत संघ हुँदाको समय एकै ठाउँमा बसेको युक्रेन पनि १८० डिग्री फर्केर नाटोको सदस्य बन्न कम्मर कसेको कारण रुस क्रोधित बन्न पुगेको हो । रुस पनि युक्रेनलाई चीनले भियतनामलाई जस्तै ‘पाठ’ पढाउन चाहन्थ्यो तर युक्रेन भियतनाम बनेन । अहिले पनि उसलाई अमेरिका, ब्रिटिशलगायत नाटो सदस्य राष्ट्रहरूले हतियार दिएर सहयोग पुर्याइरहेका छन् । जसकारण रुसले सोचेजस्तो नतिजा निस्केन ।

उसलाई युक्रेनले सजिलै आत्मसमर्पण गर्छ जस्तो लागेको थियो तर युक्रेन पनि पूर्व सोभियत संघकै हिस्सा थियो भन्ने रुसले बिस्र्याे । सोभियत संघ हुँदाको समय निर्मित हतियार र हतियार भण्डारण रुसपछि बढी युक्रेनमै थियो । त्यसमाथि नाटोको सहयोग, राष्ट्रपति जेलेन्स्कीको राष्ट्रवाद, नाटोको सदस्य बन्ने हठ, रुसविरोधी मुलुकको गठबन्धनका कारण युद्ध लम्बिँदै गएको छ । एक महिनाअघि रुसी सेनाले युक्रेनमाथि गरेको आक्रमणलाई हल्का रूपमा लिइए पनि युद्ध लम्बिँदै गएपछि यसले भयावह रूप लिने आशंका चारैतिर फैलिएको छ । रुस युक्रेन युद्धमा अर्को तेस्रो पक्षको प्रवेश हुने आशंका गर्न थालिएको छ । यसो भएमा युद्धले महायुद्धको रूप लिन बेर छैन ।

टिप्पणीहरू