जसले परमाणु बम बनाउन सघाए तर प्रेम जोगाउन सकेनन्
वैज्ञानिक अल्बर्ट आइन्स्टाइन यहुदी हुन् । जसले ३०० भन्दा बढी वैज्ञानिक शोधपत्र प्रकाशन गरे । सन् १९२१ मा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाए । जर्मनीमा जन्मिए तर पछि स्विट्जरल्याण्ड, अष्ट्रिया र अमेरिकी नागरिक बने ।
पढाइ राम्रो थिएन । त्यसैले आमा पाउलिनको दबाबमा सारंगी बजाउन सिके । खासमा उनलाई सारंगी मन पर्दैनथ्यो त्यसैले पछि मोजार्ट सिके । १५ वर्षको उमेरमा इटली र १६ वर्ष हुँदा स्विट्जरल्याण्ड पुगे । माध्यमिक शिक्षा प्राप्त गर्न त्यहाँको आर्गोवियन केन्टोनल स्कुल (व्यायामशाला) मा भर्ना भए । त्यो बेला उनी प्रोफेसर जोस्ट विन्टेलरको घरमा बस्थे । आइन्स्टाइनले जीवनमा पहिलो प्रेम उनैकी छोरी मेरीसित गरे । तर, त्यो बेला दुबै केटौले थिए, त्यसैले प्रेम धेरै समय टिकेन ।
मिलेभा मारिक टिटेल (हाल सर्बियाको एक शहर) की थिइन् । धनी परिवारकी अनि आइन्स्टाइनभन्दा ४ वर्षले जेठी । सन् १८९४ मा १९ वर्षकी । अकस्मात् सख्त बिरामी भएपछि उपचारार्थ स्विट्जरल्याण्ड लगियो । उनले त्यहीँ पढाइ शुरु गरिन् र आइन्स्टाइन पढ्दै गरेको ज्युरिच विश्वविद्यालयमा भर्ना भइन् । गणित विषयकी श्रेष्ठ छात्रा थिइन् । उक्त विषय पढ्ने त्यहाँ ६ जना मात्र छात्रछात्रा थिए । सन् १८९९ को परीक्षामा उनी पाँचौँ र आइन्स्टाइन दोस्रो भए ।
आइन्स्टाइन र मिलेभाबीच मित्रताको सम्बन्ध पछि प्रेमी प्रेमिकामा परिणत भयो । यसबीच मिलेभा गर्भवती बनिन् र पनि परीक्षा दिइन् तर असफल भई उत्तरी सर्बियाको नोभिसाड फर्किइन् । त्यहीँ छोरी जन्माइन् । यो सन् १९०२ को कुरा हो । त्यो बेला मिलेभा २७ र आइन्स्टाइन २३ का थिए । मिलेभालाई आइन्स्टाइनकी आमा पाउलिनले मन पराउँदिनथिन् । उनी छोरालाई मिलेभा गर्भवती बन्लिन् है ? भनेर पटक–पटक सजग गराइरहन्थिइन् ।
मिलेभालाई बुहारी बनाउन त तयार नै थिइनन् । आइन्स्टाइन र मिलेभा एकार्कालाई औधी माया गर्थे । आइन्स्टाइनले एउटा पत्रमा मिलेभालाई लेखे, ‘मेरो आमाबुवा म मरेजसरी बिलौना गर्नुहुन्छ । तिमीप्रतिको समर्पण देखेर मैले आफ्नो जीवनमा कलंक निम्त्याएँ भनी बारम्बार गुनासो गर्नुहुन्छ । उहाँहरूलाई तिमी स्वस्थ छैनौ भन्ने लाग्छ ।’
मिलेभाले छोरी लिजर्ललाई नोभिसाडमै जन्माइन् । तर, छोरी १ वर्ष पुग्दानपुग्दै गम्भीर बिरामी परिन् । कसैले शिशुको लगत्तै मृत्यु भयो भन्छन् भने कसैले सर्बियाकै एउटा परिवारलाई जिम्मा दिई मिलेभा ज्युरिच फर्किइन् भन्छन् । जे होस् आइन्स्टाइनले छोरीलाई कहिल्यै देख्न पाएनन् ।सन् १९०३ मा ज्युरिचमा आइन्स्टाइन र मिलेभाको बिहे भयो । अर्को साल मिलेभाले दोस्रो सन्तान जन्माइन्– हंस अल्बर्ट ।
सन् १९०९ मा आइन्स्टाइनले ज्युरिच विश्वविद्यालयमा प्राध्यापनको जागिर पाए । सोही वर्ष मिलेभाले अर्को छोरा जन्माइन्– एडुवार्ड, जसको बाल्यकाल कष्टप्रद थियो । उनी प्रायः बिरामी भइराख्थे अनि हप्तौँसम्म ओछ्यान पर्थे । सन् १९१७ मा उनको फोक्सोमा समस्या देखिँदा आइन्स्टाइनले साथीलाई पत्र लेखेका थिए, ‘कान्छो छोरोको अवस्थाले मलाई दिक्क लाग्छ । तथापि, उनी एक उत्कृष्ट विद्यार्थी थिए र उनको कलामा विशेष रुचि थियो । उनी कविता लेख्थे र पियानो बजाउँथे ।’
यसबीच, आइन्स्टाइनले कहिले प्राग त कहिले ज्युरिचकै अर्को विश्वविद्यालयमा प्राध्यापन थाले । सन् १९१३ मा भौतिक शास्त्री मैक्स प्लान्क र रसायनशास्त्री वाल्टर नेन्स्कले आइन्स्टाइनलाई बर्लिन (जर्मनी) बोलाए । लोग्नेको उक्त निर्णयलाई मिलेभाले मन पराइनन् । उनी मन नमानी–नमानी सँगै बर्लिन् पुगिन् ।
आइन्स्टाइन र मिलेभाको दाम्पत्य जीवनमा सन् १९१२ को सुरुदेखि नै चिसोपन छाइसकेको थियो । आइन्स्टाइनको नाउँबाट प्रकाशित धेरै लेखको उनी सहलेखिका थिइन् । लोग्नेले गरेको वैज्ञानिक अनुसन्धानमा सहकार्य गरेकी थिइन् । यी कार्यमा प्राप्त सफलताको जश लिने कुरामा दुवैबीच मतभेद थियो । झन् बर्लिन बसाइको क्रममा यो मतभेद तीव्र बन्यो किनभने आइन्स्टाइन आफ्नै ठूलीआमाकी छोरी इल्सा लोवेन्थोलसँग नजिकिन थाले ।
इल्सा पनि आइन्स्टाइनभन्दा जेठी । २१ वर्षको उमेरमा सन् १८९६ मा एक जना कपडा ब्यापारीसित बिहे गरिसकेको मात्र होइन, तीन सन्तानकी आमा थिइन् । यद्यपि, लोग्नेसित छुट्टिसकेकी थिइन् जतिबेला उनी र नातामा भाइ पर्ने आइन्स्टाइन एकार्कालाई प्रेम गर्न थाले । दुबैको सम्बन्ध घनिष्ट बनेपछि आइन्स्टाइनले पत्नीलाई गर्ने व्यवहारमा परिवर्तन ल्याए । मिलेभाले लोग्नेको आफूप्रतिको वितृष्णा र तिरस्कारपूर्ण व्यवहारलाई सहन सकिनन् र दुई छोरालाई च्यापेर ज्युरिच फर्किइन् ।
छोराहरूसितको बिछोडले आइन्स्टाइनलाई निकै आघात पु¥यायो । प्रथम विश्वयुद्धकालमा उनी छोराहरूसँग भेट्न ज्युरिच गए । सँगै घुमे । युद्धको समाप्तिलगत्तै बर्लिन बोलाए । सँगै रमाए । तर, मिलेभासितको सम्बन्धमा रत्तिभर पनि सुधार आएन । फलतः सन् १९१९ मा कानुनी तवरमै अलग्गिए । आइन्स्टाइन कान्छो छोरालाई अगाध माया गर्थे । पत्र लेखिरहन्थे । जेठो छोरासितको सम्बन्ध भने त्यति प्रगाढ रहेन ।
मिलेभाबाट अलग्गिएको साढे तीन महिनापछि नै आइन्स्टाइनले इल्सासँग बिहे गरे । पहिलो लोग्नेको तर्फबाट ३ सन्तान जन्माइसकेकी इल्सा पछि भने आमा बनिनन् । सन् १९३३ मा उनीहरू अमेरिका गए । न्युजर्सीमा घरै किनेर बस्न थाले । तर, केही समय नबित्दै इल्साको आँखा पाक्न थाल्यो, मिर्गाैलामा पनि समस्या देखियो । सन् १९३६ मा अत्यन्त कष्ट सहेर उनको निधन भयो । उता, मिलेभाले इल्सासित बिहे गरेलगत्तै आइन्स्टाइनको सम्पत्तिमा दाबी गर्न थालिन् ।
आइन्स्टाइनले सन् १९२१ मा नोबेल पुरस्कार जितेपछि प्राप्त ३२ हजार डलरबाट मिलेभालाई केही रकम दिए । हुन त, मिलेभालाई पैसाको सख्त जरुरी थियो किनभने छोरा एडुवार्ड बिरामी भइराख्थे । अस्पताल लगिराख्नुपथ्र्याे । आइन्स्टाइनसित छुटेपछि मिलेभाको अधिकांश समय छोराको हेरचाहमै बित्यो । आइन्स्टाइनबाट प्राप्त धनराशिबाट उनले ज्युरिचमा ३ वटा घर किनी एउटामा आफूहरू बसेर अर्को दुइटा भाडामा लगाएकी थिइन् । तर, छोराको उपचारमा दुइटा घर बिक्री गर्नुपर्ने भयो । मिलेभाको निधन ७२ वर्षको उमेरमा सन् १९४८ मा भयो ।
मिलेभाको निधनपश्चात् एडुवार्डको जिम्मेवारी आइन्स्टाइनले उठाए । पैसा तिरेर छोराको निम्ति एक जना कानुनी संरक्षक नियुक्त गरे । एडुवार्डको निधन मस्तिष्कघातबाट सन् १९६५ मा भयो । आइन्स्टाइनका अर्का छोरा हान्स पछि इञ्जिनियर र शिक्षाविद् बने । जसरी आइन्स्टाइनकी आमाले मिलेभालाई मन पराएकी थिइनन् ठीक त्यसरी नै आइन्स्टाइनले छोरा हान्सकी प्रेमिका फ्रिडालाई स्विकार्न तयार भएनन् । यो विवादमा मिलेभाले छोरालाई साथ दिइन् । केही सीप नचलपेछि बल्ल आइन्स्टाइन भाषावैज्ञानिक फ्रिडालाई बुहारी बनाउन तयार भए । सन् १९५८ मा फ्रिडाको निधनपछि हान्स अल्बर्टले जीवरसायनशास्त्री एलिजाबेथ रोबोजसँग विवाह गरे । सन् १९७३ मा हृदयाघातबाट हान्सको ६९ वर्षको उमेरमा निधन भयो ।
आइन्स्टाइनले इल्सासित घरजम गरिबसेकै बेला, आफ्नै स्वकीयसचिव बेट्टी नेउमनसग पनि प्रेमालाप गरे । त्यसबाहेक अष्ट्रियाई युवती मार्गरेट लेबाख, धनी महिला इस्टेला कात्जेलेनबोलेन, यहुदी विधवा टोनी मेण्डेल र बर्लिनको कुलिन घरानियाँ इथेल मिचानोवस्कीसित पनि उनको ‘सम्बन्ध’ रह्यो ।
दोस्री पत्नी इल्साको निधनलगत्तै पनि सन् १९३६ मा उनले रुसी जासुस मार्गरिटा कोनेन्कोभासित सम्बन्ध गाँसे । पछि अमेरिकाले बनाउँदै गरेको अणुबमबारेको सूचना हासिल गर्न रुसले कोनेन्कोभालाई आइन्स्टाइनको पछि लगाएको आरोप झेल्नुप¥यो । यद्यपि, अणुबम निर्माणमा आइन्स्टाइनको प्रत्यक्ष संलग्नता थिएन । तर, उनले तत्कालीन अमेरिकी राष्ट्रपति थियोडोर रुजबेल्टलाई परमाणु बम बनाउन आग्रह गरेका थिए । आणविक बमको विकासमा आफ्नो यो भूमिकाका लागि उनले पछिसम्म पश्चाताप गरिरहे ।
आइन्स्टाइनका सहपाठी उनी कामुक हुन् भन्न मन पराउँदैनन् तर कलेजमा अध्ययनरत रहँदा वा अध्यापन गर्दा सधैँ महिलासित नजिक हुने, उठबसमा रमाउने स्वभावका चाहिँ पक्कै थिए । यद्यपि, जिङरिंग कपाल पाल्ने र अत्यधिक धूमपान गर्ने बानीको कारण युवतीहरू उनको सामीप्य चाहँदैनथे । उनी आफैँ भन्थे, ‘म कपाल कहिलेकाहीँ मात्र कोर्छु ।’ उनको निधन सन् १९५५ मा ७६ वर्षको उमेरमा अमेरिकामै भयो ।
टिप्पणीहरू