अन्धविश्वासले गाँजेको नेपाली समाज

अन्धविश्वासले गाँजेको नेपाली समाज

बोक्सी धपाउने भन्दै धामीझाँक्रीले निर्घात कुटपिट गर्दा नयाँ वर्षको दिन एक महिलाको ज्यान गयो । कञ्चनपुर बेदकोट नगरपालिका ६, मुसेपानीकी रन्जुला साउदको कुटपिटबाट मृत्यु भएको हो । नाताले जेठानी पर्ने कमला साउदको घर गएकी उनलाई भीमदत्त नगरपालिकाबाट आएका धामीझाँक्री नारायणप्रसाद भट्ट र धर्मानन्द भट्टले झारफुक गर्ने नाममा निर्घात कुटपिट गरे ।

कुटपिटबाट मृत्यु भएको थाहा पाउँदा पाउँदै पनि घटना लुकाउनका लागि गत शनिबारसम्म उनीहरुले झारफुक गरिरहे । सामान्य टाउको दुखाइबाट ग्रसित साउदलाई बोक्सी धपाउने भन्दै फलामको रड तताएर हिर्काउँदा उनको ज्यान गयो । पाँच वर्षअघि बुबा गुमाएका उनकी दुई छोरीको टाउकोबाट आमाको छहारी पनि हट्यो । रञ्जना साउदको हत्या गरेको आरोपमा कञ्चनपुर प्रहरीले धामीझाँक्रीसहित सातजनालाई पक्राउ गरेको छ ।

त्यसैगरी, गत कात्तिकमा मोरङको सुनवर्षी नगरपालिका ६ मा बोक्सीको आरोपमा एक जना महिलाले मरणासन्न हुने गरी कुटाइ खाइन् । ४३ वर्षीय गायत्रीदेवी यादवलाई बोक्सी भन्दै छ जनाले लछारपछार गरे । उनलाई समातेर मलमूत्र खुवाउने कोशिस समेत गरियो । अन्ततः प्रहरीले ती सबैलाई पक्राउ गर्यो ।

विश्व एक्काइसौं शताब्दीमा दौडिरहेको छ । विज्ञान र प्रविधिले फड्को मारिरहेको छ । तर, सर्वसाधारण नेपालीको सोचाइमा परिवर्तन ल्याउन अझै सकिएको छैन । हाम्रो समाजमा अहिले पनि अन्धविश्वास यथावत नै छ भन्ने उदाहरण माथिका घटनाहरुले देखाएको छ । कुनै रोग लागेमा अस्पताल होइन्, धामीझाँक्रीकोमा जानेहरुको संख्यामा कमी आएको छैन । रोगको कारण प्रेत र पिशाच भएको मान्यता अझैपनि कायम छ ।

यतिमात्र नभई बोक्सीको नाममा बेइज्जत गर्ने, यातना दिने, गालीगलौज गर्ने कार्य पनि नभएका होइनन् । बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाएको घटनाहरु पनि बेलाबखत चर्चामा आइरहन्छन् । सर्वप्रथम बोक्सीको आरोप लगाउनु नै जघन्य अपराध हो । तर, अन्धविश्वासका कारणले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दा, डाम्दा, पोल्दा, घिसार्दा पनि हाम्रो समाजले त्यसलाई प्रतिकार गर्दैनन् । निरीह र असहाय महिला कुटपिट हुँदा पनि मौन बस्ने चलन नेपाली समाजमा छ ।

यस्ता कुरिती रोक्नका लागि सरकारले वर्षेनी करोडौं रकम खर्च गर्ने गरेको छ । जनचेतना फैलाउन र अन्धविश्वास निराकरणका लागि सन्देशवापत खर्च गरेको रकम बालुवामा पानी हालेसरह बनेको छ । सरकारले बनाएको नीति नियम फितलो हुँदा महिलामाथि हुने हिंसामा कमी आउन सकेको छैन । यता, नेपाल प्रहरीसँग पनि यसको यकिन तथ्याङ्क छैन । नेपाल प्रहरीसँग भएको तथ्याङ्कमा गतवर्ष तीनवटा बोक्सीको आरोपको दर्ता छ । तीन वटामध्ये दुईवटा मोरङमा र एउटा घटना इलामको हो ।

आफ्नै श्रीमानको परिपञ्चमा पर्दा गत कात्तिकमा एक महिना र नाबालिकाको मृत्यु भयो । श्रीमानले पूजाआजा गर्ने भन्दै भ्रममा पारी श्रीमती र छोरीको ज्यान लिएका थिए । घटनाक्रम थाहा पाए पनि लुकाईछिपाई गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

त्यस्तै, गत असोजमा मोरङको सुनवर्षी नगरपालिका ४ बसोबास गर्ने एक महिलामाथि पनि बोक्सीको आरोपमा कुटपिट भएको थियो । उक्त घटनामा संलग्न आधा दर्जन प्रतिवादीलाई प्रहरीले पक्राउ गर्यो । यतिमात्र नभई बोक्सीको आरोप लगाउँदै महिलालाई पीडा दिने र भित्रभित्र मिलाउने पनि गरिएको बताइन्छ । जनप्रतिनिधिहरु नै यस्ता घटना जोगाउन अघि तम्सिन्छन् । शिक्षा र चेतनाको अभावमा महिलाहरुले यस्ता हिंसाबाट उन्मुक्ति पाउन सकेका छैनन् ।

अन्धविश्वासका कारण महिला मारिनुपर्ने स्थितिबाट नेपाली समाजले छुट्कारा पाउन सकेको छैन । बोक्सीप्रथा महिला उत्पीडनको हतियार बनेको छ । अन्धविश्वासका कारण महिलाहरु शोषित बनेका छन् । अहिलेसम्म पनि महिलाहरु बोक्सीको आरोपबाट हुने अमानवीय हिंसाको शिकार बन्ने क्रम रोकिएको छैन ।

सरकारको ध्यानाकर्षण बाहेक अरु केही गर्न सकिँदैन : आयोग

राष्ट्रिय महिला आयोगले यस्ता घटनामा ध्यानाकर्षण गर्नुबाहेक अरु केही गर्न नसक्ने जानकारी दिएको छ । आयोगको उजुरी तथा मुद्दा व्यवस्थापन शाखाकी चमिला भट्टराईले सरोकारवाला पक्षलाई खबरदारी गर्नुबाहेकको अधिकार आयोगसँग नभएको बताइन् । त्यसैगरी, यस्ता घटना आयोगमा नआउने उनको भनाइ छ । बोक्सी आरोपका घटनाहरु आयोगमा शून्य भएको भट्टराई बताउँछिन् ।

कार्यविधि दह्रो हुनुपर्यो : योञ्जन

राष्ट्रिय महिलाअधिकार मञ्चकी रमिला योञ्जनले यस्तो गतिविधि समाजकै लागि लाजमर्दो विषय भएको जनाइन् । एक्काइसौं शताब्दीमा आइसक्दा पनि महिलाको स्थिति कहालीलाग्दो भएको उनी बताउँछिन् । दह्रो कार्यविधि नभएकाले महिलाहरु शोषित हुनुपरेको उनको आरोप छ । शिक्षित व्यक्तिहरुले समेत अन्धविश्वासलाई मान्यता दिँदा यस्तो कार्य हुने गरेको महिला अधिकारकर्मी योञ्जन बताउँछिन् । उनले बोक्सी, दाइजोप्रथाजस्तो कुरितीको विरोधमा विभिन्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

के छ कानुनी व्यवस्था ?

बोक्सी आरोप कसूर र सजाय ऐन २०७२ मा कसूर हेरेर दण्ड दिने व्यवस्था मिलाइएको छ । कसैमाथि बोक्सीको आरोप लगाएमा छ महिनादेखि दुई वर्ष जेल सजाय र पाँच हजारदेखि २० हजारसम्म जरिवाना हुने भनिएको छ । त्यस्तै, बोक्सीको आरोपमा गाली बेइज्जती गरेमा एकदेखि तीन वर्ष कैद र १० देखि ३० हजारसम्म जरिवाना गरिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, बोक्सीको आरोप लागेका व्यक्तिको घरपरिवारलाई अपमानजनक व्यवहार गर्नेलाई दुईदेखि पाँच वर्ष कैद र ५० हजारसम्म जरिवाना हुनेछ । सामाजिक बहिष्कार गर्न खोज्नेलाई तीनदेखि सात वर्ष कैद र ७५ हजारसम्म जरिवाना हुनसक्छ । बोक्सी भन्दै मलमूत्र खुवाउन खोज्ने, डाम्ने, नाङ्गो पार्नेलाई मूख्य कसूरदारलाई हुने सजायको आधा हुने ऐनमा उल्लेख छ ।

टिप्पणीहरू