बाघ मरेको मर्यै, निकुञ्ज हरेको हेर्यै

बाघ मरेको मर्यै, निकुञ्ज हरेको हेर्यै

बाघ एक शिकारी प्राणी हो । पर्यावरणीय सन्तुलनका लागि पनि बाघको निकै महत्व छ । विश्वभर जम्मा तीनदेखि चार हजारको हाराहारीमा विभिन्न प्रकारका बाघ पाइन्छ । नेपालमा एक किसिमको मात्र बाघ पाइन्छ जसलाई पाटेबाघ भनिन्छ । पाटेबाघ एकदमै लजालु स्वभावको हुन्छ । सन् २०१८ को राष्ट्रिय गणनाअनुसार नेपालमा जम्मा दुई सय ३५ बाघ छन् । तीमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा छन् ।

पाटेबाघ उष्ण प्रदेशीय हावापानी भएको तराईका जंगल र राष्ट्रिय निकुञ्जहरूमा बढी पाइन्छ । तर, पछिल्लो समय पहाडी क्षेत्रमा पनि देखिन थालेको वन्यजन्तु संरक्षकहरू बताउँछन् । पाटेबाघ नेपालको शान हो, तर यसको संरक्षणका निमित्त प्रभावकारी अध्ययनको कमिले मर्ने संख्या बढ्दो छ । प्राकृतिक रूपमा भन्दा पनि दुर्घटनामा परेर र आफ्नै प्रजातिसंग जुधेर बाघ मरिरहेका छन् ।

अघिल्लो वर्ष पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगञ्ज–पथलैया सडकखण्डमा एउटा पाटेबाघको मृत्यु भयो । बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा १० वर्षीय बाघको घटनास्थलमै ज्यान गएको थियो । त्यस्तै, गत पुसमा हेटौँडाबाट सर्लाहीतर्फ जाँदै गरेको कारले बाघलाई ठक्कर दियो । पूर्वपश्चिम राजमार्गको हेटौँडा–पथलैया सडकखण्डअन्तर्गत जीतपुर–सिमरा उपमहानगरपालिका–१ को आधाभार जंगलमा कारको ठक्करबाट पोथी पाटेबाघको त्यसैगरी घटनास्थलमै मृत्यु भयो । ‘जंगली जनावर हिंड्ने बाटो, विस्तारै सवारी चलाउनुस्’ भनेर होर्डिङ बोर्ड राख्दाराख्दै पनि चालकको गल्तीले दुर्लभ वन्यजन्तु मरिरहेका हुन्छन् ।

यस्ता वन्यजन्तुको संरक्षणका लागि ‘दुर्लभ वन्यजन्तुको रक्षा, हाम्रो अमूल्य धनको सुरक्षा’ भनेर नारा नै बनाइएको छ । तर व्यवहारमा लागू भएको देखिँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार मध्यवर्ती क्षेत्रमा २०७६/७७ मा सातवटा बाघको ज्यान गएको छ । तीमध्ये पाँच वटाको मात्रै प्राकृतिक रूपमा निधन भएको हो– एउटाको दुर्घटनामा परेर र अर्कोको चोरी शिकारीबाट । चालु आर्थिक वर्ष २०७७/७८ मा तीनवटा बाघको मृत्यु भएको छ । तीन वटै चितवन राष्ट्रिय निकुञ्जका हुन् । दुई वटाको जुधेर र एउटा अशक्त भएर मरेको निकुञ्जले बताएको छ ।

त्यस्तै, गत दुई वर्षमा बाँकेमा एक र बर्दिया राष्ट्रिय निकुञ्जमा दुई बाघ मृत भेटिएका थिए । सोही अवधिमा दाङमा दुई र कैलालीमा एक बाघको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि एक बाघको ज्यान गएको जनाइएको छ । बाघहरू मर्ने क्रम बढेपछि निकुञ्जहरू यसको संरक्षणका लागि तातेका छन् ।

बाघ संरक्षणका लागि के गर्दैछन् निकुञ्ज ?
बाघको संरक्षणका लागि राष्ट्रिय निकुञ्जहरूले वर्षेनि विभिन्न कार्यक्रम ल्याउने गरेका छन् । सरकारले गत फागुन २६ गते मानव वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका–२०७८ कार्यान्यवनमा ल्याएको छ । निर्देशिकामा बाघ संरक्षणका लागि बासस्थान पहिचान र सम्भाव्यता खोजीका बारेमा उल्लेख छ ।

बाघ पाइने ठाँउको बासस्थान सुधार, सिमसार क्षेत्रको संरक्षण, पानी पोखरीको विकासलगायतका कार्य निकुञ्जहरूले गर्दै आएका छन् । त्यसैगरी, आहारा प्रजाति बढाउन आवश्यक घाँसेमैदान बनाउने कार्य पनि तीव्र गतिमा हुँदै आएको निकुञ्जले बताएको छ । वन्यजन्तुलाई हि“डडुल गर्न सजिलो हुने खालका पूर्वाधारहरूको निर्माणमा निकुञ्जहरू लागिपरेका छन् । वन्यजन्तुमैत्री सडक नहुँदा दुर्घटना हुने क्रम बढेपछि निकुञ्जले ओभरपास र अण्डरपासको निर्माण पनि गर्न लागेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघको संरक्षणका निम्ति निकुञ्जभित्र ६४ वटा सिसीटिभी, २० वटा स्पाई क्यामरा जडान गरिएको बताउनुभयो । ‘मान्छे र बाघबीच हुने द्वन्द्व न्यूनीकरणका लागि बस्ती–बस्तीमा पुगेर जनचेतना फैलाउने गरिएको छ’, उहाँले भन्नुभयो । बाघको व्यवहार अध्ययन गर्नलाई प्रत्येक वर्ष आन्तरिक रूपमा अनुसन्धान भइरहेको अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

किन हुन्छ बाघको चोरी शिकार ?
बाघको चोरी शिकारी रोक्न नसक्दा पनि यिनीहरूको अस्तित्व संकटमा परेको छ । बाघको छाला प्रयोगमा आउने र महङ्गोमा बिक्रीवितरण हुने भएकाले तस्करहरूले बाघको चोरी शिकारी गर्ने गरेको विभागले जनाएको छ ।

मानमर्यादाका लागि बाघको चोरी शिकारी बढेको विभागका सूचना अधिकारी डिलबहादुर पुर्जा पुनले बताउनुभयो । आफूसँग बाघको आखेटोपहार भयो भने ठूलै कुरा प्राप्त गरेजस्तो अनुभूत गर्ने मान्छेको स्वभावले चोरी शिकारी गर्नेको संख्या ह्वात्तै बढेको उहाँको भनाइ छ । नेपालमा बाघको शिकार गर्न प्रतिबन्ध भएपनि रोक्न नसकिएको सूचना अधिकारी पुन बताउँछन् । अन्धविश्वासका कारणले पनि बाघ झनै दुर्लभ हुन पुगेको विभागले बताएको छ । बाघको अंगहरू घरमा राखेपछि भाग्य उदय हुनेजस्ता अन्धविश्वासले बाघ लोप हुने अवस्थामा पुगेको बताइन्छ ।

के छ कानुनी व्यवस्था ?
बाघको चोरीशिकारी गरेको पाइएमा १५ वर्षसम्म जेल वा १० लाख रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । पाँचदेखि १५ वर्ष कैद र जरिवाना दुवै पनि हुनसक्छ । वन्यजन्तुको आखेटोपहार तस्करी गर्नेमा प्रायःजसो नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, काठमाडौं, रसुवा र गोरखाका बढी संलग्न छन् ।

टिप्पणीहरू