आर्थिक–सामाजिक समस्या झनै विकराल
विश्वभर फैलिएको महामारीको कारण मृत्यु हुने र संक्रमित हुने क्रम बढेसँगै आर्थिक–सामाजिक समस्या सो भन्दा पनि विकराल बन्ने खतरा देखिन्छ । विश्वको नम्बर एक अर्थतन्त्र र शक्तिशाली अमेरिकामा मात्रै अढाई करोडले रोजगारी गुमाईसकेको समाचार आइरहेका छन् । युरोपका शक्तिशाली अर्थतन्त्र भएका बेलायत, फ्रान्स, जर्मन, स्पेन लगायतका मुलुकहरूको हालत त्यो भन्दा पनि डरलाग्दो देखिन्छ । महामरीको अन्त्य कहिले र कस्तो रूपमा होला भन्ने कुनै टुङ्गो छैन् । कोरोनाले भईरहेको मृत्यु र रोगको संक्रमणबाट थप मानिसहरूलाई बचाउन र संक्रमण फैलन नदिनको लागि विश्वका सबैजसो मुलुकहरूले बाध्यतात्मक अस्त्रको रुपमा प्रयोग गरेको लकडाउनले अर्थतन्त्र र सामाजिक अवस्था समेत ध्वस्त बन्दैछ ।
विश्वको आर्थिक–सामाजिक समस्या र नेपाल
विश्वको समग्र अर्थतन्त्र धराशायी बन्दै गएको छ । यसका कारण सबै प्रकारका व्यापार, व्यवसाय र क्षेत्र तहस–नहस बन्दैछन् । करोडौं मानिस एकैपटक वेरोजगार बन्ने हुँदा तीनलाई दैनिक गुजारा गर्न कठीन हुने स्थिति बन्दैछ । औद्योगिक र विकसित मुलुकहरूमा हुने आर्थिक समस्याको विश्वव्यापी असर पर्ने हुन्छ । फेरि यो बेला भनेको कुनै एक मुलुकमा मात्र नभएर पूरै विश्वको अर्थतन्त्र धरासायी बन्ने पक्का देखिन्छ । अब नेपालको अवस्थाको चर्चा र विश्लेषण गर्ने हो भने परनिर्भर खालको हाम्रो अर्थतन्त्र भएको कारण हामीलाई बढी नै असर पर्ने पक्का भयो । हाम्रा अर्थतन्त्रका प्रमुख आधार मानिने पहिलो रेमिट्यान्स हो । दोस्रो पर्यटन क्षेत्र र व्यवसाय हो ।
अर्काे वैदेशिक सहयोग हो । यस्तो अवस्थामा हाम्रा ती सबै स्रोत नै सुक्यो र थप सुक्ने अवस्था छ । विदेशबाट आउने रेमिट्यान्सको वदला अब हामीले नै विदेशमा पैसा पठाउनु पर्ने खालको स्थिति रहेको छ । पर्यटन बर्ष भन्दै हामीले पर्यटन उद्योगबाट बढी आशा गरेका थियौँ तर अब त्यो सबै सम्भावना रहेन । वैदेशिक सहयोग, वैदेशिक ऋण तथा अनुदान आदिको सम्भावना पनि अन्यन्त न्यून रहेको अवस्था बन्यो । कोरोनाको यस्तो विश्वव्यापी असर र प्रभावले हाम्रो आर्थिक तथा सामाजिक क्रियाकलापमा सिधै असर पर्नेछ । रोजगारी, व्यापार, सेवा, उद्योग, शिक्षा जस्ता प्रमुख क्षेत्र र विषयमा परेको असरबाट अन्य क्षेत्रमा त्यसको चक्रीय असर (चेन इफेक्ट) ले नराम्रोसँग आर्थिक–सामाजिक अवस्था विग्रने सम्भावना छ ।
लक डाउनको विकल्प के ?
महामारीबाट जोगिन र कम असर पार्नको लागि विश्वका सबैजसो मुलुकहरूले अपनाएको लकडाउन समस्या समाधान गर्ने उत्तम उपाय भएपनि आर्थिक–सामाजिक क्रियालाई ध्वस्त पार्न यो मूल समस्या बन्दै गएको छ । अब लक डाउन नै कहिले सम्म गर्ने त भन्ने सवाल पनि उठेको छ । महिनौं लकडाउन गरेर हामीले हाम्रा आर्थिक–सामाजिक दैनिकी कसरी धान्न सक्दछौं ? यो गम्भीर सवाल हो । लक डाउन जुन हामीले थोक (होलसेलमा) गरी रहेका छौं यो पनि सच्चाउनु पर्ने अवस्था बन्दैछ । सबै क्षेत्र, पेशा, व्यापार, भूभाग, समाज, स्थानमा एकै खालको सोलोडोलो लकडाउन सही कि लगत ? भन्ने सवाल पनि उठेको छ । कतिपय क्षेत्र, स्थान, पेशा, उद्योग आदिलाई निश्चित शर्त र मापदण्डका आधारमा संचालनको अनुमति दिनु पर्ने देखिन्छ । सबै कुरा बन्द भन्दा वा गर्दा त्यो मुलुकले धान्दैन । जनता र नागरिकले धान्न सक्दैनन् । मुलुकको अर्थतन्त्रले धान्दैन । बस्तु तथा सेवाको आपूर्ति तथा मागले धान्दैन । यतिसम्म कि न्यूनतम खाना–पानी, तरकारी, नुन–तेल जस्ता वस्तुको आपूर्तिकै संकटको अवस्था बन्न सक्दछ । यसैले अब अवस्था, आवश्यकता, स्थिति सबैलाई विचार गरी लकडाउन खुकुलो पार्ने र निश्चित शर्तका आधारमा निश्चित क्षेत्र, पेशा वा व्यवसायलाई खुलाउनुको विकल्प छैन् ।
राष्ट्रिय महत्वका आयोजना र क्षेत्रको कामलाई सुचारु गर्नु पर्ने देखिन्छ । जस्तो धरहराको निर्माण, ठूला र सहरी सडकको मर्मत र सुधार, कालोपत्रेको काम, मानिसका जीवनको लागि अत्यावश्यक हुने प्रकारका सबै उद्योग र कारखाना खुलाउनु पर्ने अवस्था छ । सबैभन्दा ठूलो दैनिक ज्यालादारीबाट पेट पाल्ने वर्ग र समूदाय जुन सहर वजारमा रहेका छन् उनीहरूको जीवनको वारेमा सोच्नु पर्ने स्थिति छ । यसरी सबै दृष्टिकोणबाट विश्लेषण र विवेचना गर्दा लकडाउन खुकुलो पार्नुको उत्तम विकल्प छैन् । महामारीको प्रकाप फैलन नदिने हो तर अब महिनौं–महिना लकडाउन मुलुकले धान्न सक्छ त ? मुलुकको दैनिक आवश्यकताका वस्तुको आपूर्ति र मागको सन्तुलन धान्न सकिएला ? यो मूल सवाल हो । कम्तिमा एक मिटरमो दूरी कायम गर्ने, हात धूने, माक्स लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, अत्यावश्यक नहुनेले घरबाट बाहिर ननिस्कने जस्ता विज्ञहरू र अनुभवीहरू सुझाएका पक्ष र विषयलाई निरन्तरता दिएरै पनि अत्यावश्यक विषय र क्षेत्रमा लकडाउन खुकुलो पार्न सकिन्छ र पार्नु पनि पर्दछ ।
सम्पूर्ण मानिसलाई घरमा थुनिन बाध्य बनाएर हाम्रा आर्थिक–सामाजिक आवश्यकता पूर्ति गर्न सरकार सक्षम हुन सक्दैन । मुखैमा आएका एसइइ जस्ता परीक्षा रोकिएका छन् र त्यसले लाखौं लाख विद्यार्थीहरूमा अन्यौलता छाएको छ । लक डाउन गरेरै परीक्षा संचालन गर्न सम्भव हुन सक्दैन । यस कारण पनि यो र यस्ता क्षेत्रमा लकडाउन खुकुलो पार्ने र परीक्षा संचालन गर्नु पर्दछ । तर जतिनै क्षति र घाटा हुने भएपनि वैदेशिक क्षेत्रबाट आउने हवाइजहाज र आवागमन रोक्नु पर्ने स्तिथि छ । अन्तराष्ट्रिय उडान रोकिएकै छ र आवश्यकता अनुसार त्यसलाई बढाउनै पर्ने हुन्छ । भारतमा पनि कोरोना बढीरहेकोले भारतीय नाकाबाट हुने आवागमन केही समय राक्नुपर्ने देखिन्छ । देश विदेशमा रोजगारी, अध्ययन र अन्य पेशामा रहेका नेपालीहरूले पनि ठूलै समस्या भोग्दैछन् भन्ने कुरामा हामी सबै सचेत नै छौं । तर अब यस्तो विकराल अवस्थामा तत्कालै नेपाल भित्रन दिने वातारण र अवस्था छैन् । उनीहरू जसोतसो त्यहीँ बस्नुको विकल्प पनि छैन् ।
हालसम्मको संक्रमितकै अवस्था हेर्दा ती सबै तेस्रो मुलुकबाटै र भारतबाट आएकाबाटै सरेको हुँदा पनि अहिले फेरि त्यो जोखिम मोल्नु हुन्न । महामारीको प्रकोपको कारण विश्वको आर्थिक र सामाजिक पक्ष र क्षेत्र थप ध्वस्त बन्दैछ । कोरोनाको कहर बढेकै भएपनि एउटा विन्दुमा पुगेर यसको नियन्त्रण हुन्छ, हुन्छ । औषधी उपचार, दवाई र सुई पनि बन्छ, बन्छ । तर त्यसले केही समय लिने र पहिलो चरणमा त्यो बढी नै महङ्गो पर्ने हुँदा गरीब मुलुक र व्यक्तिले प्रयोग गर्न सक्ने स्थिति छैन् । अर्काे औषधी उपाचार हाल अनुसन्धानकै चरणमा रहेकोले त्यो कहिले आउला भन्न सकिन्न । जे होस मानव जातिलाई नै परेको यस्तो भयङ्कर पीडाबाट पाठ सिक्दै र अनुभवबाट सिक्दै मुलुकहरूले कम भन्दा कम क्षतिमा आफूलाई पुन: सुरक्षित बाटोमा ल्याउनु पर्नेछ ।
हामीले पनि देश–विदेशको अनुभव र पाठबाट सिक्दै आफूलाई अघि बढाउनै पर्ने हुन्छ । विश्वमा आएको असर र प्रभावबाट हामीलाई पर्ने चोट कम गर्ने भनेको हामी आफैले हो । हाम्रै आफ्नै साधन र स्रोतबाट संचालित हुने र हुन सक्ने कृषिजन्य उद्योग, आन्तरिक व्यापार, श्रम र सीपको बढी प्रयोग गर्नु पर्ने अवस्था छ । बाटोमा दुध पोखिरहेका हामीहरूले गराएको लकडाउनबाट सामान्य कृषक, मजदुर र गरीबलाई कति पीडा परेको होला सहजै अनुमान गर्न सकिन्छ । यसर्थ केही क्षेत्र, स्थान र विषयमा लकडाउन खुकुलो पार्नै पर्दछ । होलसेल र सोलोडोलो तथा महिनौंको लकडाउनले हाम्रा आर्थिक–सामाजिक व्यवस्था थप जटिल र ध्वस्त बन्नेतर्फ सचेत बन्नैपर्ने भयो ।
टिप्पणीहरू