पैदल यात्रु मारिएर ठप्प भएको सीतापाइला चोकमा छलफल शुरु
सडक किनारामा हिँडिरहेको पुरुषलाई बसले ठक्कर दिएपछि ठप्प पारिएको नागार्जुन नगरपालिका वडा नं ४ स्थित सीतापाइला चोकमा छलफल शुरु भएको छ ।
हत्यारालाई कारवाही गर्नुपर्ने माग राख्दै सीतापाइलाका स्थानीयहरु सडकमा उत्रिएपछि महानगरीय प्रहरी वृत्तका नायब उपरीक्षक मिलन केसीले छलफल गर्न सुझाएका थिए ।
छलफलबाट समस्याको समाधान खोजी गर्नुपर्ने भनेर डिएसपी केसीले सम्झाइबुझाइ गरेपछि स्थानीयहरुले वार्तामा बस्न तयार भएका हुन् । मृतकको परिवारलाई दिने क्षतिपूर्तिको विषयमा यातायात व्यवसायीका अध्यक्ष राजेन्द्र केसी,मृतकका छोरा सन्तोष लौडारी,भाइ ठाकुरप्रसादलगायत दुई दर्जनको उपस्थितिमा छलफल शुरु भएको हो ।
हिजो बिहान नागार्जुन नगरपालिका वडा नम्बर ४ का दुर्गाराज लौडारीको बसको ठक्करबाट मृत्यु भएको थियो । मृत्यु स्वाभाविक नरहेको र त्यो हत्या भएको बताउँदै स्थानीयहरुले आज बिहानदेखि चर्को विरोध थालेका थिए ।
झण्डै ६० जनाको संख्यामा जम्मा भएका मृतकका आफन्त तथा प्रदर्शनकारीहरुले सडक सुरक्षाको व्यवस्था गर,मान्छे मार्न पाईंदैन,हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गरलगायत नारा लगाएका थिए ।
टिप्पणीहरू