बस सडक छेउको नालीमा, ६ जना महिला अस्पतालमा
चितवनमा एउटा बस अनियन्त्रित भएर नालीमा पुग्दा छ जना यात्रु घाइते भएका छन् । आज मध्यान्ह माडी नगरपालिका ७ कीर्तनपुर बगईबाट नारायणगढतर्फ जाँदै गरेको बस नालीमा पुगेको हो ।
स्प्रिङपट्टा भाँचिएपछि लु.२ ख ६ नम्बरको बस अनियन्त्रित भएर सडकको दायाँतर्फको नालीमा पुगेर अडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकोे छ । घाइते हुनेहरुमा माडी नगरपालिका ७ देवेन्द्रपुरकी १४ वर्षीया समीक्षा काफ्ले, ३४ वर्षीया राधिका काफ्ले, माडी ९ गणेशकुञ्जकी २८ वर्षीया लक्ष्मी थापा, उनकी छोरी ९ वर्षीया विपना थापा, वडा नम्बर ६ स्याऊलिबासकी २९ वर्षीया पार्वती सुवेदी र वडा नम्बर ७ कीर्तनपुर बस्ने वर्ष ६६ की पूर्णकला अधिकारी हुन् ।
घाइतेहरुको हात, खुट्टा, टाउको तथा गालामा सामान्य चोट लागेको छ । उनीहरुको बघौडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । बसका चालक भने प्रहरी नियन्त्रणमा छन् ।
टिप्पणीहरू