महारानीको मन जब मान्दैमान्दैन…
ब्रिटेनका सम्राट् चाल्र्स (द्वितीय) घुँडा टेकेर माफी मागिरहेका थिए । उनी बारम्बार एउटै कुरा दोहो¥याउँदै थिए, ‘म लज्जित छु । मबाट गल्ती भयो । मलाई माफ गर । सिर्फ एकचोटीका निम्ति मलाई क्षमा देऊ ।’ सम्राट्लाई पनि माफी मगाउन सक्ने शक्तिशाली महिला थिइन्– बारबरा पामर । उनी चाल्र्सकी महारानी नभएर रखैल मात्र थिइन्, महारानी त कैथरिन थिइन् । षड्यन्त्र गर्नमा होस् वा सुन्दरतामा बारबरालाई कसैले सक्दैनथे ।
उनको जन्म सन् १६४० मा भएको थियो । जन्मिँदा उनको नाम थियो– बारबरा भिलियर्स । उनी एक्ली छोरी थिइन् । जन्मेको तीन वर्षपछि ब्रिस्टल नगरमाथि विद्रोहीले आक्रमण गर्दा त्यहाँ ठूलो लडाइँ भयो । सोही क्रममा उनका बाबु विलियम मारिए । विलियमको मृत्युपछि आमा मेरी बानागले विलियमकै काकाको छोरा चाल्र्स भिलियर्ससँग बिहे गरिन् । चाल्र्स गरिब थिए, त्यसकारण उनले बारबराको पालनपोषणमा ध्यान दिन सकेनन् ।
त्यसकारण उनको किशोरावस्था गरिबीमै बित्यो । यसबीच, उनीहरूको बसाइ ब्रिस्टलबाट लण्डन स¥यो । उनी १६ वर्षको भइसकेकी थिइन् । लण्डन पुग्नेबित्तिकै उनले आफूभन्दा २० वर्ष जेठा एक जमिन्दार फिलिप स्टानहोपसँग प्रेम गर्न थालिन् । फिलिप चेस्टरफिल्ड निवासी थिए । वास्तवमा उनी धनी केटीसँग बिहे गर्न चाहन्थे । त्यसकारण उनले प्रेमको नाटक मात्र गरे र बारबराको कौमार्य लुटे ।
पछि बारबराले उनीबाट प्रेम होइन, यातना पाउन थालिन् । दुई वर्षपछि उनले रोजर पामरसँग प्रेम गर्न थालिन् र परिवारको असहमतिका बाबजुद सन् १६५९ मा उनैसँग बिहे गरिन् । तर, बिहे गरेको तीन दिनपछि नै बारबराको चालचलन ठीक नभएको रोजरले महसुस गरे । बिहेलगत्तै पनि अन्य थुप्रै केटासित उनले अनैतिक सम्बन्ध राखिराखेको प्रमाण फेला पारे । जसकारण बारबरा रातारात ब्रिटेनमा चर्चित भइन् ।
त्यसबेला ब्रिटेनमा कुनै सम्राट् थिएनन् । गृहयुद्धकै दौरान सम्राट् चाल्र्स (प्रथम) को टाउको छिनालिसकिएको थियो र राजतन्त्र पनि समाप्त भइसकेको थियो । इंग्ल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्डको संयुक्त गणतन्त्र बनिसकेको थियो र त्यसको नेतृत्व ओलिभर क्रमबेलले गर्न थालिसकेका थिए । मारिएका सम्राट्का छोरा चाल्र्स (द्वितीय) निर्वासनमा थिए । यता, बारबरा र रोजरको दाम्पत्यजीवनमा खटपट शुरु भइसकेको थियो ।
यसै क्रममा निर्वासनमा रहेकै समय चाल्र्ससँग बारबराको सन् १६६० मा भेटघाट भयो । पहिलो भेटमै बारबराले चाल्र्ससित भनिन्, ‘तपाईंलाई थाहै होला, चाल्र्स मेरो जीवनको महत्वपूर्ण नाम हो । यो नाम भएकै एकजना व्यक्ति मेरा सौतेनी बाबु पनि छन् । उनले मेरी आमालाई अत्यन्त माया र प्रशस्त सम्पत्ति दिएका थिए ।’
उनको यो कुराले चाल्र्सलाई पारेको असरबारे रोजरले पुगनपुग एक वर्षपछि बल्ल थाहा पाए, जब १९६१ मा बारबराले एउटी छोरी (एन्ने पामर) लाई जन्म दिइन्, किनभने एन्नेको बाबु हँु भन्ने दाबी रोजरसहित चाल्र्सले पनि गरे । यो दाबी गर्दा चाल्र्स ब्रिटेन (इंग्ल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्ड) को नयाँ सम्राट् घोषित भइसकेका थिए । सन् १६६० मा क्रमबेलको निधनसँगै त्यहाँ राजतन्त्र पुनःस्थापना भयो ।
राजतन्त्र पुनःस्थापना गर्ने निर्णयपश्चात् चाल्र्स निर्वासनबाट फर्किए । उनलाई लण्डनमा हजारौं जनताले स्वागत गरे भने बारबराले चाहिँ आफ्नै घरमा स्वागत गरिन् । पछि बारबराले जन्माएकी एन्नेको अनुहार सम्राट् चाल्र्ससँग मिलेको प्रसंग उठ्न थालेपछि रोजर साह«ै मर्माहत बने । उनी विस्तारै बारबराबाट टाढिन थाले । यसको बाबजुद दरबारले ‘अर्ल अफ कैसलमैन’को उपाधि दिएपछि त बारबराले चाल्र्सको रखैलको मान्यता नै पाइन् ।
सन् १६६२ को जुनमा बारबरा फेरि आमा बनिन् । उनले आफ्नो छोराको नाम चाल्र्स पामर राखिन् र पछि उनलाई क्लिमल्याण्डको ड्युक बनाइदिइन् । रोजर छोरो चाल्र्सलाई चर्चमा लगेर रोमन क्याथोलिक बनाउन चाहन्थे तर बारबराले यसो गर्न दिइनन् । यो घटनापछि रोजरले बारबरालाई त्यागिदिए । यद्यपि, दुई जनाको कानुनी रूपमा सम्बन्धविच्छेद कहिल्यै भएन । रोजरले छाडेपछि बारबराले झनै उन्मुक्ति पाइन्, अब उनी हरेक सभा, सवारी र कार्यक्रममा चाल्र्ससँगै देखिन थालिन् । उनले हरेक भारदारी सभामा उच्च ओहोदाका पदाधिकारीको बेइज्जती गर्न थालिन् तर यसको बाबजुद राजभक्तिका कारण सबै दरबारिया उनीप्रति नतमस्तक हुँदै गए ।
यसबीच सम्राट् चाल्र्सको बिहेको कुरा चल्यो । उनको बिहे पोर्चुगलका ड्युक अफ ब्रागान्जा जोन (चतुर्थ) की छोरी क्याथरिन हेनरिइटासँग हुने भयो । क्याथरिनकी आमा मिडोना सिडोनियाका पिता पोर्चुगल स्पेनबाट स्वतन्त्र भएपछि सन् १६४० को डिसेम्बर १ मा गद्दीसिन भएका थिए । उनले आफ्नी नातिनी क्याथरिनलाई अष्ट्रियाका राजा जोन, फ्रान्सका सम्राट् लुई (चौधौं) वा ब्रिटेनका सम्राट् चाल्र्स (द्वितीय) मध्ये एकको महारानी बनाउन चाहेका थिए । त्यस्तै, मिडोनाले आफ्नी छोरी दिएर ब्रिटेनसित पोर्चुगलको सम्बन्ध सुधार गर्ने सुर कसिन् ।
सन् १९६१ को जुनमा दुई देशबीच वैवाहिक सन्धि भयो र अर्को वर्ष बिहे टुंगियो । पोर्चुगलले दाइजोस्वरूप तान्गियर र बम्बइ बेलायतलाई सुम्पिदियो । क्याथरिनसँग चाल्र्सको बिहे हुँदा बारबरा पुनः गर्भवती थिइन्– आठ महिनाको । चाल्सको बिहेको कुरा सुनेर शुरुमा त उनले होशै गुमाइन् र पागलसरह चिच्याइन् तर पनि उनी चूप लागिन् र मौकाको पर्खाइमा बसिन् ।
महारानी क्याथरिन राम्री थिइनन् । उनी मोटी र पुड्की थिइन् । दाइजोको रूपमा क्याथरिनसँगै पठाइएका केटी पनि उनीजस्तै नराम्रा थिए । उनीहरूको लवाई–खुवाई पनि दरबारलाई सुहाउने खालको थिएन । यस्तो स्थितिमा चलाख बारबराले फाइदा उठाइने सोचिन् र महारानी क्याथरिनको रेखदेखका लागि एउटी राम्री युवतीलाई राख्नुपर्ने सुझाव दिइन् । सुझावलाई चाल्र्सले मन पराए ।
यसैबीच, बारबराले अर्को एउटा छोरो (हेनरी) पाइन् । लगत्तै चाल्र्सले बारबराको सल्लाहमुताबिक क्याथरिनको प्रमुख महिला साथीको रूपमा बारबरालाई नै नियुक्त गरिदिए । सम्राट्को यो घोषणा सुनेर क्याथरिन बेहोस भइन् । एक हप्तापछि बारबराले जब क्याथरिनसामु पुगेर आफ्नो परिचय दिइन्, महारानी फेरि बेहोस भइन् । नाकबाट रगत बग्न थाल्यो । त्यो दिनभरि उनको होश खुलेन ।
यो घटनापछि चाल्र्सलाई आफ्नो निर्णय कार्यान्वयन नहुने डर भयो । उनले तत्कालै अर्को घोषणा गरे । घोषणामा बारबरालाई क्याथरिनले नस्वीकारे थुप्रै रखैलको सामना गर्नुपर्ने चेतावनी मिसिएको थियो । दरबारको नियमअनुसार बारबरालाई दरबारभित्र कुनै शयनकक्ष नदिइनुपर्ने थियो तर चाल्र्सकै विशेष अनुरोधमा उनले सम्राट्को सुत्ने कोठासँगैको कोठा पाइन् । त्यसमाथि चाल्र्स र बारबराले पाएको कोठाभित्र अर्को एउटा ढोका पनि थियो । त्यसपछि त के चाहियो र, बारबराले बेला–कुबेला चाल्र्ससँगै रात बिताउन थालिन् ।
राजाको कान भर्न थालिन् । यसै क्रममा दरबारभित्र कसलाई कुन पद र उपाधि दिने भन्ने कुराको निर्णयसमेत गर्न थालिन् । चाल्र्सले पनि दंग पर्दै ३० हजार पाउण्ड बराबरको हिरा–जवाहरात बारबरालाई उपहार चढाए । चाल्र्सले उनलाई वार्षिक ४ हजार ७ सय पाउण्ड पेन्सन पाउने व्यवस्था गरिदिए । तर, उनले दरबारबाट पाउने सबै सुविधा जुवा खेल्दै सिध्याउन थालिन् । त्यति मात्र होइन, उनी १६७० मा ‘डचेस अफ क्लिभल्याण्ड’समेत घोषित भइन् ।
त्यसबेला दरबारमा उनको र महारानीको दुई गुट थियो । महारानीको कमजोर गुटको नेतृत्व लर्ड क्लारेन्डोनले गर्दै थिए । शाही नीति निर्माण तथा त्यसलाई लागू गर्ने अधिकार पाएका क्लोरेन्डोनमाथि उनले इंग्ल्याण्डलाई टाट पार्दै लगेको आरोप लगाइन् । बारबराको यो उक्साहटमा सम्राट् चाल्र्स फसे । उनले क्लोरेन्डोनलाई बिदा दिए । यसपछि बारबराले सोचिन्– अब चाल्र्सबाट जे पनि गराउन सकिन्छ । उनले क्लारेन्डोनलाई नियुक्त गरेकोमा राजालाई सबै दरबारियासमक्ष माफी माग्न लगाइन् ।
यसबीच बारबराले विलियम विचर्ली, राल्फ मोन्तागु, हेनरी जेर्मिन, चाल्र्स बकर्ली, जेम्स हामिल्टन, ज्याकोब हलजस्ता अनेक युवकसँग शारीरिक सम्बन्ध राख्न थालिन् । यसैकारण उनले जन्माएका पछिल्ला तीन सन्तान (सार्लोट, जर्ज र बारबरा) लाई आफ्नो सन्तान मान्न चाल्र्सले अस्वीकार गरे । यो कुरालाई लिएर दुई जनाबीच खटपट चलेपछि बारबराले चाल्र्सको कठालो समातिन् ।
यो काम उनको निम्ति प्रत्युत्पादक साबित भयो । चाल्र्सले उनलाई मन पराउन छाडे । उनी शुरुमा फ्रान्सेस स्टुआर्ट, पछि मोली डाबिस र नेल ग्वनीलाई प्रेम थर्न थाले । चाल्र्ससँगको सम्बन्ध बिग्रिएपछि बराबराको ६ वटै सन्तानको बाबुको विषयमा विवाद देखाप¥यो । उनी आफैं पनि कुन सन्तान, को तर्फका हुन् किटान गर्न असमर्थ थिइन् । चाल्र्सले छाडेपछि उनी पेरिस गइन् । त्यहीं उनले सन् १७०५ मा मेजर जनरल रोबर्ट फिल्डिङसँग ६५ वर्षको उमेरमा बिहे गरिन् । उनीमाथि लोग्ने हुँदाहुँदै फेरि बिहे गरेको आरोप लाग्यो । यसको चार वर्षपछि १७०९ मा उनको निधन भयो ।
त्यसो त बारबरा मात्र होइन, सम्राट् चाल्र्स पनि ऐय्यासी थिए । उनको विधिवत बिहे क्याथरिनसँग मात्र भएको थियो । क्याथरिन पनि सन् १६६६ र १६६८ बीच तीनपटक सुत्केरी भएकी थिइन् तर तीनै जनाको शिशुअवस्थामै मृत्यु भयो । यसबाहेक उनी कुल १३ सन्तानको बाबु भए । उनका छोराछोरीका आमाहरू लुसी वाल्टर, एलिजाबेथ किलिङ्गरे, क्याथरिन पेग्गे, बारबरा पामर, मोल डेबिस, नेल ग्वेनी र लुइस डे केराउल्ले थिए । यिनीहरूमध्ये मोल डेबिसबाट जन्मेकी छोरी मेरी ट्युडोरले पछि त्यहा“ शासनसमेत गरिन् ।
यसबाहेक विन्फ्रेड वेल्स (महारानीकी सेविका), श्रीमती जेन रोबर्ट्स (पादरीकी छोरी), श्रीमती नाइट्स (चर्चित गायिका), मेरी किलिङ्गरे (काउन्टेसकी विधवा पत्नी) र एलिजाबेथ (काउन्टेस अफ किल्डारे) लगायत दर्जनौं महिलासित उनले अनैतिक सम्बन्ध गाँसे । बारबरापछि उनले नेल ग्वेनी र मोल डेबिससँग लामो समय बिताए । चाल्र्सले बारबरालगायत नेललाई पनि वार्षिक ४ हजार पाउण्ड पेन्सन दिने निर्णय गरेका थिए । नेल र मोल दुवै त्यहाँका लोकप्रिय नायिका हुन् । नेलको जीवनीमा थुप्रै चलचित्र बनेका छन् । राजाको रखैल भए पनि अंग्रेज जनताले सबैभन्दा बढी नेललाई इज्जत दिएका छन् ।
टिप्पणीहरू