साथीलाई बचाउन खोज्दा विष्णु पनि डुबे
कैलालीको धनगढी–३ स्थित मोहना नदीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधीन पुल नजिकै पौडी खेल्न गएका बेला एक जना बालक नदीमा डुबेपछि उनलाई बचाउन खोज्दा अर्का बालकको पनि मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी–३, विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता हुन् । उनीहरु दुवै जना नदीमा नुहाउन गएका थिए । शुरुमा अनुप चौधरी डुबेका थिए । गहिरो खोंचमा अनुप डुबेपछि सँगै रहेका विष्णु अनुपलाई बचाउन त्यही खोंचमा हामफाल्दा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतकमध्ये अनुप धनगढी उपमहानगरपालिका–३, विशालनगर बस्ने अशोक चौधरीका छोरा हुन् भने १२ वर्षीय राजेश गुप्ता विशालनगरकै विष्णु गुप्ताका छोरा हुन् । उनीहरूको शव दिउँसो साढे १ बजे सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको थियो ।
दुवै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षाक वेदप्रकाश जोशीले जानकारी दिए ।
टिप्पणीहरू