‘राष्ट्र बैंकको स्वायत्तता युवराज खतिवडा अर्थमन्त्री भएपछि खरानी’
मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको स्वायत्तता पूर्वगभर्नर र योजना आयोगको उपाध्यक्ष भइसकेका डा. युवराज खतिवडा अर्थ मन्त्री भएपछि धुजाधुजा भएको रहस्य खुलेको छ । उक्त तथ्य आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एमाले निकट कर्मचारी संघको कार्यक्रममा पूर्व डेपुटी गभर्नर तथा अहिले बैंक सञ्चालक बनेका चिन्तामणि शिवाकोटीले सयौं कर्मचारीका माझ खोलिदिएका हुन् ।
संघको राष्ट्रिय परिषद्को उद्घाटन समारोहमा बोलाइएका शिवाकोटीले भने, ‘सबैभन्दा धेरै यो बैंकको स्वायत्तता खतिवडाले निचोरेका हुन् । उनी गभर्नर भए,योजना आयोगको उपाध्यक्ष बने । पछि के के थरि धेरै बने । तर,केन्द्रीय बैंकको स्वायत्ततालाई तिलाञ्जली दिन लगाउने महोदय उहाँ नै हो ।’
अहिले खतिवडाको अनुयायी भनेर चिनिएका एमाले युनियनका कर्मचारीहरुले स्वायत्तताको कुरो उठाएपछि शिवाकोटीलाई सह्य नभएर उक्त कुरो खोलेका हुन् । शिवाकोटी र शिवराज श्रेष्ठ २०७७ फागुनसम्म डेपुटी थिए । काँग्रेस निकट चिरञ्जीवी नेपाल युवराज खतिवडापछि राष्ट्र बैंकको गभर्नर बने । खतिवडा एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाईमा बहुमत सरकारको अर्थमन्त्री नियुक्त भए ।
“केन्द्रीय बैंकको स्वायत्ततालाई धज्जी उडाउँदै उनले अर्थ सचिवमार्फत बैंकका एक जना उपनिर्देशकको पासपोर्टलगायतका कागजात अर्थ मन्त्रालयमा मगाएका थिए ।”
खतिवडाले गोपनीयता कायम राख्न र गोप्य काम तमाम गर्न बैंकमा रहेका कनिष्ठ उपनिर्देशक तथा छोरी ज्वाईं रामशरण खरेललाई सल्लाहकार बनाएर लगे । अहिले त्यहि पथमा अर्थमन्त्री जनार्दन शर्मा पनि देखिएका छन् । उनले सबैभन्दा कनिष्ठ र विवादित उपनिर्देशकलाई बैंक तथा वित्तीय क्षेत्रको सल्लाहकार बनाएका छन् ।
खतिवडाले आफूलाई मन नपरेका कर्मचारीलाई सेवाबाट हटाउन समेत शिवाकोटी र गभर्नर नेपाललाई दबाब दिएका थिए । केन्द्रीय बैंकको स्वायत्ततालाई धज्जी उडाउँदै उनले अर्थ सचिवमार्फत बैंकका एक जना उपनिर्देशकको पासपोर्टलगायतका कागजात अर्थ मन्त्रालयमा मगाएका थिए । तर,शिवाकोटीले उक्त कार्यको कडा ढंगले प्रतिवाद गरेको बताइन्छ ।
खतिवडालाई उक्त काम गर्न उक्साउने उनकै छोरी ज्वाईं खरेल थिए । खरेलले आफ्नै कार्यकक्षमा बसेर बैंकका एक जना उपनिर्देशकले आफ्नो व्यक्तिगत बिदा उपयोग गरेको विषयलाई तुहाउन अर्थमन्त्रीलाई सम्बोधन गरेर उजुरी हालेका थिए । ज्वार्ईले लेखेको उजुरीमा मन्त्री ससुराले ‘आवश्यक कार्यार्थ’ भनेर सचिवलाई तोक लगाइदिए ।
ससुुरा ज्वाईंको उक्त बदमासीमा राष्ट्र बैंकका तत्कालीन कानुन महाशाखा प्रमुख तथा हाल मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाल,जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक पीताम्बर भण्डारी र तत्कालीन निर्देशक तथा हालका कार्यकारी निर्देशक तुलसी घिमिरेले सहयोग गरेका थिए । तर शिवाकोटी टसको मस नभएपछि खतिवडा ‘ब्याक’ भएका हुन् ।
खतिवडा मन्त्री हुँदा गरिएको पछिल्लो बजेट भाषणमा चकलेट आयातमा लाग्दै आएको भन्सार घटाइएको र विद्युतीय सवारी साधनमा भन्सार बढाएर व्यवसायीसँग अनुचित फाइदा लिएको आरोप लागेको थियो । उनले संसदको रोष्ट्रममा उभिएर रुन्चे भाषामा त्यसको प्रतिवादसमेत गरेका थिए । व्यापारीसँगको साँठगाँठमा ज्वाईं खरेलको शंकास्पद भूमिका रहेको सन्दर्भसमेत जोडिएको थियो ।
टिप्पणीहरू