आज अमेरिकी राजदूतको निधारमा रातो टिका र गलामा सयपत्रीको माला
आज जेठ १९ गते,२१ वर्ष अघिसम्म आजको दिनको खासै महत्व र चर्चा थिएन । २०५८ अघि जेठ १९ गतेलाई गर्मी,वर्षा र हावा हुरीसँग जोडेर कहिलेकाँही चर्चा हुने गर्थ्यो ।
त्यो वर्ष नारायणहिटी दरबारभित्र भएको गोलीकाण्ड र राजा वीरेन्द्रको वंश विनाशपछि उक्त दिनलाई आधुनिक नेपालको इतिहासमा सर्वाधिक कालो दिनको रुपमा लिन थालियो ।
इतिहासमा आजैका दिन काजी कालु पाँडेको निधन भयो भनिन्छ । उनी कीर्तिपुरसँगको लडाईंमा मारिएका थिए । तर यो वर्ष आजैका दिन अमेरिकी राजदूत रेण्डी बेरीले निधारमा रातो टिका र गलामा माला लगाउनुभएको छ । उहाँ आज दिउँसो पाटन पुग्नुभएको हो ।
२०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त भएकाले हालै पुनर्निर्मित पाटन दरबार क्षेत्रस्थित १८ औँ शताब्दीको अष्टकोणिक कृष्ण मन्दिरको उद्घाटनमा पुगेपछि राजदूतलगायतलाई टिका र माला लगाइएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पनि हुनुहुन्थ्यो ।
स्थानीय शिल्पी र कालिगढहरुद्वारा गरिएको उक्त ऐतिहासिक मन्दिरको जीर्णोद्वारमा अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषले आर्थिक सहयोग गरेको छ । त्यसैको सम्मानस्वरुप राजदूतलाई माला र टिकाले अभिनन्दन गरिएको हो ।
टिप्पणीहरू