सहकार्यको प्रस्ताव लिएर बालुवाटार पुगेका महन्थले धाँधलीको आरोप लगाए

सहकार्यको प्रस्ताव लिएर बालुवाटार पुगेका महन्थले धाँधलीको आरोप लगाए

आगामी मंसिरमा हुने संघीय तथा प्रादेशिक संसदको निर्वाचनमा नेपाली काँग्रेससँग तालमेलका लागि इच्छा देखाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय चुनावमा सरकारले धाँधली गरेको आरोप लगाएको छ ।

आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा व्यापक रुपमा राज्यशक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य केशव झाले जानकारी दिए । मधेश प्रदेशसहित देशका विभिन्न बुथमा गठबन्धनले राज्यशक्तिको दुरुपयोग गर्दै मत आफ्नो पक्षमा पारेको बैठकले निश्कर्ष निकालेको हो ।

पाँच दलीय गठबन्धनविरुद्ध केही स्थानीय तहमा एमालेसँग तालमेल गरेको लोसपाले स्थानीय चुनावमा अपेक्षाकृत नतिजा ल्याउन सकेन । सत्ता गठबन्धन कायम रहँदा संघीय चुनाव थप प्रतिकूल हुने बुझेका लोसपाका नेताहरु लोकतान्त्रिक गठबन्धनका नाममा काँग्रेससँग मिल्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हिजोमात्रै अध्यक्ष महन्थ ठाकुरले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

तर, ठाकुरले भने आफूहरुको माग र मुद्दा सम्बोधन गराउन प्रधानमन्त्रीसँग भेटेको बैठकलाई जानकारी गराएका थिए । ‘विचार र मुद्दा मिल्नेहरुसँग तालमेल गरेर अघि बढ्न पार्टी खुल्ला छ’, कार्यकारिणी सदस्य झाले भने ।

आउँदो चुनावमा काँग्रेससँग तालमेल गर्नेबारे छलफल थालेको लोसपाले काँग्रेस नेतृत्वकै सरकारले गरेको चुनावमा राज्यशक्तिको दुरुपयोग भएको निश्कर्ष निकालेको हो ।

टिप्पणीहरू