काठमाडौँका मेयर भन्छन्, स्रोत नछुट्याएको फोहोर फिर्ता जान्छ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरवासीलाई आग्रह गरेका छन् । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरेरमात्रै पठाउन आग्रह गर्दै उनले यसमा महानगरवासीको भूमिका सहयोगी हुनुपर्ने बताएका हुन्।
फोहोर उठ्नुमात्रै समाधान नहुने बताउँदै उनले दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उपत्यकाको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर व्यवस्थापन हुन नसक्ने मेयर साहको भनाइ छ । त्यसको लागि सबैको साथ र सहयोग आवश्यक रहने उनले बताए ।
‘फोहोर उठ्नुमात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ‘, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन ।‘
महानगरले पहिलेका आफ्ना कमजोरी र गल्तिहरु नदोहोर्याउने पनि उनले स्पष्ट पारेका छन् । साथै, फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि आफूले हदैसम्म कोशिस गर्ने पनि उनले बताए ।
‘महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन, मेयर साहले भने, ‘फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ ।‘
महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भन्दै उनले अगाडि भने, ‘तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन । हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग-अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनु हुनेछ ।‘
टिप्पणीहरू