इम्बोस्डमा लेखिएको भाषामा राजेन्द्र लिङ्देनको चिन्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नेपाली भाषाको माग गर्नुपर्ने परिस्थिति आउनु दुःखद् भएको टिप्पणी गरेका छन् । हाल चर्चामा रहेको सवारी साधनको इम्बोस्ड नम्बर प्लेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर एकाउन्टमा अध्यक्ष लिङ्देनले इम्बोस्ड नम्बर प्लेटसँग सम्बन्धित अनेक आशंकाहरु लेखेका छन् । इम्बोस्ड नम्बर प्लेटमा कमिसन र भ्रष्टाचार रहेको कुरातर्फ सबैलाई सचेत गरेका उनले भाषाको विषयमा पनि चिन्ता जनाएका हुन् ।
‘इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने समयसीमाको कुरा मात्रै होइन, कुरा भाषाको हो, सुरक्षाको हो, लागतको हो,’ उनले भनेका छन्, ‘कुरा कमिसन र भ्रष्टाचारको हो । र, सबैभन्दा दुःखद् कुरा त नेपालमै नेपाली भाषाको माग गर्नुपर्ने परिस्थिति आउनु हो ।’ यसप्रकारका सबै गलत कामका विरुद्धमा आफूहरु निरन्तर रहने पनि लिङ्देनको प्रतिबद्धता छ ।
सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि यसको चौतर्फी विरोध भएको थियो । सरकारको चेतावनीपछि इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात कार्यालयमा सवारी धनीहरुको भीड सुरु भएको थियो ।
तर, तीब्र विरोध भएपछि यातायात व्यवस्था विभागले सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ ।
टिप्पणीहरू