मञ्जलीले चिरिबाबुको भण्डाफोर गर्ने, कृष्णगोपालले प्रचण्ड–माधवको

मञ्जलीले चिरिबाबुको भण्डाफोर गर्ने, कृष्णगोपालले प्रचण्ड–माधवको

एक वर्षअघि शिक्षामन्त्रीको जिम्मेवारीमा रहँदा त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा विद्यार्थी भेला गर्दै ‘केपी ओली इज केपी ओली’ भन्दै उग्र भाषण गरेर चर्चा र विवादमा आएका पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले आज ललितपुरमा त्यस्तै उग्र बोलेका छन् ।

स्थानीय तह चुनावमा एमालेका तर्फबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धी पार्टीका नेता र ललितपुर महानगरका मेयरको उछित्तो काढेका हुन् ।

एमालेको भ्रातृ संगठन प्रेस चौतारीले आयोजना गरेको कार्यक्रमामा प्रमुख अतिथिका रुपमा भाषण गर्न निम्त्याइएका नेता श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसको पुच्छर बनेको आरोप लगाए । दुवै पार्टीमा इमान्दार कार्यकर्ता रहेको भन्दै उनले प्रचण्ड र नेपालको भने भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

पूँजीवादी र साम्यवादीको मिलन असम्भव रहेकोले माओवादी र समाजवादी केवल काङ्ग्रेसको बैशाखी बनेर राजनीति गरिरहेको आरोप लगाएका उनले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको पनि खेदो खनेका थिए ।

महानगरमा मेयरको दादागिरी रोक्न उनले उपमेयर मञ्जली शाक्यलाई निर्देशन नै दिए । स्थानीय बजेटमा एमाले झल्किनुपर्ने भन्दै उनले बोर्ड बैठकले गरेको निर्णय मेयरले एक्लै हटाउन नसक्ने चेतावनी पनि दिएका छन् ।

‘नेकपा एमालेको नीति तथा कार्यक्रम मेयरले मानेन भने मेयरको पनि मानिँदैन’, उनले भने, ‘चिरिबाबुको सशक्त प्रतिरोध हुनेछ । ललितपुर मनपाको बजेटमा एमालेको मुहार आउन जरुरी छ ।’ सो क्रममा उनले लोकप्रिय मतमा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको दाबी गर्दै छ वटा महानगरमा किन जित्न सकिएन भनेर गम्भीर समीक्षा गरिने बताए ।

अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टीको पराजयमा अन्तर्घात मुख्य कारण रहेको बताएपछि केन्द्रदेखि वडासम्म आपसी अविश्वास र विवादले लफडा चर्किएका बेला श्रेष्ठले पनि उपमेयरले जित्ने तर मेयर हार्ने कुरा सामान्य नभएको बताएका हुन् । जनताले भोट नदिएर पार्टी हारेको नभई अन्तर्घातले हारेको उनले ठोकुवा नै गरे ।

भाषणका क्रममा श्रेष्ठले गत वैशाख ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना अध्यक्षको निवास बालकोट गएर निर्वाचन सार्न अनुरोध गरेको समेत दाबी गरेका थिए । कार्यक्रममा ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्यले कृष्णगोपालकै बोलीमा सही थापेर मेयर चिरिबाबुको दबदबाको आफूले भण्डाफोर गर्ने बताएकी थिइन् ।

शाक्य नेकपा हुँदै एमालेमा पुगेकी पूर्वमाओवादी नेता हुन् । अदालतले नेकपाको एकता भंग गरेर माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपछि उनले पुरानो पार्टी छोडेर एमाले रोजेकी थिइन् ।

अध्यक्ष ओलीपत्नी राधिका शाक्यसँगको विशेष सम्बन्धका कारण उनले एमाले रोजेको त्यतिबेलै चर्चा थियो । ललितपुर महानगरमा उनले उपमेयरको टिकट पाउनुमासमेत त्यहि सम्बन्धले भूमिका खेलेको स्थानीय नेता–कार्यकर्ता बताउँछन् ।

टिप्पणीहरू