अछाममा सहमतिपछि शव उठ्यो
अछाम पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान कुच्चीका १६ वर्षीय विनोद शाही मृत भेटिएको पाँच दिनपछि शव उठेको छ । प्रहरीले किटानी जाहेरी दर्ता गर्ने सहमति गरेसँगै मृतकका परिवार शव उठाउन तयार भएको हो ।
मृतकका दाई डम्बर शाही र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसअघि पीडित परिवारले काँग्रेसबाट नवनिर्वाचित नगरप्रमुख अम्बिका चलाउने र पूर्ववडाध्यक्ष सज्जन शाही लगायतविरुद्ध किटानी जाहेरी दिएका थिए ।
तर, प्रहरीले अनुसन्धानपछि मात्र उनीहरुविरुद्ध मुद्दा दर्ता गर्ने बताएपनि परिवारले शव बुझ्न मानेको थिएन । मृतक शाहीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले हिजो पाँच जनालाई पक्राउ गरेको थियो ।
घटनाको अनुसन्धानका लागि सीआईबीसहित संघीय प्रहरी इकाइ महेन्द्रनगरबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ । आजै सभामुख अग्निप्रसाद सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन समेत दिनुभएको थियो ।
टिप्पणीहरू