अष्टलक्ष्मीले ओलीलाई भेटेर राख्नुभयो पार्टी जोगाउन यस्तो आग्रह

अष्टलक्ष्मीले ओलीलाई भेटेर राख्नुभयो पार्टी जोगाउन यस्तो आग्रह

सन्दर्भ हो, कम्युनिष्टहरूको कलह । मान्ने, नमान्ने मूलीको कुरा भयो, तर भन्नेहरूले भनिरहेका छन्, ‘मिलौँ–मिलौँ !’ यसैमध्येकी हुनुहुन्छ, अष्टलक्ष्मी शाक्य ।

अस्ति सोमबार बेलुका बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सवा दुई घण्टासम्म भेटेकी उपाध्यक्ष अष्टलक्ष्मीले केपीलाई भन्नुभयो, ‘बागमती प्रदेशमा कांग्रेसले एकीकृत समाजवादी नेतृत्वको सरकार ढाल्न खोजेको छ । यदि इन्द्र बानियाहरूले अविश्वासकै प्रस्ताव ल्याइदिए भने राजेन्द्र पाण्डेलाई भोट हाल्ने वातावरण बनाऔँ भनेको । यसो भयो भने फाटेको मन जोड्न बाटो खुल्छ ।’

अष्टको कुरा सुनेपछि केपीले खासै केही भन्नुभएन, ‘ए, हो र ?’ भन्दै कुरा टार्नुभयो । अनि, अष्टले फेरि जोड दिनुभयो, ‘घनश्यामजीलाई किन कारवाही गर्नुप¥यो ? आन्दोलनकै कुरा गरिरहनुभएको छ, संयमित हुने बेला पो हो यो ।’ यसमा भने केपीले सुनेको नसुन्यै गर्नुभयो ।

निराश मनस्थितिमा त्यहाँ पुगेकी उहाँले बाहिर निस्किएर केही नेताको बीचमा सुनाउनुभयो, ‘प्रचण्ड, माधव र ओलीले बुझ्नुपर्दैन, वाम गठबन्धन भएरै हामी बलियो भएको हो भन्ने कुरा !’ एकजनाले जवाफ दिए, ‘प्रचण्ड र माधवले बुझेर भएन, यता ‘बा’लाई बुझाउनु प¥यो नि !’ अष्टको जोड थियो, ‘यसरी कसरी आन्दोलन अगाडि बढ्छ ? यसरी जाँदा २० वर्षपछिको एमालेको कल्पना कसरी गर्ने ? के त्यतिबेलासम्म यो पार्टी रहन्छ ? पार्टी कसलाई बुझाउने हो ? चुनावमा त ओलीले सकाएकै देखियो । परिणामले त्यही भन्छ ।’

स्मरण रहोस्, अष्टलाई ढिम्किन नदिएर सवा तीन वर्षसम्म डोरमणि पौडेललाई च्याप्नुभएका ओलीले आफ्नो सरकार जानै लागेको बेला डेढ–दुई महिनाको निम्ति बागमतीको मुख्यमन्त्री बनाउनुभएको थियो । रोचक कुरा त के भने अष्ट एमाले उपाध्यक्ष भएजस्तै उहाँलाई विस्थापित गरी हाल मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डे एमालेबाट विभाजित भएर बनेको नेकपा एसको उपाध्यक्ष नै हुनुहुन्छ ।

यस हिसावबाट अष्ट पनि व्यक्तिगत पूर्वाग्रह नराखी कम्युनिष्ट एकताप्रति चिन्तित रहेको प्रष्ट हुन्छ । केन्द्रीय कमिटीको बैठक बोलाउने र सबै विषय सोही बैठकबाट छिनोफानो लगाउने सुझाव लिएर अष्टलक्ष्मी त्यसदिन बालकोट पुग्नुभएको थियो । यसबीच एमालेका केही नेताले चुनावी परिणामको समग्र समीक्षा र आगामी बाटोबारे छलफल निम्ति यथाशीघ्र केन्द्रीय कमिटी बैठक डाक्न अध्यक्ष ओलीलाई पत्र बुझाउने तयारी भैरहेको बुझिएको छ ।

टिप्पणीहरू