यो वर्ष पनि मेलम्चीमा क्षति हुन थाल्यो
मनसुन सुरुलगत्तै सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको सतह बढेको छ । अघिल्लो वर्ष असार १ गते राति आएको बाढीले बितण्डा मच्चाएको मेलम्चीमा अहिले पानीको बहाव बढेको हो ।
लगातार परिरहेको मुसलधारे वर्षाले मेलम्ची नदी वारपार गर्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गत वर्ष बाढीले पक्की पुल बगाएपछि उक्त स्थानमा २२ वटा ह्युमपाइप राखेर ३० लाख लागतमा अस्थायी पुल निर्माण गरिएको थियो ।
सो संरचना पनि मनसुन सुरु भएपछि ध्वस्त भएको हो । अस्थायी पुल पनि ध्वस्त भएपछि उक्त क्षेत्रका स्थानीयलाई वारपार गर्न निकै सकस भएको छ । सवारी साधनहरु सबै रोकिएका छन् । उक्त पुलबाट इन्द्रावती गाउँपालिकाको दुई वटा वडाका सर्वसाधारण ओहोरदोहोर गर्छन् ।
मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र चौतारा वारपार गर्ने पुल पनि त्यही हो । यता, मेलम्ची नगरपालिका ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले ग्राभेल हालेर पुल मर्मत गरिसकेको जानकारी दिए ।
केही समय आवतजावत रोकिएको पुलबाट हाल गाडी गुडिरहेको उनको भनाइ छ । उनका अनुसार प्रदेश सरकारलाई पुल बनाउन पटकपटक अनुरोध गर्दा पनि अहिलेसम्म सुनुवाई नभएकोमा उनको दुःख मनाउ हो । ‘गाभ्रेल हालेर मर्मत गरिए पनि कतिञ्जेल टिक्ने हो यसको अत्तोपत्तो छैन,’ उनले भने ।
मेलम्ची वरपर केही दिनयता निरन्तर वर्षा भइरहेको छ । पानी परेसँगै मेलम्चीबासी अघिल्लो वर्षझैँ त्रसित बनेका छन् ।
टिप्पणीहरू