बिराटनगरमा सिमेण्टको रुख चर्केपछि सालिक राजनीति शुरु
कोशी राजमार्गस्थित विराटनगर महानगरपालिकाको अति व्यस्त बरगाछी चोकको ‘सिमेन्टगाछी’ अर्थात् सिमेण्टको रुख भत्किएपछि ‘सालिक राजनीति’ ले चर्चा पाएको छ । सडक विस्तारका क्रममा सदियौं पुरानो बरगाछीको रुपमा प्रख्यात रुख काटेको स्थानमा लायन्स क्लबले बनाएको सिमेन्टगाछी पनि भत्किएको मौका पारेर काँग्रेस नेताको सालिक स्थापना गर्न खोजिएपछि विवादसँगै उक्त स्थान चर्चामा आएको हो ।
अहिले त्यहाँ विपी, मातृका र गिरिजाप्रसादका पिता कृष्णप्रसाद कोइरालाको अर्धकदको सालिक बनाएर छोपेर राखिएको छ । त्यो जानकारी पाएपछि अलि अगाडि केही स्थानीयले तोडफोडको प्रयाससमेत गरेका थिए । उक्त स्थानमा कुनै नेता विशेषको सालिक राख्नुभन्दा ट्राफिक बिट र बत्ती जडान गर्नुपर्ने उनीहरुको माग छ । कतिपयले भने सालिकनै राखे पनि ऐतिहासिक तथा साझा व्यक्तित्व वा बरगाछीकै राख्नु उपयुक्त हुने बताउने गरेका छन् ।
विराटनगरका केही सर्जकहरुले भने साहित्यकार देवकुमारी थापाको सालिक राख्न जोड गरिरहेका छन् । कुनैबेला बरगाछी नामको साहित्यिक पत्रिकाका सम्पादक रहेकी साहित्यकार थापाको सालिक राख्दा सबैका लागि स्वीकार्य हुने र ऐतिहासिकताको पनि संरक्षण हुने उनीहरुको तर्क छ । तर, काँग्रेसका स्थानीय नेताहरुले चाँही कृष्णप्रसादको शालिक आजभोलि नै अनावरण गराउने योजना बनाइसकेका छन् ।
विराटनगरका अगुवाहरुका अनुसार बरगाछी एउटा चोकमात्र नभई त्यहाँको पहिचान पनि हो । पहिले बिराटनगरलाई बरगाछीकै रुपमा चिनिन्थ्यो । त्यो बेला ठूलो सुन्दर छाँया बनाउने लहर फैलाएको ऐतिहासिक बरगाछी थियो । अनि केही वर्षपछि निर्मित कृत्रिम सिमेन्टको गाछीलाई लायन्सस्तम्भ नामाकरण गरियो । दैनिक सयौं मालवाहक ठूला सवारी साधन आवत–जावत गर्ने व्यस्त स्थानमा स्थापना गरिएको सिमेन्टगाछी सवारी दुर्घटनाबाट ध्वस्त हुनपुग्यो ।
उ बेला विराटनगरबाट प्रकाशित हुने प्रसिद्ध मासिक साहित्यक पत्रिका बरगाछी नामबाटै प्रकाशित हुन्थ्यो । विराटनगरका मात्र नभएर देशकै प्रसिद्ध साहित्यकारहरुका रचना त्यसमा समावेश हुने गर्दथ्यो । तर, बरगाछी मासिएसँगै त्यो पत्रिकाको प्रकाशन पनि बन्द हुन पुग्यो ।
हुन त त्यो बेला बरगाछी चोक कुख्यातहरुका लागि पनि उत्तिकै चर्चित थियो । विभिन्न गुण्डा समूहहरु बरगाछीमा सक्रिय थिए । उनीहरुले पूरै बिराटनगरमा हल्लाउँथे । तर, पनि बौद्धिकता र शालिनताको इतिहासले बरगाछी चोक सचेत नागरिकहरुको इतिहासका रुपमा परिचित गराउन सफल रह्यो । बरगाछी प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने क्षेत्र पनि हो । काँग्रेसले धेरै युवाहरुलाई पञ्चायत विरोधी संघर्षका लागि गोप्य प्रशिक्षण दिनुका साथै हतियार चलाउन पनि यहीँ सिकाएको हो भनिन्छ ।
यसैले बिराटनगरका सचेत वर्ग बरगाछी विराटनगरको इतिहास, साहित्य, कला, संस्कृति र सम्बृद्धिको पहिचान भएकाले विकासका नाममा मास्न नहुने बताउँछन् । यसलाई जोगाएर विराटनगर कला संस्कृतिमा मात्र नभई प्राकृतिक संरक्षणमा पनि सचेत रहेको सन्देश दिनुपर्नेमा उनीहरुको जोड रहँदै आएको छ ।
टिप्पणीहरू