कर्मचारीले बर्खास्तीको माग चर्काएपछि पर्यटन मन्त्रीकाे भनाइ: मैले केही गरेकै छैन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेको भन्दै निगम कर्मचारीले मन्त्रीको राजीनामा मागेका छन् ।
अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर मन्त्रीले अश्लील गालीगलौज गर्दै हातपात गरेको खबर बाहिरिएपछि नेपाल वायुसेवा निगम कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल वायुसेवा निगम र नेपाल वायुसेवा निगम कर्मचारी युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले मन्त्री आलेले अध्यक्ष अधिकारीमाथि गरेको गालीगलौज र दुर्व्यवहारको निन्दासमेत गरेका छन् । कर्मचारीहरुले मन्त्री आलेको बर्खास्तीको माग समेत गरेका छन् । ‘गौरवशाली पदमा आसीन व्यक्तिबाट भएका त्यस्ता खालका हर्कत र अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै सरकारसमक्ष बर्खास्तीको माग गर्दछ,’ युनियनको विज्ञप्तिमा भनिएको छ ।
‘मन्त्री आलेले नेपाल एयरलाइन्समा अनैतिक ढंगले कर्मचारी भर्ना र नियम विपरित क्रियाकलाप गर्न दबाब दिएको, ८० भन्दा बढी मासिक ज्यालादारीमा कर्मचारी नियुक्त गर्न लगाई नियुक्ति पत्र समेत मन्त्रालयबाटै बाँडिनु अर्को दुःखद खबर हो, निगम जस्तो स्वायत्त संस्थामा हस्तक्षेप गर्नु राजनैतिक विकृति हो,’ निगम कर्मचारी संघका अध्यक्ष देवेन्द्र पुनले उल्लेख गरेका छन् ।
‘मन्त्रीले ठाडो हस्तक्षेप गर्ने, कानुन र विधि विपरित कार्य गर्न लगाउने एवम् नमाने भौतिक आक्रमणमा उत्रिनु भत्र्सना योग्य कार्य हो । एक्त घटनाको यथाशीघ्र छानबिनको माग गर्दै आमकर्मचारीलाई मन्त्रीको उक्त कार्यविरुद्ध उभिन संघ हार्दिक अपिल गर्दछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच मन्त्री आलेले भने समाचारमा उल्लेख भएजस्तो अधिकारीलाई मन्त्रालयमा बोलाएर दुव्र्यवहार तथा हातपात नगरेको बताउनुभएको छ । मन्त्रीले सरकारी समाचार समिति रासससँगको कुराकानीमा आफूलाई जोडेर आएका सार्वजनिक समाचार सत्य नभएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ ।’
मन्त्री आलेले कार्यकारी अध्यक्षले उल्टै आफूमाथि अनैतिक दबाब दिएको आरोप लगाउँदै निगम अध्यक्षमाथि हातपात नै गरिएको भनेर अहिले आएको समाचार झुठो रहेको बताउनुभएको छ । आफ्नाविरुद्ध निरन्तर प्रचारमा लागेका केही व्यक्तिले मन्त्रीलाई बदनाम गराउन समाचार लेखाएको आरोप समेत उहाँले लगाउनुभएको छ ।
टिप्पणीहरू