कोटेश्वरबाट फर्किएपछि महिला पार्टीको चर्चा
नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टीको परिकल्पना गर्नुभएको छ । उहाँले क्याबिनेटबाट फिर्ता हुने विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा अस्ति राति भएको चर्काचर्कापछि उक्त धारणा राख्नुभएको मन्त्रीनिकटस्थहरुले बताएका छन् ।
पार्टी नेतृत्वले छ महिनाको कार्यकाल तोकेर पठाए पनि अहिले चार जना मन्त्रीले जिम्मेवारी छाड्न नचाहेपछि एकीकृत समाजवादीभित्र निकै अप्ठेरो अवस्था उत्पन्न भएको छ । अस्ति राति अध्यक्षको सामुन्ने कोटेश्वरमा केही मन्त्री र सांसदबीच भएको चर्काचर्कीपछि झाँक्रीले महिलाहरुलाई मात्र समेटेर नयाँ पार्टी गठन गर्ने सोच राखेको खबर बाहिरिएको हो ।
स्रोत भन्छ, ‘महिलाको मात्रै अलग्गै पार्टीको परिकल्पना गर्नुभएको बुझियो । अहिले स्वतन्त्र भनाउँदाहरुले समेत राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएपछि मन्त्री तथा नेतृ झाँक्री थप दबाबमा पर्नुभएको हुनसक्छ ।’
टिप्पणीहरू