उपमेयर बोल्दाबोल्दै मेयरले माइक खोसे
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा उपमेयरले बोल्ने क्रममा मेयरले पटक पटक माइक खोस्ने प्रयास गरेका छन् । उनको व्यवहारलाई सहभागी अधिकांश नगरसभा सदस्य र उपस्थित मिडियाकर्मीले ‘उद्दण्डता’ को संज्ञा दिए ।
अस्ति शुक्रबार नजिकैको बकुलिया माध्यमिक विद्यालय हलमा आयोजित कार्यक्रममा मेयरले आफ्ना कुराबाहेक अरुलाई मञ्च नदिन खोजेपछि माहौल तातेको बताइन्छ । एमालेका सबै सदस्यले नगरसभा बहिष्कार गरेपछि मेयरले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित गरेका हुन् ।
तर त्यसअघि उपमेयरले धारणा राख्न खोज्दा मेयरले माइक खोस्न खोजेका थिए । उक्त लफडा छैठौं नगरसभा प्रारम्भ हुनुअघि नै भएको हो । मेयरले सभा स्थगित भएको घोषणापछि वडा नम्बर ३ का वडाध्यक्षले उपमेयरको लाइनमा बोलेका थिए ।
नगरसभाको अघिल्लो दिन राति अबेरसम्म कार्यपालिकाको बैठकमा मेयर नगएपछि आफूहरु क्रुद्ध बनेको उपमेयर र एमाले निकट जनप्रतिनिधिहरुको भनाइ छ । उपमेयर र वडाध्यक्षहरुले आफ्ना धारणा राख्न खोज्दा मेयरले पटक पटक माइक खोस्न खोजेपछि वातावरण बिथोलिएको बताइन्छ । वडाध्यक्षले आफ्नो धारणा राख्दै गर्दा मेयरले आफ्नै पारामा समानान्तर तवरले हलमा कुरा राखेका थिए ।
सल्लाह गरेर नीति कार्यक्रम ल्याउन दिइएको सुझाव कुल्चेपछि वातावरण असहज बनेको उपमेयर भोलाप्रसाद अधिकारीको भनाइ छ । आफूले मेयरलाई वातावरण सहज बनाएर अघि बढ्न सभा स्थगित गर्न र कार्यपालिकाको बैठक बोलाएर सहमति गर्न सुझाव दिए पनि उनी आफ्नै पाराले अघि बढेको उपमेरको भनाइ छ ।
जनआस्थासँगको कुराकानीमा उपमेयरले भने,‘पदले मेयर भए हुनेमा तर उमेर र अनुभवले भाइजस्तो मान्छेलाई गतिलो सल्लाह दिँदा पनि पचेन । त्योभन्दा बढी हामीले पनि उहाँलाई सल्लाह दिन सक्दैनौं ।’
नगरसभाको बैठक बस्ने विधिबमोजिम मेयर र माओवादी केन्द्रका सदस्यहरु पटक पटक बैठक बोलाएर अन्तिम पटक २५ प्रतिशतको उपस्थितिमा नीति कार्यक्रम पारित गराउने योजनामा रहेको एमाले जनप्रतिनिधिहरुको बुझाइ छ । त्यसैको निम्ति आज दोस्रो पटक नगरसभा स्थगितको सूचना जारी गरिएको हुन सक्ने उपमेयर अधिकारीको ठम्याइ छ ।
नगरपालिकाका मेयर राजन पौडेल माओवादी केन्द्रका हुन् भने उपमेयर अधिकारी एमालेका हुन् ।
भिडियो श्रोत: शिलालेख
टिप्पणीहरू